काठमाडौं । अहिले अस्ट्रेलिया क्रिकेट टोली भारत भ्रमणमा छ । जहाँ चार टेस्टको शृंखला खेलिनेछ । त्यसमध्ये पहिलो टेस्ट नागपुरमा भइसकेको छ । त्यसमा भारत इनिङ्स अन्तरले विजयी भयो । टेस्ट वरीयतामा अस्ट्रेलिया नम्बर एक हो भने भारत दुई । तर, यही भारतले अस्ट्रेलियालाई हराउन साढे दुई दिन पनि लगाएन ।
सबैलाई थाहा छ, अस्ट्रेलिया यो टेस्टमा नराम्रोसँग पराजित भए पनि बाँकी खेलमा फर्केर शृंखलामा बलियो चुनौती पेस गर्न सक्षम छ ।
खासमा अस्ट्रेलियाले यो भारत भ्रमणलाई खुबै महत्त्व दिएको छ । अस्ट्रेलियाली टिमका एक प्रमुख सदस्य हुन, स्टिभ स्मिथ । शृंखला सुरु हुनु अगाडि उनी भन्थे, ‘भारतलाई भारतीय भूमिमै हराउनु जत्तिको मीठो सफलता अरू केही हुन्न ।’
उनले त भारतविरुद्धको शृंखलालाई एसेज जत्तिकै भएको पनि बताए । ठीक यही बेला इङ्ल्यान्ड टिम पनि न्युजिल्यान्ड भ्रमणमा छ । त्यहाँ दुई टेस्टको शृंखला मात्र हुनेछ । यी दुई शृंखलाको समाप्तिमा एसेज हुनेछ ।
त्यो भनेको इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाको शृंखला । यो सबै पृष्ठभूमि किनभन्दा अहिलेको विश्व क्रिकेटमा जम्मा तीन महाशक्ति छन्, तिनै अस्ट्रेलिया, भारत र इङ्ल्यान्ड । त्यसैले उनीहरूलाई ‘बिग थ्री’ पनि भनिन्छ । यिनीहरू मैदानमा हुने क्रिकेटमा त बलिया छन् नै, त्यो भन्दा बलिया छन्, मैदानबाहिरको आर्थिक पक्षमा । विश्व क्रिकेटमा आफ्नै आर्थिक हैसियतले क्रिकेट हाँक्न सक्ने भनेका यिनै तीन देशमात्र हुन् । अरू बाँकी देश त तिनैमा निर्भर हुने मात्र हुन् परजीवी पाराले ।
अस्ट्रेलियाले भारतमा चार टेस्ट खेल्ने त भइहाल्यो । एसेज शृंखलामा पनि पाँच टेस्ट हुने गर्छ । यो दोहोर्याएर उल्लेख गर्नुपर्ने किनभन्दा तीन खेल भन्दा बढी टेस्ट शृंखला खेल्न सक्ने देश पनि अब यिनै तीन मात्र रहे । अझ अस्ट्रेलिया र भारतबीचको शृंखला पनि भविष्यमा पाँच टेस्टको गर्ने छलफल चलिरहेको छ ।
टेस्ट विश्व क्रिकेटको सर्वोच्च स्वरूप हो, तर यसको शृंखला खेल्न निकै खर्चिलो छ । यसको तयारी आफैंमा झन्झटिलो र गाह्रो पनि छ ।
त्यसैले टेस्ट मान्यताप्राप्त अन्य देशहरू कम्तीमा दुई, बढीमा तीन टेस्टको शृंखलामै सीमित हुन थालेका छन् । अझ विश्व टेस्ट च्याम्पियनसिपका लागि चाहिने जति टेस्ट हुन्छ, त्यतिमात्र खेल्न पाए भने ती देश मख्ख पर्ने भए । टेस्ट क्रिकेट इङ्ल्यान्ड र अस्ट्रेलियामा खुबै लोकप्रिय छ । भारत पनि टेस्ट क्रिकेटलाई आफ्नो देशमा उत्तिकै लोकप्रिय बनाउने पक्षमा छ । विश्व क्रिकेटमा देखिएको यो पछिल्लो ठूलो परिवर्तन हो वा भनौं वास्तविकता ।
यहाँनिर दुई तथ्य उल्लेख गर्न राम्रो हुन्छ । जतिबेला पाकिस्तानी क्रिकेटको नेतृत्वमा रमिज राजा थिए । उनले भनेका थिए, ‘पाकिस्तानले जत्तिकै ठूला गफ गरे पनि यहाँको क्रिकेट पूर्णतः भारतमै निर्भर छ भन्दा हुन्छ । यसको स्पष्ट कारण हो, विश्व क्रिकेटमा जति ठूला प्रायोजक छन्, ती सबै भारतकै छन् ।’
अब दोस्रो प्रसंग । यो भने अलि पुरानो, सन् ८० तिरको । त्यतिबेला विश्व क्रिकेटमा ‘बिग टु’ भन्ने हुन्थ्यो । त्यो भनको इङ्ल्यान्ड र अस्ट्रेलिया ।
भारतले यो ‘बिग टु’ को खुबै विरोध गर्दथ्यो र यसलाई हटाउनुपर्ने माग राखेको थियो । उसको दाबी थियो, विश्व क्रिकेट ‘गोरा’को हातमा मात्र छ, यो ठीक भएन । तर, अहिले समय फेरिएको छ, । अनि फेरिएका छन् शक्ति, समीकरणहरू । अबको स्थिति भने भारतसम्मिलित ‘बिग थ्री’ कै हो । भारत अहिले आफू पनि विश्व क्रिकेटको शक्ति केन्द्र हुन पाउँदा मख्ख छ । उसले पुराना सबै कुरा बिर्सिसकेको छ । बरू आफूखुसी विश्व क्रिकेट चलाउन प्रयत्नशील छ ।