मंसिर ३, २०८२ बुधबार | १२:३५:१९
एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन एकतर्फी जित निकाल्दै बेल्जियम फिफा विश्वकपमा छनोट स्पेन लगातार १३औं पटक फिफा विश्वकपमा एनपिएलः दबाबमा सुदूरपश्चिम, काठमाडौंलाई राहत एसियन कप छनोटः नेपालको लगातार पाँचौं हार लालीगुराँसलाई प्रेसिडेन्ट लिगको उपाधि कीर्तिमानी प्रदर्शनका साथ पोखरामाथि विराटनगरले हासिल गर्यो ५३ रनको रवाफिलो जित विशाल लक्ष्य पछ्याइरहेको पोखराको सानदार सुरुआत पोखराविरुद्ध लोकेशको पनि अर्धशतक पूरा गप्टिलको अर्धशतक, विराटनगर बलियो लक्ष्यतर्फ अग्रसर पावरप्लेमा विराटनगरले जोड्यो ५५ रन
शनिबारको दिन नेपाली क्रिकेट

नेपाली क्रिकेटले जोगाएको ‘हैसियत’

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा बिहीबार युएईमाथि डकवर्थ लुइस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपाल सिधै विश्वकप छनोट (ग्लोबल क्लालिफायर) मा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सकिएको खेलमा युएईले प्रस्तुत गरेको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । खराब प्रकाशका कारण डकवर्थ लुइसको नियम लगाइएपछि नेपालले खेल जितेको हो ।

नेपालले विश्वकप लिग २ का ३६ खेलबाट ४० अंक बटुल्दै तेस्रो स्थानमा रहरे जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान सुरक्षित गरेको छ ।

नेपालको यो चामत्कारिक प्रदर्शन मात्र एक महिनाको अन्तरालमा आएको हो । गत फागुन २ मा नेपालले घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला सुरु गर्नु अघिसम्म नेपाली क्रिकेटमा आशलाग्दो केही थिएन । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त सात देशबीच चलिरहेको तीन वर्ष लामो लिग २  शृंखलामा नेपाल कमजोर स्थितिमा पुगिसकेको थियो ।

विश्वकप लिग २ शृंखलालाई पाँचजना प्रशिक्षकले नेपाली टोली सम्हालिसकेका थिए । कोरोना भाइरस महामारीले नियमित शृंखलाहरु पछाडि धकेलिए । तीनजना कप्तान फेरिए । राष्ट्रिय टोलीभित्रको एकता भताभुङ्ग बिग्रिएको थियो । कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार पुगेका थिए । नेपाली क्रिकेटको सर्वोच्च निकाय (क्यान) भित्रको गुटगत राजनीति त्यत्तिकै मौलाएको थियो । यिनै कारणबीच राष्ट्रिय क्रिकेट टोलीले खेल जित्न बिर्सिएको थियो ।

फागुन २ अघि नेपालले विश्वकप लिग २ का पछिल्ला १० मध्ये २ दुई खेलमा मात्र जित निकालेको थियो ।

अघिल्ला प्रशिक्षक मनोज प्रभाकरले चार महिनामै राजीनामा दिएपछि माघ २३ मा मोन्टी देशाईले आधिकारीक रूपमा नेपाली टोलीको प्रशिक्षण जिम्मेवारी पाएका थिए ।

देशाईले जिम्मेवारी पाउनुभन्दा १० दिन अघिदेखि टोलीको प्रशिक्षण सम्हालेका थिए । देशाईको आगमनसँगै नेपाली क्रिकेटले पनि कोल्टे फेरेको छ ।

कुनै समय आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन निकै संघर्ष गरिरहेको नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ को शीर्ष तीनमा रहँदै सोझो विश्वकप छनोट खेल्ने हैसियत बनाएको छ ।

जम्माजम्मी दुई साताको तयारीपछि नेपाल लिग २ का अन्तिम तीन शृंखलाका १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नका लागि मैदानमा फर्किएको थियो । नेपाललाई आफ्नो एकदिवसीय मान्यता जोगाउन कम्तीमा ९ खेल जित्नुपर्ने अवस्था थियो । धेरैले यसलाई असम्भवजस्तै मानेका थिए । टोलीको पछिल्ला प्रदर्शन हेर्दा त्यो अनुमान गलत पनि थिएन ।

तर, नेपालले १२ मध्ये १० खेल खेल्दा नेपाल ९ जित निकाल्दै अविश्वसनीय रूपमा एकदिवसीय मान्यता जोगाउन सफल भयो । नेपालले फागुन २ देखि ९ सम्म घरेलु भूमिमा लिग २ च्याम्पियन स्कटल्यान्ड र नामिबियाविरुद्धको शृंखलामा क्लिन स्विप राख्यो ।

यसैगरी फागुन १५ देखि २२ सम्म युएईमा भएको शृंखलामा नेपालले युएई र पपुवा न्युगिनीविरुद्ध ४ मध्ये ३ खेल जित्यो । फागुन २५ देखि चैत २ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी र युएईमाथि पनि क्लिन स्विप नै कायम राख्यो । नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्दै असम्भवजस्तै मानिएको यात्रामा ऐतिहासिक सफलता पाएको छ ।

नेपालले पछिल्ला १२ खेलमा पपुवा न्युगिनीलाई ४, युएईलाई ३ तथा स्कटल्यान्ड र नामिबियालाई समान दुईपल्ट पराजित गरेको छ । नेपाललाई एकमात्र हार चखाउने टोली युएई नै थियो ।

टोलीको जिम्मा पाउँदा भारतका प्रशिक्षक मोन्टी देशाईलाई नेपालका लागि एकदिवसीय मान्यता जोगाउने चुनौती थियो । एकदिवसीय मान्यता जोगिँदा राष्ट्रिय टोलीलाई व्यस्त राख्न र घरेलु क्रिकेट गतिविधिका लागि आर्थिक संकट नहुने तथ्यबारे नेपाल क्रिकेट संघ (क्यान) पनि जानकार थियो ।

त्यसैले क्यानले नेपाली क्रिकेटबारे जानकार देशाईलाई प्रशिक्षकको रूपमा भित्र्याएको थियो । मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु धेरै अगाडिदेखि नै उनी नेपाली क्रिकेटसँग परिचित थिए । सन् २०१४ मा नेपालले ट्वान्टी-२० विश्वकप खेल्दा होस् या सन् २०१६ मा यु-१९ टोलीले विश्वकप खेल्दा देशाईले नेपाली क्रिकेटका लागि सल्लाहकारको भूमिका निभाएका थिए ।

नेपालका लागि बलिङमा सन्दीप लामिछाने, ललितनारायण राजवंशी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ललगायतका खेलाडीको प्रदर्शन उच्च रह्यो ।

पछिल्ला १२ खेलमा कुशल भुर्तेल र आसिफ शेखले शतक पूरा गरे । कुशलले नामिबिया र आसिफले पपुवा न्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए । त्यसो त करण केसी, ललित राजवंशी र सन्दीपले एकै खेलमा ५ विकेटको प्रदर्शन पनि दिए । करणले नामिबिया, ललितले युएई र सन्दीपले पपुवा न्युगिनीविरुद्ध ५ विकेट हात पारेका थिए ।

विश्वकप लिग २ मा नेपालका लागि सर्वाधिक रन ओपनर आसिफ शेखले बनाए । उनले प्रतियोगिताका ३० खेलमा एक शतक र सात अर्धशतक मदतले ३३.३५ को औसत तथा ८०.५८ को स्ट्राइक रेटमा ९ सय ३४ रन बनाए । एक सय १० रन बनाउनु आसिफको व्यक्तिगत उत्कृष्ट प्रदर्शन रह्यो ।

विश्वकप लिग २ मा नेपालका लागि सर्वाधिक विकेट लेग स्पिनर सन्दीप लामिछानेले लिए । सन्दीपले ३१ खेलका ३० इनिङ्समा २ सय ८२ ओभर बलिङ गर्दा ४.०४ को इकोनोमीमा १ हजार १ सय ४२ रन खर्चिंदै ७२ विकेट लिए ।

सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा ओमानका बिलाल खान (७६) पछि दोस्रो स्थानमा रहे । १६ रन खर्चिएर ६ विकेट लिनु सन्दीपको उत्कृष्ट प्रदर्शन रह्यो ।

खेलाडीहरु टोलीको यो चामत्कारिक प्रदर्शनको मुख्य श्रेय प्रशिक्षक देशाईलाई नै दिन्छन् । नेपाली टोलीमा प्रत्यक्ष संलग्न भएसँगै उनले अपनाएको ‘ह्याप्पी ड्रेसिङ रुम’कै प्रभाव पछिल्लो समय नेपाली क्रिकेटको सफलतासँग जोडिएको मान्न सकिन्छ ।

‘मोन्टी सर आएदेखि निकै सजिलो भएको छ । टोलीको वातावरणदेखि सबै कुरा उहाँले सम्हाल्नुभएको छ । सरले सबै कुरामा स्वतन्त्र छाडिदिनुभएको छ । कसैलाई दबाव दिनुभएको छैन,’ कप्तान रोहित भन्छन् ।  

‘सबै खेलाडीलाई सबै कुराका लागि तयार गर्नुु नै मेरो लक्ष्य हो ताकि चाहिएका बेलामा उनीहरुको क्षमता सही ठाउँमा प्रयोग गर्न सकुँ,’ पत्रकार सम्मेलनमा देशाईले भनेका थिए, ‘टोलीमा यस्तो वातावरण बनेको छ कि सबैले चुनौती लिएर खेल्न सक्ने क्षमता बढाएका छन् । राम्रो नतिजा नआएका बेलामा पनि म उनीहरूले गरेको मिहिनेतको कदर गर्छु ।’

विश्वकप छनोट (ग्लोबल क्वालिफायर)

जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीको सहभागिता रहनेछ । जसबाट शीर्ष दुई टोलीले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

जसमा आइसिसी सुपर लिगका पुछारका पाँच, विश्वकप लिग २ का शीर्ष तीन र प्लेअफ छनोटबाट आएका दुई टोली हुनेछन् । हालसम्म सुपर लिगका पाँचमध्ये दुई टोलीको टुंगो लागिसकेको छ ।  यहाँबाट जिम्बावे र नेदरल्यान्ड्सले विश्वकप छनोट खेल्ने तय भइसकेको छ ।

अब दक्षिण अफ्रिका, वेस्ट इन्डिज, आयरल्यान्ड्स र श्रीलंकामध्ये तीन टोली सुपर लिगबाट विश्वकप छनोटमा झर्नेछन् । यसैगरी लिग २ को शीर्ष तीनमा रहँदै स्कटल्यान्ड, ओमान र नेपालले छनोटमा स्थान बनाएका छन् । प्लेअफ छनोटबाट आउने दुई टोलीको टुंगो लाग्न बाँकी छ ।

नामिबियामा हुने प्लेअफ छनोटमा ६ टोली सहभागी हुनेछन् । जसमा लिग २ का अन्तिम चार टोली नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी, च्यालेन्ज लिग ‘ए’ को विजेता क्यानाडा तथा ‘बी’ को विजेता जर्सी छन् ।