Breaking News
गृहपृष्ठ / ब्लग
Image
Image
Image

हुन्छ त टोकियो ओलम्पिक ?

 टोकियोबाट फर्केपछि दुर्गानाथ सुवेदी:-

विश्व खेलकुदको कुम्भमेलाका लागि जापान उड्ने अघिल्लो दिनसम्म पनि एउटा प्रश्नको लगातार सामना गरिरहनुपर्‍यो, ‘हैन, हुन्छ त टोकियो ओलम्पिक ?’

कोभिड–१९ महामारीका कारण गत वर्ष नै हुनुपर्ने ओलम्पिक स्थगित गरेर यसपालिका लागि मिति तोकिएको थियो । तर महामारीको अवस्था अझै नियन्त्रणमा आइसकेको थिएन । आयोजक राष्ट्र जापानमा त महामारी नियन्त्रणका लागि दैनिक जनजीवनमै धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको थियो । 

त्यसैले ‘हुन्छ त टोकियो ओलम्पिक २०२० ?’ भन्ने प्रश्न अत्यन्तै स्वाभाविक र जायज थियो । खेलकुदका सरोकारवालामात्र होइन, आम मानिसलाई पनि टोकियो ओलम्पिक हुनेमा स्वाभाविक दुविधा थियो । जापान उड्नुअघि मैले पनि पाइला–पाइलामा सामना गरिरहेको त्यो प्रश्न त्यही दुविधाको उपज थियो ।

आम मानिसमा दुविधा भए पनि व्यक्तिगत रूपमा म चाहि“ ३२ औं गृष्मकालीन ओलम्पिक जापानमा यसपल्ट तोकिएकै मितिमा हुनेमा विश्वस्त थिए“ । मेरो विश्वासको कारण थियो, म आफू काम गर्ने प्रशारण संस्था, जो टोकियो ओलम्पिकको नेपालमा आधिकारिक प्रशारण अधिकार खरिदकर्ता थियो । प्रशारण अधिकारवापतको पहिलो किस्ता भुक्तानी गर्न ताकेता भइरहेको मलाई थाहा थियो ।

विश्वास जति भए पनि मन न हो । मनमा केही संशय भने पक्कै थियो । दर्ता भएका ‘एक्रिडेटेड’ विदेशी सञ्चारकर्र्मीलाई तोकिएको होटलमा बस्नैपर्ने बाध्यताबीच सबैभन्दा कम मूल्यको होटल खोज्दाखोज्दै जाने अघिल्लो दिनमात्रै वासस्थानको टुङ्गो लागेको थियो । करिब २५ दिनको टोकियो बसाइ र ओलम्पिक रिपोर्टिङ गरी स्वदेश फर्किएपछि भन्न मनलाग्छ ‘जापान थियो र त ३२ औं गृष्मकालीन ओलम्पिक भयो ।’  

एकहप्ते परीक्षण 

जाने टुङ्गो त लाग्यो । तर त्यसको अन्तिम निर्णय जाने अघिल्लो दिन गरेको पीसीआर परीक्षणको नतिजामा भर पर्नुपर्ने थियो । जापानले कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न जारी गरेको भ्रमण निर्देशिकामा नेपाल रेड जोनको पहिलो दर्जामा उक्लिएपछि जाने सबैसँग लगातार सात दिन तोकिएको स्वास्थ्य संस्थाबाट कोरोना नेगेटिभ नतिजाको प्रमाणपत्र लिनु अनिवार्य थियो ।  

जाने प्रक्रिया सुरु गर्दा दुई दिनको नेगेटिभ प्रमाणपत्र भए हुने स्थिति थियो । तर कोभिड–१९ संक्रमणको दोस्रो लहरले आक्रान्त नेपाल जाने बेलासम्म रेड जोनको माथिल्लो तहमा सूचीबद्ध भइसकेको थियो । जसका कारण हामी सबैको जाने, नजाने निर्णय पीसीआर रिपोर्टले गर्ने भयो । टोकियोका लागि उड्ने अघिल्लो दिन रातिसम्म पनि कसैको यात्रा सुनिश्चित थिएन ।

मोबाइल भरियो एप्लिकेसनले 

टोकियो ओलम्पिकका यात्रीको तयारी जाने १४ दिनअघिदेखि सुरु हुन्थ्यो । त्यसको तयारीस्वरूप यात्रीलाई आवश्यक ज्ञान दिन भ्रमण दलका चिकित्सक डा. नावेशमान प्रधान र नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठले हामी सबैलाई चार थान मोबाइल एप्लिकेसन डाउनलोड गराए ।  

यात्रीमध्ये केहीको त मोबाइलले नै काम गरेन । टोली नेता सेभ दी मिसन रमेशकुमार सिलवालकै चलेन भने अन्य केही साथीको मोबाइलले पनि ती एप्लिकेसन सपोर्ट गरेन । 

अर्को प्रसंग जोडी हालौं, ओलम्पिकको समाचार संकलन गर्नेहरूका लागि मुख्य कार्यस्थल मेन प्रेस सेन्टर (एमपीसी) मा उच्च प्रविधिजडित तीव्र गतिको इन्टरनेट सेवा प्रदान गरिएको थियो । इन्टरनेट प्रयोग गर्नेलाई सोहीअनुरुप सेवा अनि वाईफाई पनि तीव्र गतिकै । मेरो करिब चार वर्ष पुरानो एन्ड्रोइड फोनले मरिगए टिपेन वाईफाई । दुई दिनको असफल प्रयासपछि हेल्प डेस्कमा गुहार माग्न गएको त ‘सर योर फोन डजनट सपोर्ट फाइभजी’ भन्ने जवाफ पाइयो ।   

लासा जानु, कुतीको बाटो 

यात्रा हाम्रो सुदूरपूर्वमा पर्ने जापानको राजधानी टोकियोको थियो, तर टिकट छ नेपालबाट पश्चिम पर्ने कतारको दोहा हुँदै । अरू देशले आफ्ना खेलाडीलाई राष्ट्रिय ध्वजाबाहक विमानमा चार्टर गरी पठाए । नेपाली खेलाडी दोहामा १६ घण्टे ट्रान्जिटमा अनिदो रहिसकेपछि अर्को ११ घण्टा उडेर थकित हुँदै टोकियो पुगे । 

यो मैले पनि भोगेकाले खेलाडीको नाममा उठाउन खोजेको विवाद नभई एक सौहार्द प्रश्नको रूपमा बुझिदिनुहोला । देशका राष्ट्रपतिदेखि रैतीसम्म ओलम्पिकमा सहभागी भएको आलै इतिहास भेटिन्छ । तर किन अरू बेलाभन्दा तीन गुणा बढी भाडा, त्यो पनि राज्यकोषबाट तिरेर जान बाध्य भए खेलाडी अनि परम्परागत रूपमा चार गुणा बढी पदाधिकारी ।  

देशको गौरवसँग जोडिन्छ ओलम्पिक सहभागिता । तर आफ्नो राष्ट्रिय ध्वजाबाहक थला परेर जान नसक्ने अनि मनपरी भाडा असुल्ने विदेशी एयरलाइन्सकै बोलवाला ? किन हुन्छ यस्तो ? यो मेरो नम्र जिज्ञासा मात्र हो । 

फोटो खिच्न सकस 

उद्घाटन समारोह हेर्न करिब तीन घण्टाअघि सञ्चारकर्मीलाई टोकियोको शिन्जुकुस्थित ओलम्पिक रंगशाला लगिएको थियो । 

प्राविधिक रूपमा उत्कृष्ट उद्घाटन समारोहभर आफ्नो ध्यान भने नेपालको झन्डा कति बेला मार्चपासमा आउँछ भन्नेमा बढी केन्द्रित थियो । रिपोर्टरको सूचीमा दर्ता भए पनि एसएलआर क्यामेरा र टेली लेन्स बोकेको थिएँ । 

हामीलाई निर्धारित गरिएको बस्ने स्थानमा क्यामेरा अनि लेन्स देख्ने बित्तिकै द्वारपाल सरी यत्रतत्र छरिएका ओलम्पिक स्वयंसेवकले कर्के नजर लगाइहाल्थे । थाहा नभएको त हैन तर पनि मैले बेलाबेलामा क्यामेरा तेर्साइरहेँ । तर क्यामेरा तेर्साउनेवित्तिकै पछाडिबाट मधुरो आवाज आइहाल्थ्यो ‘नो फोटो सर’ ।

के आपत् आइलाग्यो अब । मार्चपासको झन्डावाला फोटो खिचेर नेपाल पठाउन पाए सबै साथीहरूले आफूले खिचेको फोटो टिभी, अनलाइन, पत्रिकामा मुख्य बनाउँथे भन्ने लोभ मनमा लागिरहेको छ । 

तर दुर्भाग्य मार्चपास गर्ने टोली हामी बसेको ठाउँभन्दा ठ्याक्कै फरक दिशाबाट जाने रहेछ । अटेर गरेरै भए पनि १–२ फोटो त खिचिन्थ्यो, तर कता खिच्ने खोइ ? फोटोग्राफीको भाषामा साइड एंगल र प्रोफाइल शट जस्तो । फेरि नेपालको पालो कतिबेला आउने हो पनि अनुमानै सकिएन ।  जापानी लिपिअनुसार मार्चपास हुने त पढेको थिएँ, तर आफूलाई उनीहरूको लिपि कहाँ आउँथ्यो र ।  

मनमा यस्तै कुरा खेल्दाखेल्दै अचानकै नेपालको झन्डा देखियो । मैले हतार हतार क्यामेरा निकालेर, दुई/चारवटा फोटो खिचिहालेँ, तर रूप न रंगका । के मुख देखाउने साथीभाइलाई । यसैबीच ठूलो डिजिटल स्क्रिनमा फ्रन्ट एंगलबाट ढाका पारीको साडीमा झन्डावाहक गौरिका सिंह र दौरासुरुवालमा सजिएका एलेक्स शाहको नेतृत्वमा नेपाली टोली देखें । यसैले काम चलाएँ मैले । साथीहरूले यता त्यसलाई राम्रै स्थान दिनुभएछ । आभारी छु । फोटोपत्रकार बनिटोपल्ने मेरो लोभ पूरा भयो । 

लगभग सबै खेलस्थलमा त्यही कथा दोहोरियो । पौडीमा त साथी राजु घिसिङले द्वारपाल भएर स्वयंसेवकलाई गफमा भुलाउने अनि मैले फटाफट दुई÷चार क्लिक हानिहाल्ने पनि गरियो ।

महामहिमको अन्तर्वार्ता  

जापान सरकारको नियमअनुसार विदेशी नागरिक १४ दिनसम्म क्वारेन्टाइन पूरा गरेपछि सार्वजनिक सवारी प्रयोग र अन्य बाहिरी सामान्य जीवनयापनका लागि निस्किन मिल्ने थियो । 

यसैबीच जापानका लागि महामहिम नेपाली राजदूत प्रतिभा राणाले ओलम्पिकमा सहभागी नेपाली पदाधिकारीसँग भेटघाट गर्ने इच्छा गर्नुभएको सन्देश प्राप्त भयो । महामहिमको विशेष अनुरोधमा सहभागी पत्रकारसँग भेटघाट अनि अन्तर्वार्ताको कार्यक्रम थियो । तर यसमा मैले एउटा सर्त राखें, नेपाली खाना खुवाउनुपर्ने । त्यो सर्त तत्काल मञ्जुर भयो ।

भेटको सहजीकरण गरेका थिए, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले । घले नेपालमा हुँदा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष थिए । संस्थापक अध्यक्षका रूपमा उनले कास्की र समग्र तत्कालीन पश्चिमाञ्चल हालको गण्डकी प्रदेशमा खेलकुद पत्रकारिताको राजमार्ग फराकिलो पार्न निकै योगदान गरेका थिए । त्यतिबेला पनि घलेसँग नेपाली खेलकुद र पत्रकारिताकाबारे धेरै छलफल हुन्थे । पत्रकारितामार्फत नेपाली खेलकुदलाई कसरी माथि उठाउन सकिन्छ भन्नेमा उनीसँग गरेका लामा छलफल अहिले पनि ताजै छन् । 

तर, अहिले फरक परिस्थितिमा भेट हुने सुखद संयोग जुरेको थियो । अहिले उनी जापानमा बस्ने सम्पूर्ण नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ जापानको नेतृत्वमा छन् । म पनि सम्पूर्ण नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षका हैसियतमा जापान पुगेको थिएँ । अनि कुनै बेला नेपाललाई ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक जित्न कसरी सक्षम बनाउने भनेर घण्टौं घोरिने हामी (घले र म) विश्व खेलकुदकै सबैभन्दा ठूलो मेलामा उपस्थित थियौं, नेपालको निरीह सहभागिताको साक्षी बन्नका लागि ।

दूतावासले नै पठाएको गाडीमा घलेको नेतृत्वमा हामी महामहिम निवास पुग्दा अरू कोही आएका थिएनन् । मैले पनि सुरुमै अन्तर्वार्ता गरौं भनेर क्यामेरा खोलें । करिब आधा घण्टा महामहिमसँग भलाकुसारी गरियो । यता नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठलगायतको टोलीले अन्तर्वार्ता चलेका कारण करिब आधा घण्टा ढोकाबाहिर पर्खिनुपरेछ ।  

अन्तर्वार्ता सकियो । सबै नेपाली प्रतिनिधिमण्डल पनि आइपुगेछ । त्यसपछि महामहिम आफैंले बनाएको नेपाली स्वादको परिकार हामीले जिब्रो फड्कार्दै खायौं । धेरै दिनपछि नेपाली स्वाद फर्कियो मुखमा । मेरो मुख मीठो भए पनि अन्तर्वार्ताका कारण बाहिर कुर्नुपरेका अरूलाई भने त्यो खानाको त्यति स्वाद परेन जस्तो लाग्यो मलाई ।

चुरोट खाने लाइन 

फेरि दोहोर्‍याउन मन लाग्यो । जापान थियो र त ३२ औं गृष्मकालीन ओलम्पिक भयो । कोभिड कहरबीच विश्वभरका ३० औं हजार खेलाडी, पदाधिकारी अनि सञ्चारकर्मीलाई आतिथ्यता प्रदान गर्नु निकै चुनौतीपूर्ण थियो । त्यो पनि देशभित्र विरोध सामना गरेर स्वास्थ्य सुरक्षाको हिसावले सुरक्षित पक्कै थिएन । 

तर त्यस्तो ठूलो आपत् आएन । किनकि जापानी शैलीको धैर्य अनि नियम पालन सबैबाट अपेक्षित थियो । जापानी नागरिकले त गर्ने नै भए सबै विदेशी पाहुनाले पनि त्यसको अनुकरण गरेको देखियो । यतिसम्म कि एमपीसीमा रहेको एकमात्र ‘आउटडोर स्मोकिङ जोन’ अर्थात धुम्रपान क्षेत्रको क्षमता ६ जना रहेछ । खाना खाने समयआसपास झन्डै आधा घण्टासम्म टन्टलापुर घाममा एक खिल्ली चुरोट खाने पालो कुरेर लाइन बसेको लगभग हरेक दिन देख्न पाइयो । 

प्रसंग चुरोटको भए पनि हरेक काम र क्षेत्रमा त्यत्तिकै स–सानो कुरालाई ध्यान दिइएको थियो । हजारौं मान्छेको सहभागितामा पनि कसैले कसैको पालो मिचेको देखिएन । स्वास्थ सतर्कता अनि सावधानी सबैले अक्षरशः पालना गर्न गरे । 

अनि सफलतापूर्वक सम्पन्न भयो टोकियो ओलम्पिक । 

(लेखक नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष हुन्) 

अन्य ब्लग

Image

‘नेपाली खेलकुद ‘ठेकेदार’ हरूको पेवा होइन, सबैभन्दा बढी हक गोपीचन्द्रहरूकै लाग्छ’ 

दीपेन्द्र भट्ट

युरोपियन च्याम्पियनसिप र कोपा अमेरिकाको रोमाञ्चका कारण पूरा विश्वको माहोल फुटबलमय थिय...

Image

झुकेका आँखा नउठाइकनै उनले भने : जय नेपाली खेलकुद

अजय फुयाल

कोभिड १९ को महामारीका कारण देश दुई महिनादेखि निशेधाज्ञाको कहरमा छ । सरकारद्धारा घ...

Image

‘अयोग्य’ मीराको जाज्वल्यमान अल्ट्रा यात्रा

पारिवारिक पृष्ठभूमी, जन्मस्थान, हुर्केको समाजलाई हेर्ने हो भने मीरा राई खेलाडी बन्लिन् भन्ने सायदै कसैले अनुमान गरेको हुन्थ्यो...

\