आइपिएल

सुरु भयो आइपिएल, को कस्ता छन् ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको १६औं संस्करण शुक्रबार सुरु भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआइ)ले आयोजना गर्ने विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट लिगमा १० टोलीले सहभागिता जनाउने छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले समूहका सबै टोलीसँग दुई (होम एन्ड अबे) खेल खेल्ने छन् ।  यसैगरी अर्को समूहका चार टोलीसँग एक/एक पटक खेल्नेछन् । फरक समूहका एक टिमसँग भने दुई खेल खेल्नुपर्ने हुनेछ । प्रतियोगितामा कुल ७४ खेल हुनेछ ।

समूह ‘ए’मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकाता नाइट्स राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् ।

समूह ‘बी’मा चेन्नई सुपर किंग्स, साबिक विजेता गुजरात जायन्ट्स, पन्जाव किंग्स, रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबाद छन् ।

लिग चरणपछि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउने छन् ।

प्लेअफका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउने छ ।

लिग चरणमा तेस्रो र चौथो स्थानमा रहने टोलीले इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली बाहिरिने छ ।

पहिलो क्वालिफायरमा पराजित हुने र इलिमिनेटरमा विजयी हुने टोली आमनेसामने हुनेछन् । दोस्रो क्वालिफायरको रुपमा रहने यो खेलको विजेता फाइनल पुग्नेछ ।

यस संस्करणको फाइनल नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

आइपिएलका खेल प्रत्येक दिन साँझ ७ः४५ बजे नियमित हुनेछ भने शनिबार र आइतबार दिउँसो ३ः४५ बजे पनि खेल हुनेछन् ।

आइपिएल विजेताले २० करोड भारतीय रुपैयाँ, उपविजेताले १२ करोड ५० लाख तथा प्लेअफबाट बाहिरिने टोलीले समान ८ करोड ७५ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।

सन् २००८ बाट सुरु भएको प्रतियोगितामा हालसम्म १५ संस्करण सकिँदा मुम्बई इन्डियन्स ५, चेन्नई सुपर किंग्स ४, कोलकाता नाइट्स राइडर्स २ तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स समान एक पटक च्याम्पियन बनेका छन् ।

यसपालिदेखि टाटा ग्रुप आइपिएलको मुख्य प्रायोजकका रूपमा भित्रिएको छ ।

अक्सनबाट पन्जाब किंग्सले इङ्ल्यान्डका साम कुरानलाई आइपिएल अक्सन इतिहासकै सबैभन्दा महँगो मूल्य १८ करोड ५० लाख भारुमा अनुबन्ध गरेको थियो ।

आइपिएल इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहली हुन् । उनले २ सय १५ खेलमा ४४ अर्धशतक र ५ शतकको मद्दतमा ६ हजार ६ सय २४ रन बनाएका छन् ।

यसैगरी चेन्नई सुपर किंग्सका पूर्वखेलाडी ड्वाइने ब्राभो आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । ब्राभोले १ सय ६१ खेलमा ५ सय १६ ओभर बलिङ गर्दै १ सय ८३ विकेट लिएका छन् ।

यस्ता छन् आइपिएल प्रतिस्पर्धी :

गुजरात टाइटन्स

गुजरातले गत संस्करणबाट मात्रै आइपिएल खेल्न थालेको हो । तर गुजरात ‘डेब्यू’मै च्याम्पियन बनेको थियो । हार्दिक पण्ड्या कप्तान रहेको टोलीको मुख्य प्रशिक्षकमा आशिष नेहरा छन् ।

स्टिभ कोल्टेस, डोनाल्ड म्याकेन्जी र रोली भ्यान रापर्डको स्वामित्वमा रहेको गुजरातले नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई घरेलु मैदानका रुपमा प्रयोग गरेको छ ।

मुम्बई इन्डियन्स

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको मुम्बई सर्वाधिक पाँच पटक आइपिएल च्याम्पियन बनेको छ । भारतीय धनाढय मुकेश अम्बानीको स्वामित्वमा रहेको मुम्बई सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा च्याम्पियन बनेको थियो ।

आइपिएलका सबै संस्करणमा सहभागिता जनाएको मुम्बईको कप्तानमा रोहित शर्मा तथा मुख्य प्रशिक्षकमा मार्क वाउचर छन् । टोलीले वाङ्खडे स्टेडियमलाई घरेलु मैदानको रुपमा प्रयोग गरिरहेको छ ।

चेन्नई सुपर किंग्स

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई चारपल्ट आइपिएल च्याम्पियन बनेको छ । पहिलो संस्करणदेखि नै सहभागिता जनाइरहेको चेन्नई सन् २०१०, २०११, २०१८ र २०२१ मा च्याम्पियन बनेको थियो ।

नारायणस्वामी श्रीनिवासनको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षकमा स्टेफन फ्लेमिङ छन् । चेन्नईको घरेलु मैदानका रुपमा एमए. चिदम्बरम स्टेडियम छ । सन् २०१६ र ०१७ मा प्रतिबन्धमा परेको चेन्नईले आइपिएलका १३ संस्करण खेलेको छ ।

कोलकाता नाइट राइडर्स

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको कोलकाता दुई पटक आइपिएल च्याम्पियन बनेको छ । शाहरुख खान, जुही चावला र जय मेहताको स्वामित्वमा रहेको कोलकाता सन् २०१२ र २०१४ मा च्याम्पियन बनेको थियो ।

आइपिएलका सबै संस्करणमा सहभागिता जनाएको कोलकाताको कप्तानी नितिश रानाले गर्नेछन् । गत संस्करणमा श्रेयस ऐयरले टोलीको कप्तानी सम्हालेका थिए ।कोलकाताको मुख्य प्रशिक्षकमा चन्द्रकान्त पण्डित छन् । टोलीले इडेन गार्डेन स्टेडियमलाई घरेलु मैदानको रुपमा प्रयोग गरिरहेको छ ।

राजस्थान रोयल्स

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको राजस्थान एकपल्ट मात्र आइपिएल च्याम्पियन बनेको छ । मनोज बडाले, लाकलन मर्डाक, गेरी कार्डिनेल र शेन वार्नको स्वामित्वमा रहेको राजस्थान आइपिएलको पहिलो संस्करण (सन् २००८) मा च्याम्पियन बनेको थियो ।

राजस्थानको कप्तानमा सन्जु सामसन तथा मुख्य प्रशिक्षकमा कुमार सांगाकारा छन् । स्वामी मानसिंह स्टेडियम राजस्थानको घरेलु मैदान हो । सन् २०१६ र ०१७ मा प्रतिबन्धमा परेको राजस्थानले आइपिएलका १३ संस्करण खेलेको छ ।

सनराइजर्स हैदराबाद

सन् २०१३ देखि आइपिएलमा सहभागिता जनाएको हैदराबाद एकपल्ट आइपिएल च्याम्पियन बनेको छ । कलानिथि मरान र सन टिभी नेटवर्कको स्वामित्वमा रहेको हैदराबाद सन् २०१६ मा च्याम्पियन बनेको थियो ।

आइपिएलका १० संस्करणमा सहभागी हैदराबादको एडेन मारक्रम तथा मुख्य प्रशिक्षकमा ब्रायन लारा छन् । गत संस्करण टोलीको कप्तानी केन विलियम्सनले गरेका थिए । हैदराबादले राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलाई घरेलु मैदानको रुपमा प्रयोग गरिरहेको छ ।

रोयल च्यालेन्जर्स बेङ्लोर

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको बेङ्लोरले अहिलेसम्म पनि उपाधि जित्न सकेको छैन । फाफ डु प्लेसीको कप्तानीमा रहेको टोली सन् २००९, २०११ र २०१६ मा उपविजेता बनेको थियो ।

युनाइटेड स्पिरिट्सको स्वामित्वमा रहेको बैंग्लोरको मुख्य प्रशिक्षकमा सञ्जय बाङ्गर छन् । आइपिएलका सबै संस्करणमा सहभागिता जनाएको बैंग्लोरको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियम हो ।

पन्जाव किंग्स

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको पन्जावले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन । शिखर धवनको कप्तानीमा रहेको टोली सन् २०१४ उपविजेता बनेको थियो ।  

गत संस्करणमा टोलीको कप्तानी मायंक अग्रवालले गरेका थिए । प्रीति जिन्टा, मोहित बर्मन, नेस वादिया र करण पाउलको स्वामित्वमा रहेको पन्जावको मुख्य प्रशिक्षकमा ट्रेभोर बेलिस छन् । इन्द्रजित सिंह ब्रिन्दा स्टेडियम पन्जावको घरेलु मैदान हो ।

दिल्ली क्यापिटल्स

पहिलो संस्करणदेखि नै सहभागिता जनाएको दिल्लीले पनि अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सन् २०२१ को उपविजेता दिल्लीको कप्तानी डेविड वार्नरले गर्नेछन् । गत संस्करणमा टोलीको कप्तानी ऋषभ पन्तले गरेका थिए । जिएमआर गु्रप, सज्जन जिन्दल र जिएम रावको स्वामित्वमा रहेको दिल्लीको मुख्य प्रशिक्षक रिकी पोन्टिङ हुन् ।

आइपिएलका सबै संस्करणमा सहभागिता जनाएको दिल्लीले अरुण जेट्ली स्टेडियमलाई घरेलु मैदानको रुपमा प्रयोग गरिरहेको छ ।  

लखनउ सुपर जायन्ट्स

लखनउले गत संस्करणदेखि मात्र आइपिएलमा सहभागिता जनाउन थालेको हो । केएल राहुलको कप्तानी तथा एन्डी फ्लावरको मुख्य प्रशिक्षणमा रहेको लखनउले ‘डेब्यू’ संस्करणमा इलिमिनेटर राउन्डसम्मको यात्रा तय गरेको थियो ।

इकाना क्रिकेट मैदान (वीररत्न श्री अटल विहारी वाजपेयी) लाई घरेलु मैदानको रुपमा प्रयोग गरिरहेको लखनउ सन्जिव गोयन्काको स्वामित्वमा छ ।