Breaking News
गृहपृष्ठ / ब्लग
Image
Image
Image

‘नेपाली खेलकुद ‘ठेकेदार’ हरूको पेवा होइन, सबैभन्दा बढी हक गोपीचन्द्रहरूकै लाग्छ’ 

दीपेन्द्र भट्ट

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाको रोमाञ्चका कारण पूरा विश्वको माहोल फुटबलमय थियो । यता धावक गोपीचन्द्र पार्की प्रकरणले नेपाली खेलकुदमा चिया गफको तातो विषय बनेको टोकियो ओलम्पिकको चर्चा पनि सेलाइसकेको छ । नेपाली खेलकुदको समस्या नै यही हो, विषय जति गम्भीर भए पनि त्यसको चासो र चर्चा लामो समय टिक्दैन । सञ्चारमाध्यम, अन्य सरोकारवाला र समर्थकहरू माहोल तताउन सधैँ नयाँ विषयको खोजीमा सधैं तत्पर भइरहन्छन् । 

नेपालगन्जमा ओलम्पिक छनोटको नाममा भएको प्रतियोगिता जितेर गोपीचन्द्रले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै दौडने अधिकारप्राप्त गरेका थिए । तर सधैंझै नेपाली खेलकुदमा खेलाडी र खेलभावना प्राथमिकताको सूचीमा अगाडि नपर्दा गोपीचन्द्रको ओलम्पिक तयारी निरर्थक भयो । ओलम्पियन खेलाडी बन्ने सपना चकनाचुर भयो । प्रतिस्पर्धामा विजय हासिल गरेर प्राप्त गरेको अधिकार पनि उनीबाट खोसियो । 

गल्ती कसको हो, गोपीचन्द्रलाई थाहा छैन । तर टोकियोको सडकमा दौडिएर नेपाली एथलेटिक्सका महान् हस्ती वैकुण्ठ मानन्धरको नाममा रहेको २ घण्टा १५ मिनेटको दक्षिण एसियाली खेलकुद (साग) को कीर्तिमान तोड्ने लक्ष्य अधुरो रहेको पीडा उनीसँग अझै कायम छ । ओलम्पिकमा दौड्ने लक्ष्य प्राप्तिका लागि दिनरात नभनी नेपालगन्ज म्याराथनलाई गरेको तयारी काम लागेन भन्ने जानकारी छ । सम्पूर्ण खेलजगतले गोपीचन्द्र प्रकरण बिर्सिइसके पनि उनको भने मुटुमा खिल बनेर अड्किइरहेको छ । 

नेपालगन्जमा उपाधि जित्नेबित्तिकै नेपाल ओलम्पिक कमिटीका अध्यक्षबाट पदक भिर्दा मनाएको खुसीले गोपीचन्द्रलाई बिझ्न थालेको महिना दिन कटिसक्यो । ओलम्पिक कमिटी र एथलेटिक्स संघका अध्यक्षले ओलम्पिकका लागि छनोट भएको बधाई दिँदै राम्रो तयारी गर्न दिएको निर्देशनले उनलाई खिल्ली उडाउन थालेको पनि धेरै भइसक्यो ।  

ओलम्पिकमा खेल्न नपाउने घोषणा भएलगत्तै राष्टिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका ठुल्ठूला पदाधिकारीहरूले दिएको बधाई र शुभकामना गोपीचन्द्रको कानमा निकै कर्कस आवाजका साथ गुन्जन थालेको छ । नेपालगन्जमा टोकियो ओलम्पिकलाई छानिएको घोषणा भएकै दिनदेखि दिनरात नभनी ऋण गरेर भए पनि नियमित रूपमा गरेको तयारीले उनलाई पोलिरहेकै छ । समयले महिनौं दिन कटिसके पनि अझैसम्म उनलाई रातमा निद्रा आउन मान्दैन । भोक लाग्ने अवस्थामा त उनी यसै पनि फर्किन सकेका छैनन् ।

एउटा लक्ष्य प्राप्तिका लागि गरेको कठिन मिहिनेत गोपीचन्द्रलाई थाहा छ । त्यो लक्ष्य हासिल गर्दाको खुसी र उत्साह उनलाई थाहा छ । एउटा खुट्किलो सफलतापूर्वक चढेपछि अर्को खुट्किलो चढ्न थप उर्जासाथ गरेको तयारी उनलाई थाहा नहुने प्रश्नै भएन । उनलाई थाहा छैन त केवल आफूले प्रतिस्पर्धाबाट हासिल गरेको सफलता पनि नियतिले कसरी खोस्न सक्यो ? भन्ने हो ।

उनीबाट नेपालगन्ज म्याराथनमार्फत प्राप्त अधिकार खोसिइसकेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, नेपाल ओलम्पिक कमिटी, राष्टिय खेलकुद परिषद, नेपाल एथलेटिक्स संघजस्ता ठूला नामहरूको संलग्नतामा उनको अधिकार खोसिएको साँचो हो । यो पनि थाहा छ ।

तर, खोसियो कसरी त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ उनले पाउने सकेको छैन । थाहा पाउने चाहना पनि छैन । उनको सपना जो चुडिँइसकेको छ । अब थाहा पाएर के गर्नु र ? गल्ती गर्नेको नाम थाहा पाएर उनले टोकियो ओलम्पिकमा दौडिन पाउने होइन क्यारे ! 

त्यसैले होला नेपाली खेलकुदका ‘ठेकेदार’हरूको चर्तिकलाबाट विरक्तिएका गोपीचन्द्र भन्छन्, ‘कसैलाई कारबाही होस् भनेर पनि म भन्दिनँ । मेरो सपना त तोडिसक्यो । अब मेरा लागि यस्ता कुराको कुनै अर्थ छैन ।’

त्यसो त गोपीचन्द्रले चाहे पनि नेपाली खेलकुद र यसका ठेकेदारहरूले नचाहेसम्म केही हुने छैन । किनकि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलगायतका नेपाली खेलकुदको नियमनकारी निकायका रूपमा धाक लगाइरहेका संस्थाले अहिलेसम्म यति गम्भीर विषयमा छानबिनको औपचारिकतासमेत पूरा गर्न आवश्यक ठानेको छैन । 

म आफैं पनि खेलकुदका प्रशासनिक विषयमा धेरै जानकार छैन । गोपीचन्द्र टोकियोमा सहभागिता जनाउने अधिकारबाट वञ्चित हुनाको कारण मलाई पनि थाहा छैन । तर उमेर हुँदा स्कुल, कलेज र नगरस्तरमा खेल्ने गरेकाले म एउटा खेलाडीको भावना राम्ररी बुझ्न सक्छु । अहिले गोपीचन्द्र कुन मनोदशा भोगिरहेका होलान् भन्ने म अनुमान गर्न सक्छु । त्यसैले सबैले बिर्सिए पनि यो विषयले मलाई भने अझैसम्म सताइरहेकै छ ।

मेरो परिचय एउटा व्यवसायी र पत्रकारमात्र होइन, नेपाली खेलकुदलाई नजिकबाट पछ्याउने एउटा प्रशंसक पनि हुँ । गोपीचन्द्रलाई जस्तै मलाई पनि थाहा छैन, दोष कसको हो भनेर । तर यो थाहा पाउने मेरो अधिकार हो । गोपीचन्द्र र ममात्र नभई सम्पूर्ण नेपाली प्रशंसकलाई यस्तो अवस्था किन आउँछ भन्ने थाहा दिइनुपर्छ । 

खेलाडीले गल्ती गरे मैदानभित्र र बाहिर सबैतिर सजाय पाउने व्यवस्था हुन्छ । खेलाडीहरूले नियत नराखीकन गरेका गल्तीमा पनि सजाय पाइरहेका छन् । तर पदाधिकारीले यति ठूलो गल्ती गर्दा पनि सजाय नपाउने भन्ने कदापि हुन सक्दैन । नेपाली खेलकुद एथलेटिक्स संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद तथा त्यहाँका प्रशासकहरूको पेवा होइन । यो हामी सबै नेपालीको सम्पत्ति हो । यसमा सबैभन्दा बढी हक कसैको लाग्छ भने गोपीचन्द्रजस्ता खेलाडीको लाग्छ । तर नेपालमा गोपीहरू प्राथमिकतामा कहिल्यै परेनन् । यहाँ त जीवनराम श्रेष्ठहरूको राज छ । राजीवविक्रम शाह र रमेश सिलवालहरूको हुकुम चल्छ ।

देश राजतन्त्रको संकीर्णता त्याग्दै गणतन्त्रको मूलधारमा बग्न थालेको धेरै भइसक्यो । तर खेलकुदले भने अझै पनि हुकुमीतन्त्रको साँघुरो घेरा चिर्न सकेको छैन । देशलाई प्रतिनिधित्व गर्न महिनौंदेखि रगतपसिना बगाइरहेको एक खेलाडीमाथि यत्ति ठूलो अन्याय हुन्छ । अनि एथलेटिक्स संघ, ओलम्पिक कमिटी र खेलकुद परिषदजस्ता सबै नियमनकारी निकायका प्रमुख अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघलाई दोष थोपर्दै आफू पानीमाथिको ओभानो भएर संयुक्त विज्ञप्ति जारी गर्छन् । अनि च्याप्टर क्लोज हुन्छ ।

देशमा साँच्चिकै गणतन्त्र आएकै हो भने खेलकुद पनि नियमसंगत रूपमा चल्नुपर्छ । खेलकुदमा विधिको शासनको पक्षमा वकालत गर्ने हो भने नयाँ पुस्तालाई खेलकुदमा आउनबाट लगाइएको पर्खाल भत्काउनुपर्छ । खेलकुदमा खेलाडी प्रधान हुन्छन् भन्ने मान्यता स्थापित गर्ने अनि खेलकुद राजनीतिक दलालीको उर्वरभूमि होइन भन्ने प्रमाणित गर्ने हो भने अब किञ्चित् ढिलो गर्नुहुन्न ।

कुनै पनि असल कामको सुरूआत गर्न कहिल्यै ढिलो हुँदैन । नेपाली खेलकुदलाई पनि कुशासन र भ्रष्टाचारको दलदलबाट निकाल्ने, राष्ट्रिय गौरव र समृद्धिको आधारका रूपमा खेलकुद स्थापित गर्ने, खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झन्डाको गौरवमय उपस्थिति ग्यारेन्टी गर्ने हो भने थालनी यहींबाट गर्नुपर्छ ।

अर्थात्, गोपीचन्द्र पार्की प्रकरण खेलकुद शुद्धीकरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ । यो घटनामा नेपाली खेलकुदका ठूला नाम नै दोषी छन् भन्ने अनुमान संयुक्त विज्ञप्तिबाट सहजै गर्न सकिन्छ । त्यसैले राष्ट्रको उच्च तहबाटै एउटा शक्तिशाली आयोग बनाएर छानबिन गरी दोषीलाई आजीवन खेलकुदमा लाग्न नपाउने गरी कडा कारबाही गर्नुपर्छ ।

यी कुनै भावनामा बगेर लेखिएका शब्दहरू होइनन् । यी त लामो समयदेखि यही क्षेत्रसँग निकट रहनेक्रममा हजारौं नेपाली खेलाडी र खेलकर्मीसँग विभिन्न औपचारिक र अनौपचारिक कुराकानीमा उनीहरूबाट व्यक्त भएका भावना एउटा खेलाडी मनको पत्रकार/प्रशंसकले प्रस्तुतमात्र गरेको हो ।

अन्य ब्लग

Image

हुन्छ त टोकियो ओलम्पिक ?

 टोकियोबाट फर्केपछि दुर्गानाथ सुवेदी:-

विश्व खेलकुदको कुम्भमेलाका लागि जापान उड्ने अघिल्लो दिनसम्म पनि...

Image

झुकेका आँखा नउठाइकनै उनले भने : जय नेपाली खेलकुद

अजय फुयाल

कोभिड १९ को महामारीका कारण देश दुई महिनादेखि निशेधाज्ञाको कहरमा छ । सरकारद्धारा घ...

Image

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो...

\