क्रिकेटमा कीर्तिमानले भरिएको वर्ष

काठमाडौं । नेपालका लागि स्मरणीय बनेको वर्ष २०८० ले खेलाडी तथा समर्थकलाई लामो समयसम्म रोमाञ्चित बनाइराख्ने थुप्रै क्षणहरु आत्मसात गरेको छ ।

थुप्रै कीर्तिमान, सुखद संयोग र खुसीका शृंखलाबद्ध घटनाहरुलाई नेपाली क्रिकेटको सफलताको मालामा उन्दै वितेको वर्षले बिदाइ लिएको छ ।

कुशल र दीपेन्द्रको विश्व कीर्तिमानी साझेदारी

घरेलु मैदानमा युएई र हङकङविरुद्ध कात्तिकमा भएको त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी साझेदारी गरे ।  

कात्तिक ४ मा मूलपानी क्रिकेट मैदानमा हङकङविरुद्ध कुशल र दीपेन्द्रले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरेका थिए । खेलमा कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौका मद्दतमा ९२ र दीपेन्द्रले ६ चौका र २ छक्का मद्दतमा ५६ रन बनाए ।

यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं विकेटका लागि न्युजिल्यान्डका मार्क च्याम्पम्यान र जेम्स निसमले सर्वाधिक १२१ रनको साझेदारी गरेका थिए । उनीहरूले यो कीर्तिमान पाकिस्तानविरुद्ध कायम गरेका थिए ।

फाइल तस्विर

पछि कुशल र दीपेन्द्रले बनाएको उक्त कीर्तिमान भारतका रोहित शर्मा र रिंकु सिंहले तोडे । अफगानिस्तानविरुद्ध रोहित र रिंकुले पाँचौं विकेटमा अविजित १९० रनको साझेदारी गरेका थिए ।

मंगोलियाविरुद्ध कीर्तिमानको ओइरो

चीनमा सम्पन्न १९औं एसियाली खेलकुदको पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध केही विश्व कीर्तिमान स्थापित गरेको थियो ।

असोज १० मा नेपालले मंगोलियालाई २७३ रनले पराजित हरायो । नेपालले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमै समेटियो । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले पाएको यो सबैभन्दा ठूलो अन्तरको जित हो ।

यसअघि ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो अन्तरमा जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेकले सन् २०१९ को अगस्ट ३० मा टर्कीलाई २५७ रनले हराएको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ३ विकेट गुमाई ३१४ रन बनाएको थियोे । यो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि टोलीले बनाएको उच्च योगफल हो । यसअघि अफगानिस्तानले २७८ रन बनाएर कीर्तिमान कायम गरेको थियो ।

मंगोलियाविरुद्ध नेपाली ब्याटर कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका मद्दतमा अविजित १३७ रन बनाएका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा शतक पूरा गर्ने कीर्तिमान बनाएका थिए । उनले केवल ३४ बलमै शतक पूरा गरेका थिए ।

कुशलले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकका डेविड मिलरको कीर्तिमान तोडेका थिए । दुवैले ३५ बलमा शतक बनाएका थिए । 
कीर्तिमानस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका जोन निकोल लोफ्टी इटनले तोडेका थिए । उनले नेपालविरुद्ध मात्र ३३ बलमा शतक प्रहार गरेका थिए ।

मंगोलियाविरुद्धकै खेलमा दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान पनि बनाए । दीपेन्द्रले मात्र ९ बलमा अर्धशतक पूरा गरे ।  १० बल सामना गरेका दीपेन्द्रले ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । दीपेन्द्रले भारतका युवराज सिंहले १२ बलमा बनाएको कीर्तिमान तोडेका हुन् ।

महिला खेलाडीको पहिलो शतक
नेपालले एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटमा फागुन १ मा माल्दिभ्सको सामना गरेको थियो ।

मलेसियाको वाइएसडी यूकेएम ओभलमा टस जितेर ब्याटिङ निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रनको योगफल तयार पारेको थियो ।यो ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालले बनाएको सबैभन्दा ठूलो योगफल हो ।

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्ध बनाएको १६४ रनको योगफल तयार पारेको थियो ।

 रुबिना क्षेत्रीले ५९ बलमा १० चौका र ५ छक्का मद्दतमा अविजित ११८ रन बनाइन् । पूजा महतोले अविजित ५९ रन बनाइन् ।

महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीले प्रहार गरेको पहिलो शतक हो ।  

जवाफी ब्याटिङमा उत्रिएको माल्दिभ्स १३ रनमै समेटिएपछि नेपालले २१४ रनको कीर्तिमानी जित निकाल्यो । अन्तर्राष्ट्रिय ट्वान्टी–२० महिला क्रिकेटमा यो  सबैभन्दा फराकिलो रनअन्तरको जित हो ।

य -१९ टोली

नेपाली यु-१९  टोलीले यो वर्ष एसिसी प्रिमियर कप, एसिसिसी एसिया कप र आइसिसी विश्वकप खेल्यो ।

एसिसी प्रियिमर कपमा नेपाल च्याम्पियन बनेको थियो । नेपालले एसिया कपमा भारत, पाकिस्तान अफगानिस्तान तथा विश्वकपमा यी तीनका साथै न्युजिल्यान्ड र बंगलादेशको सामना गर्यो ।

टेस्ट रष्ट्रको सामना गर्दा नेपालको प्रदर्शन फिललो देखिए पनि यी प्रतियोगितामा गरेका प्रदर्शनका आधारमा आकश चन्द जस्ता खेलाडीले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे । 

एसिसी यु–१९ प्रिमियर कप
नेपाली यु–१९ क्रिकेट टोलीले असोज २५ देखि कात्तिक ६ सम्म मलेसियामा सम्पन्न एसिसी यु–१९ प्रिमियर कप एकदिवसीय क्रिकेटमा भाग लिएको थियो ।  

अपराजित रहँदै च्याम्पियन बनेको नेपालले प्रतियोगितामा ५ खेल खेलको थियो । १६ टोली सहभागी रहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, साउदी अरेबिया, बहराइन र इरान थिए ।

नेपालले समूह चरणमा इरानलाई २७५ रन, बहराइनलाई ७ विकेट र कतारलाई ३०२ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस पद्धतिमा १४३ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

फाइनलमा पनि युएईलाई डकवर्थ लुइस पद्धतिमै १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बन्यो । फाइनल पुगेसँगै नेपाली टोली एसिसी यु–१९ एसिया कपका लागि छनोट भएको थियो ।

एसिसी यु–१९ एसिया कप
नेपालले मंसिर २२ देखि पुस १ सम्म युएईमा भएको एसिसी यु–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्यो ।

नेपालले एसिसी यु–१९ प्रिमियर कपको विजेताका हैसियतले यो प्रतियोगिता खेल्ने अवसर पाएको हो । ८ टोली सहभागी यो प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान थिए ।

प्रतियोगितामा तीन खेल खेल्दा नेपाल जितविहीन बन्यो । नेपालले पाकिस्तानसँग ७ विकेट, अफगानिस्तानसँग ७३ रन र भारतसँग १० विकेटको पराजय भोगेको थियो ।

आइसिसी यु–१९ विश्वकपमा पुनरागमन 

नेपालले पुस १६ देखि २६ सम्म दक्षिण अफ्रिकामा भएको आइसिसी यु–१९ एकदिवसीय विश्वकपमा सहभागिता जनायो । एसिया छनोटको च्याम्पियन बन्दै नेपाल ८ वर्षपछि यु–१९ विश्वकपमा फर्किएको हो ।

प्रतियोगितामा ५ खेल खेल्दा नेपालले ४ हार र १ जितको नतिजा निकाल्यो । १६ राष्ट्रसम्मिलित प्रतियोगिताको समूह ‘डी’ मा नेपाल, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान थिए ।

समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटको हार बेहोरेको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सको यात्रा गरेको थियो ।

सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेट र भारतसँग १३२ रनले पराजित भएको थियो ।

खेलाडीको तलब लाख 
नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता)मा पहिलो पटक महिला र पुरुष क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता एकसाथ गरेको थियो ।

क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीसँग सम्झौता गरेको हो ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल तथा ग्रेड ‘बी’ मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख र अविनाश बोहरालाई राखिएको छ ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी तथा ग्रेड ‘डी’ मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङलाई राखिएको छ ।  

इमर्जिङतर्फ दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन् ।

ग्रेड ‘ए’ का खेलाडीले मासिक १ लाख, ‘बी’ का  खेलाडीले मासिक ७० हजार, ‘सी’ का खेलाडीले मासिक ५५ हजार, ‘डी’ का खेलाडीले मासिक ३५ हजार र इमर्जिङ खेलाडीले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

महिलातर्फ ग्रेड ‘ए’ मा इन्दु बर्मा, रुबिना क्षेत्री र सीता रानामगर तथा ग्रेड ‘बी’ मा कविता कुँवरलाई राखिएको छ । ग्रेड ‘सी’ मा पूजा महतो र अस्मिना कर्माचार्य तथा ग्रेड ‘डी’ मा अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ र बिन्दु रावल रहेका छन् ।

इमर्जिङतर्फ सोनी पाख्रिन, खुशी डंगोल, ज्योत्सनिका मरासिनी, कञ्चन श्रेष्ठ, रुबी पोदार, सृष्टी जैसी, सम्झनाकुमारी खड्का र सना प्रविन रहेका छन् ।

महिलातर्फ ग्रेड ‘ए’ का खेलाडीले मासिक ५० हजार, ‘बी’ का खेलाडीले मासिक ३५ हजार, ‘सी’ का खेलाडीले मासिक ३० हजार, ‘डी’ का खेलाडीले मासिक २५ हजार र इमर्जिङतर्फ खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने छन् ।

मैदान बाहिर दुई पूर्वकप्तान

यो वर्ष नेपाली क्रिकेट मैदानभित्र मात्र नभएर मैदानबाहिर पूर्वकप्तानद्वय पारस खड्का र सन्दीप लामिछाने चर्चाको शीखरमा रहे । तर, पारस क्यानको सचिवमा निर्वाचित भएर चर्चित हुँदा सन्दीपले भने बलात्कार अभियोगमा दोषी ठहर भएर कुचर्चा कमाए ।

क्यानको चुनावी माहोलमा होमिएका पारसले जिल्ला, प्रदेश हुँदै नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिको जिम्मेवारीमा पुगेर समग्र खेलप्रेमीमाझ आशाको सञ्चार गराए ।

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष चुनिएका थिए । त्यसपछि असोज ६ मा भएको क्यानको चुनावाट पारस सचिव निर्वाचित भए । उनले पूर्वसदस्य प्रशान्तविक्रम मल्ललाई पछि पारेका थिए ।  खसेको ८५ मध्ये पारसले ४८ मत प्राप्त गर्दा प्रशान्तले ३७ मत पाएका थिए ।

एकजना पूर्व कप्तानले आफ्नो सफलतामा पूरा देशलाई उत्साहित बनाउँदा अर्का कप्तान सन्दीप लामिछानेले भने आफ्नो जिम्मेवारी विर्सिएर स्टारडमको दुरुपयोग गर्दा खेल जगत नै बदनाम भयो । बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पुस २५ गते ८ वर्षको जेल सजाय र जरिवाना सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिनुपर्ने आदेश पनि दिएको थियो । सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना पनि तोकिएको थियो ।

अदालतबाट पुस १३ गते दोषी ठहरिएका सन्दीपलाई सजाय तोक्नका लागि पुस २५ मा पेसी तोकिएको थियो । ढकालकै इजलासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको हो ।

सन्दीपले पीडित किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको र जबरजस्ती करणी गरेको अदालतको ठहर छ । गत वर्षको भदौ २१ मा सन्दीपविरुद्ध बलात्कारको उजुरी परेको थियो । उजुरीपछि असोज २० मा सन्दीप पक्राउ परेका थिए ।

जाहेरी अनुसार सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति तिलगंगास्थित एक होटलमा लगेर बलात्कार गरेका थिए ।

सन्दीपले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गराएका छन् ।