मंसिर ६, २०८१ बिहीबार | १६:०६:५७
दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुनु खेलाडीप्रति अन्याय होः पूर्व खेलकुद मन्त्री श्रेष्ठ खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो
शनिबारको दिन नेपाली ब्याड्मिन्टन

ब्याडमिन्टनमा जमेकी जेसिका

काठमाडौं । एक दशकअघि झापाबाट पुष्पलाल स्मृति वरीयता ब्याडमिन्टन प्रतियोगिता खेल्न आउँदा जेसिका गुरुङले कुनै दिन नेपालकै शीर्ष महिला खेलाडी बन्ने कल्पनासम्म गरेकी थिइनन् ।

तर, आफ्नै पिताको प्रशिक्षणमा खेलजीवन हुर्काइरहेकी जेसिकाले १५ वर्षमुनिको त्यही प्रतियोगितामा उपाधि जितिन् । पहिलो पटक राष्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिँदा नै जितेको त्यो उपाधिले ब्याडमिन्टनमा उनको सुनौलो भविष्य संकेत गरेको थियो । जसको प्रमाण उनको अहिलेको वरीयता हो । शीर्ष महिला ब्याडमिन्टन खेलाडी ।

नेपाली खेलकुदमा फुटबल, क्रिकेट र भलिबललगायतका टिम खेलको तुलनामा एकल स्पर्धाहरू लोकप्रिय छैनन् । कोर्टमा रोमाञ्चक र्याली भइरहँदा पनि खेलाडीलाई हौस्याउन प्यारापिटमा उल्लेख्य संख्याका समर्थक हुँदैनन् । अत्यावश्यक सेवासुविधा पनि नेपाली खेलाडीका लागि आकासको फल हो ।

तस्बिर सौजन्यः दामोदर अर्याल

तर, जेसिकाको हकमा भने फरक छ । खेल जीवनलाई निरन्तरता दिनका लागि उनलाई ठूलो संख्याका समर्थक र आकर्षक सेवासुविधा पक्कै पनि छैन । यद्यपि खेल्नका लागि आवश्यक सबथोक उनले आफ्नै परिवारबाट पाएकी छन् । आमाबाबा र दिदीबहिनीको भरपुर साथले विभिन्न खाले समस्यामा पनि उनले खेलजीवनलाई निरास हुनै नदिई अगाडि बढाइरहेकी छन् ।

झापा काँकडभिट्टाकी स्थायी बासिन्दा जेसिकाको घरमा ब्याडमिन्टनको राम्रो माहोल थियो । उनका बुवा रमेश आफै ब्याडमिन्टन खेल्थे । बुबासँगै जेसिका पनि सानै उमेरदेखि यो खेलमा रम्न थालेकी हुन् ।

१२-१३ वर्षको उमेरबाटै पिताको पथ पछ्याउँदै जेसिकाले ब्याडमिन्टनमा पाइला चालेकी थिइन् । रमेश नै जेसिकाका पहिलो गुरु हुन् । पिताको प्रशिक्षणमा र्याकेट चलाउन थालेकी उनले स्कुलले जीवनदेखि नै ब्याडमिन्टन खेल्न थालेकी थिइन् । ब्याडमिन्टनमा पिताको विरासतलाई निरन्तरता दिनेमा दिदी र बहिनीले चासो देखाएनन् । तर पितासँग खेल्ने क्रममै लजालु जेसिकाको भने ब्याडमिन्टनसँग माया बसिसकेको थियो ।

तस्बिर सौजन्यः दामोदर अर्याल

ब्याडमिन्टन सँगसँगै पढाइलाई पनि निरन्तरता दिएकी जेसिकाले स्नातकसम्मको अध्ययन पूरा गरिसकेकी छन् । बैंकर बन्ने सपना पछ्याएकी उनी खेल र पढाइ अझै अगाडि बढाउने सोचमा छिन् ।

‘खेल मेरो लगाव हो । बाबाले दिनुभएको एउटा सुन्दर उपहार हो । त्यसैले ब्याडमिन्टन मेरो जीवनशैली हो । तर, यसैबाट मात्र जीवन चलाउन सम्भव छैन । जीवन चलाउनका लागि अन्य पेसामा जानुपर्छ । बैंकिङ मलाई मनपर्ने पेसा हो,’ जेसिका भन्छिन्, ‘त्यसका लागि खेल र पढाइ सँगै अगाडि बढाउनुपर्छ ।’

जेसिकाले राष्ट्रिय टोलीबाट दुई दर्जन बढी प्रतियोगिता खेलिसकेकी छन् । तर, पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सहज थिएन । लगातार कडा मिहिनेत गर्दै उनले सन २०१६ मा भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् ।

तस्बिर सौजन्यः दामोदर अर्याल

‘राष्ट्रिय टोलीमा पर्न हरकोही सफल हुँदैनन् । कडा मिहिनेतपछि म टोलीमा परेकी थिएँ । पहिलो पटक राष्ट्रका लागि खेल्दा निकै खुसी लागेको थियो । त्यतिबेला हामीले कांस्य पदकमा चित्त बुझाउनुपरेको थियो । स्वर्ण वा रजत जित्न नसक्दा निकै दुःख लागेको थियो ।’

१२औं सागका लागि राष्ट्रिय टोलीमा परेपछि जेसिकाले ब्याडमिन्टन करियरमा फेरि पछाडि फर्केर हेर्नुपरेको छैन । सन २०१७ मा इन्डोनेसियामा भएको ‘वर्ल्ड जुनियर महिला डबल्स च्याम्पियनसिप’मा सहभागिता जनाउने नेपाली टोलीमा पनि उनी थिइन् । जहाँ एकलतर्फ क्यानडाकी तालिया एन्जीसँग २१-७, २१-६ ले पराजित हुँदै उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन् । डबल्समा रसिला महर्जन र जेसिकाको जोडी ताइवानी जोडीसँग २१-८, २१-८ ले पराजित भएको थियो ।

‘अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा हाम्रो स्तर निकै पछाडि छ । हामीले पर्याप्त मात्रामा प्रशिक्षण पाइरहेका हुँदैनौं । राष्ट्रिय खेलाडीलाई पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदामात्र प्रशिक्षणमा राखिन्छ । नियमित सफलता हात नलाग्नुको खास कारण यही हो,’ जेसिका गुनासो गर्छिन्, ‘राष्ट्रिय टोलीमा पर्दासम्म त जेनतेन खेल्न पाइन्छ । तर टोलीमा पर्न नसकेका बेला आवश्यक संख्यामा खेल्न पनि पाइन्न । त्यसैले नयाँ पुस्ताले यो खेलमा भविष्य देखिरहेका छैनन् ।’

तस्बिर सौजन्यः दामोदर अर्याल

खेल करियर अगाडि बढाउने क्रममा सन् २०१८ मा उनी सशस्त्र प्रहरी बल (एपिएफ)को जागिरमा प्रवेश गरिन् । जसले ब्याडमिन्टनमै निरन्तरता दिन जेसिकालाई थप सहज भयो । त्यसअघि उनले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट पनि खेलिसकेकी थिइन् ।

उनले एपिएफबाट २०१९मा पहिलो पटक आठौं पुष्पलाल स्मृति वरीयता ब्याडमिन्टन प्रतियोगिता खेलेकी थिइन् । उनले एपिएफबाट प्रथम मेयर कप, सातौं र दसौं पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि जितिसकेकी छन् । जेसिका हालै मात्र राष्ट्रिय वरीयतामा ठूलो छलाङ मार्दै शीर्षस्थानमा उक्लिन सफल भएकी छन् । १८ वर्षीया रसिला महजर्नलाई पछाडि पार्दै उनी शिर्षस्थानमा उक्लिएकी हुन् ।

जेसिका आफ्नो जीवनकै सबैभन्दा उत्कृष्ट क्षण को रूपमा सातौं पुष्पलाल स्मृति वरीयता ब्याडमिन्टन प्रतियोगितालाई लिन्छिन् । उनी सम्झन्छन्, ‘मैले सातौं पुष्पलाल स्मृति वरीयता ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा नङसल दिदी (तामाङ) लाई पराजित गरेको थिएँ । प्रतियोगिताको फाइनलमा रसिला महर्जनलाई पराजित गर्दै उपाधि जितेकी थिएँ ।’

तस्बिर सौजन्यः दामोदर अर्याल

त्यसपछि सन् २०२१ मा राष्ट्रिय प्रतियोगिता दौरान खुट्टामा चोट लागेपछि उनी चार महिना कोर्टबाहिर सीमित भइन् ।

‘तीन/चार महिनापछि खेलमा फर्किए पनि मैले राम्रो प्रर्दशन गर्न सकिनँ । मेरो खेल खस्किँदै गइरहेको थियो । करिब साढे एक वर्षपछि मुख्यमन्त्री कपमा मात्र मैले पहिलो उपाधि जितें,’ उनले स्मरण गरिन् ।

यसै वर्ष चीनको हाङ्झाउमा हुने एसियाली खेलकुद उनको आगामी लक्ष्य हो । त्यसका लागि खेलाडीहरूलाई नियमित प्रशिक्षणको व्यवस्था गराउन उनी नेपाल ब्याडमिन्टन संघको ध्यानाकर्षण गराउन चाहन्छिन् । नयाँ खेलाडीलाई आकर्षित गरिरहन पनि ब्याडमिन्टन संघ थप चलायमान हुनुपर्ने उनको राय छ ।