काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यात्रा धेरै लामो छैन । तीन दशक पनि पुगेको छैन । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा खेलेको भनेकै सन् १९९६ को एसिसी ट्रफी हो । भर्खर २६ वर्ष भयो । समय थोरै भए पनि उपलब्धिका हिसाबमा भने नेपाली क्रिकेटको यात्रा गर्व गर्न लायक बनिसकेको छ । खासगरी मैदानभित्र ।
मैदान बाहिरको क्रिकेट नेपालमा निकै निम्छरो छ । भ्रष्ट छ । यथास्थितिवादी छ । अझ भनौं, प्रतिगामी । सधैंको विवाद, कुशासन, व्यक्तिगत र गुटगत स्वार्थप्रेरित लडाइँ झगडा नेपाली क्रिकेट प्रशासनको पहिचान हो । यति धेरै नालायकीका बीच नेपालमा क्रिकेटको सफलता प्रत्येक दिन अगाडि बढिरहेको छ । कसरी सम्भव भयो त यस्तो ठीक विपरीत खालको परिस्थिति ? उत्तर प्रस्ट छ, ‘मैदानभित्र खेलाडीले गर्ने असाधारण प्रदर्शन अनि उनीहरूको मिहिनेत, क्षमता र प्रतिबद्धता ।’
खेलाडीको यही खुबीले हो, अहिलेसम्म त्रिकेट प्रशासनको नालायकीमा पर्दा हालेको । भर्खरै नेपाली टिमले प्रशासनलाई त्यस्तै ठूलो गुन लगायो । तीन करोड नेपाली समर्थकलाई एकसाथ खुसी मनाउने अर्को गर्विलो बहाना दियो, एसिया कपमा स्थान सुरक्षित गरेर । पाकिस्तानमा हुने प्रतियोगितालाई दक्षिण एसियाको भू-राजनीतिले सिकार नबनाए नेपालले विश्व क्रिकेटका ठूला नाम भारत र पाकिस्तानसँग एकैपल्ट आमनेसामने हुने मौका पाउनेछ ।
जहाँ विराट कोहली, रोहित शर्मा, केएल राहुल, बाबर आजम, मोहम्मद रिजवान र अरू विश्वस्तरका ब्याटरलाई सोमपाल कामीको बलले चुनौती प्रस्तुत गर्नेछ । अनि रोहित पौडेल र कुशल मल्लहरू साहिन साह अफ्रिदी र जसप्रित बुमराहको बलमा ब्याट घुमाइरहेका हुनेछन् ।
प्रशासनको नालायकीका कारण इतिहासकै कठिन मोडमा पुगेको नेपाली क्रिकेटलाई खेलाडीबाट यस्तै बहादुरी आवश्यक थियो । म्याच फिक्सिङ, स्पट फिक्सिङ, बेटिङ, भ्रष्टाचारलगायतका बेथितिले नेपाली क्रिकेट पतनको संघारमा पुगिसकेको थियो ।
विश्वकप लिग २ शृंखलामा निकै दयनीय अवस्थामा थियो नेपाल । विश्वकपको ग्लोबल छनोट त परको कुरा भयो, एकदिसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि हम्मे परिसकेको थियो । क्यानका पदाधिकारीहरू त बदनाम थिए नै । तत्कालीन कप्तान सन्दीप लामिछानेसमेत नावालिग बलात्कारको अभियोगमा मुछिए । जसले नेपाली क्रिकेटको छविमा अर्को गम्भीर दाग लगायो ।
तर, एकाएक ब्याट र बलसँग नेपाली क्रिकेटका नायकहरू मज्जाले उदाए । लिग २ बाट बाहिरिइसकेको अवस्थामा पछिल्ला १२ मध्ये ११ खेलमा जित दिलाए । नेपाल एकदिवसीय मान्यता जोगाउन सफल भयो । विश्वकपको ग्लोबल छनोट खेल्न लायक भयो । त्यसपछि पालो थियो, घरमै हुने अर्को प्रतियोगिता एसिसी प्रिमियर कप खेल्ने ।
प्रिमियर कपमा उपाधि जित्न सके एसिया कप खेल्न पाइन्थ्यो । यसअघि सन् २००२ मा एसिया कपलाई छानिए पनि भारत र पाकिस्तानबीचको राजनीतिक समस्याका कारण नेपालले त्यो अवसर गुमाएको थियो । यसपालि पनि त्यही समस्या बल्झिँदा प्रतियोगिता नै नहुने सम्भावना बढेर गएको छ । त्यसो भए नेपालले फेरि दुई दशकपछि उही नियति भोग्नुपर्ने हुनसक्छ । जुन नेपालको हातमा छैन ।
तर, खेलाडीले आफ्नो हातमा भएको कामचाहिँ फत्ते गरिछाडे । वर्षाका कारण प्रभावित फाइनलमा दुई दिन लगाएर युएईलाई हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गर्यो । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले एसिसी इमर्जिङ टिम्स कप खेल्न पाउँथ्यो । त्यो पनि नेपालले हासिल गर्यो ।
मैदानभित्र खेलाडीले नेपाली क्रिकेटलाई भीरबाट जोगाएर समथल भूमिमा फर्काएको यो पहिलो पटक होइन । सन् २०१० मा आइसिसी डिभिजन ५ जितेर अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव छाडेको नेपालले सन् २०१४ मा आइसिसी ट्वान्टी-२० विश्वकप खेल्दै विश्वस्तरमा आफूलाई स्थापित गर्यो ।
मैदानभित्रको नेपालको उत्कृष्ट प्रदर्शन जारी छ । तर मैदान बाहिर चाहिँ ? सायद यसको सही उत्तर दिन कुनै नेपालीको मन मान्दैन । किनकि उत्तर निकै नमिठो हुन्छ । क्रिकेट प्रशासनको निम्छरोपना झनै साँघुरिएको छ । भ्रष्टाचार अझै मौलाएको छ । कुशासनले सिमाना नाघिसक्यो । भौतिक पूर्वाधार विकासका कुरा नेताका भाषणमै सीमित छन् । वास्तविकता चाहिँ दुई दशकअगाडि भन्दा धेरै फरक छैन ।
नेपाली क्रिकेट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानले धानेको छ । भर्खरै सम्पन्न एसिसी प्रिमियर कपमार्फत माथिल्लो क्रिकेट मैदानले पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त गरेकाले त्रिवि मैदानलाई केही राहत भने पक्कै हुनेछ । तर यी दुवै मैदान पूर्ण रूपमा अन्तर्राष्ट्रिय स्तरका भने छैनन् । फ्लडलाइट जडान हुन नसकेको मैदानमा दर्शक बस्ने प्यारापिटसमेत छैन ।
अन्तर्राष्ट्रिय स्तरको ठूलो रंगशाला बनाउने अभियान सरकारी कागज, क्यान पदाधिकारीको भाषण र फगत योजनाभन्दा माथि उठ्न सकेको छैन ।
मैदानमात्र होइन नेपाली क्रिकेटको घरेलु संरचना पनि निकै कमजोर छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानको सहकार्यमा वर्षमा एकपल्ट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्छ । त्यो पनि निश्चित समयमा हुन सकिरहेको छैन ।
क्यान आफैंले गत वर्ष नेपाल प्रिमियर लिगको पहिलो संस्करण आयोजना गरेको थियो । तर, यो प्रतियोगिता विवादरहित हुन सकेन ।
खेलको मेरुदण्ड मानिने उमेर समूहमा पनि कमै मात्र प्रतियोगिताहरू हुने गरेका छन् । लामो समयदेखि मल्टी डे क्रिकेट प्रतियोगिताको कुरा उठेको भए पनि क्यानले त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।
अध्यक्ष चतुरबहादुर चन्द आफ्नो तर्फबाट क्यानले गर्नुपर्ने कार्य गरिरहेको भए पनि सरकारी निकायबाट पाउनुपर्ने जति साथ नपाएको गुनासो पोख्छन् ।
‘हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम गरिरहेका छौं । मैदान मर्मतका कामहरू हामी गरिरहेका छौं । सरकारी निकायबाट सोचेअनुसारको साथ पाइरहेका छैनौं,’ अध्यक्ष चन्दले सुनाए, ‘एसिसी प्रिमियर कपमा दर्शकको उपस्थितिले कम्तीमा पनि एउटा स्तरीय स्टेडियम आवश्यक रहेको देखाएको छ । मलाई लाग्छ यसले उच्च निकायलाई पनि सोच्न बाध्य बनायो होला । आशा गरौं, आगामी वर्षहरूमा १-२ वटा स्टेडियम बन्ने छन् ।’
उनी नेपालको अहिलेको ध्यान आइसिसी विश्वकप छनोट (ग्लोबल क्वालिफायर) मा रहेको बताउँछन् ।
‘अहिले हामी जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटमा ध्यान केन्द्रित गरिरहेका छौं । अहिले खेलाडीलाई एक साताको विश्राम दिइएको छ । त्यसपछि क्लोज क्याम्प राख्छौैं,’ अध्यक्ष चन्दले भने, ‘केही दिन नेपालमै क्लोज क्याम्प राखेपछि टोली थप अभ्यासका लागि मे अन्त्यतिर दक्षिण अफ्रिका जानेछ । त्यहाँ १० दिनको अभ्यासपछि टोली जिम्बावे प्रस्थान गर्नेछ । विश्वकप छनोटलाई हामीले एसिया कपको तयारीका रुपमा लिएका छौं ।’
सरकारी बेवास्ता
कुनै पनि खेलकुदमा नेपालले सफलता हात पार्दा बधाई दिन राजनीतिक दलका नेताहरू अग्रपंक्तिमा देखिन्छन् ।
जित हासिल गरेको दिन बधाईको ओइरो लाग्छ । प्रतियोगिता नै जिते सरकारबाट सम्मान तथा पुरस्कारको घोषणा हुन्छ ।
नेपाल सरकारले बुधबार मात्रै एसिसी प्रिमियर कप जितेर एसिया कपका लागि छनोट भएको नेपाली टोलीका सदस्यलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । त्यसअघि आइसिसी लिग-२ को शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाउँदा पनि पुरस्कारको घोषणा भएको थियो ।
खेलाडीको सफलतामा बधाई तथा पुरस्कारको घोषणा गर्नु नै उपलब्धि मानिरहेको सरकारले उनीहरूलाई खेलेरै जीवन धान्न सक्ने वातावरणको सिर्जना गर्न सकेको छैन । टोलीले जित हात पार्दा गर्वले छाती फुलाउने सरकार तथा राजनीतिक दलहरूले खेलकुदलाई सस्तो लोकप्रियता कमाउने माध्यम बनाइरहेको सहजै बुझ्न सकिन्छ ।
यसको ज्वलन्त उदाहरण हो युवा तथा खेलकुद मन्त्रालय लामो समयसम्म नेतृत्वविहीन रहनु । गत मंसिरमा सम्पन्न संघीय चुनावपछि पहिलो पटक पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद गठन गरेका थिए । त्यसयता सात पटक मन्त्रिपरिषद पुनर्गंठन भए पनि युवा तथा खेलकुद मन्त्रालय कसैको प्राथमिकतामा परेको थिएन ।
बुधबार आठौं पटकको मन्त्रिपरिषद पुनर्गंठनमा डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लिम्बु मोरङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । सरकारले चितवनमा अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जिम्मेवारी लिन्छु भने पनि हालसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।
कीर्तिपुरमा फ्लड लाइट जडान गर्ने भनिए पनि काम सुरु भएको छैन । मूलपानी क्रिकेट मैदानको निर्माण सुरु भएको दुई दशक पुग्नै लाग्दासमेत अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य बनिसकेको छैन ।
दाङ, भैरहवा, धनगढीलगायतका स्थानमा निर्माण सुरु भएका क्रिकेट मैदानको हालत पनि मूलपानीकै जस्तो छ । सरकारले आफ्नो चासो छ भन्ने देखाउन क्रिकेट मैदानका लागि पछिल्लो केही आर्थिक वर्षयता बजेट छुट्याउन त थालेको छ । तर, त्यो पर्याप्त नबन्दा बालुवामा पानी खन्याएसरी भएको छ ।