भलिबल

प्रगतिपथमा भलिबलकी प्रगति

तस्बिर सौजन्यः राम गुरुङ

काठमाडौं । नेपालमा भलिबल राष्ट्रिय खेलको रूपमा परिचित नै छ । नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबल मन नपराउने सायदै होला । स्कुलमा होस् या कलेजमा सबैले कुनै न कुनै उमेरमा भलिबल खेलेकै हुन्छन् । नेपालमा पनि भलिबलप्रतिको ‘क्रेज’ उतिकै मात्रामा पाइन्छ । भलिबलप्रतिको मोह पुरुषमात्र नभएर महिलाप्रति पनि उत्तिकै देख्न सकिन्छ ।

नेपालमा महिला भलिबलको आगमन भएको दशक नै बितिसक्यो । भलिबलमा महिला सहभागिताले छुट्टै आयाम थपेको छ । महिला भलिबललाई उजागर गर्दै दर्शकको मनमस्तिष्कमा बस्न सफल क्लब हो होङ्वान्जी न्यु डायमन्ड युथ स्पोटर्स क्लब । कुमार राईले न्यु डायमन्डको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनले विभिन्न जिल्लाबाट महिला खेलाडी पहिचान गरी न्यु डायमन्डमा प्रशिक्षणसहित पठनपाठनको व्यवस्था मिलाइरहेका छन् ।

२०७६ साल असोज महिनामा उनी १५ दिनका लागि भलिबलको प्रशिक्षण दिन पूर्वी रुकुम जाँदा दसैं नवमीको दिन परेकाले गाडी बन्द थियो । उनी उतै बस्नसपर्ने भयो । आफ्नै घरमा बस्ने ललिता (नाथ) को आग्रहलाई उनले नकार्न सकेनन् । ललिताको घर रुकुम पश्चिम हो । ललितालाई पनि उनले नै प्रशिक्षण दिएका थिए ।

संयोगले ललिताको कान्छा काकाको छोरी प्रगति नाथ पनि त्यहाँ आएकी थिइन् । कुमार गुरुको खेलकुद नजर प्रगतिमाथि परिहाल्यो । हेर्दा अग्लो कदकी उनी ठ्याक्कै भलिबल खेलाडी बन्न लायककी थिइन् । कुमार गुरुको चिनजान ललिताको परिवारसँग पहिलेदेखि नै थियो । प्रगतिलाई पनि आफूले काठमाडौं लैजान चाहेको बताए । तर, प्रगतिको परिवारले उक्त प्रस्ताव सहजै अस्वीकार गरेका थिए ।

तस्बिर सौजन्यः राम गुरुङ

प्रशिक्षक राईले सुनाए, ‘प्रगतिको परिवार म माथि आर्थिक बोझ थप्न चाहँदैन थियो । तर, प्रगतिको भने भलिबल खेलाडी बन्ने चाहना थियो । त्यसैले उनको सोचअगाडि परिवारको जोड चलेन । मैले प्रगतिको परिवारलाई कन्भिन्स गरें । प्रगति २०७६ साल कात्तिकपछि काठमाडौं आइन् ।’ 
त्यसलगत्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) को महामारी तीव्र रूपमा फैलिएपछि देश नै लकडाउनमा गयो । तथापि प्रगतिले भने लकडाउनको भरपूर सदुपयोग गरेर न्यु डायमन्ड रहेर आफूलाई भलिबलमा निखारिन् ।

‘प्रगतिले चनाखो भएर खेल्नु आवश्यक छ । उनीसँग राम्रो खेल्ने क्षमता छ । अलिकति मिहिनेत गरेर खेले भोलिका दिनमा देशलाई राम्रो योगदान दिनेमा दुईमत नै छैन,’ प्रशिक्षक राईले उनको क्षमताबारे सुनाए ।

यसपालि न्यु डायमन्ड क्लब सातौं एनभिए महिला तथा पुरुष राष्ट्रिय च्याम्पियनसिपमा उपविजेतामा सीमित रह्यो । टोली साबिक विजेता हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक फाइनल भिडन्तमा न्यु डायमन्ड विभागीय टोली नेपाल पुलिस क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो ।

पहिलो सेटमा २५-२२ ले आफ्नो पक्षमा पारेको न्यु डायमन्ड दोस्रो सेट २५-१७ ले गुमायो । तेस्रो सेट २५-२७ ले न्यु डायमन्ड जित्यो । तर चौथो सेट २५-१९ ले पुलिसलाई सुम्पेपछि खेल २-२ को बराबरी स्थितिमा अगाडि बढ्यो । पाँचौं तथा निर्णायक सेटमा पुलिसले १५-११ ले बाजी मार्दै उपाधि कब्जा गरेको हो । यो पुलिसले दशकपछि जितेको उपाधि हो ।
 

तस्बिर सौजन्यः राम गुरुङ


न्यु डायमन्डले आफ्नो महत्त्वपूर्ण खेलमा अनुभवी कप्तान ललिता नाथलाई बेन्चमा राखेर अग्लो कदकी सुमित्रा रेग्मीलाई खेलाएको थियो । ललिता चोटबाट गुज्रिँदा सुमित्रा उचाइ बढी भएकै कारण प्रशिक्षक राईको रोजाइमा परेकी थिइन् ।

ललिताकै बहिनी प्रगति नाथले प्रशिक्षकको दिएको सेटरको जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरिन् । यद्यपी सुरुवाती दिनहरूमा प्रगतिलाई स्पाइकरको पोजिसनमा खेलाइएको थियो । तर,  महिला राष्ट्रिय भलिबलका कप्तान अरुणा शाहीले न्यु डायमन्ड छाडेसँगै सेटरको पोजिसन खाली भयो । त्यसपछि प्रगतिलाई सेटरको रूपमा खेलाउन थालिएको हो । 

मध्यमवर्गीय परिवारमा हुर्किएकी प्रगति सबैको साथ र मायाकै कारण भलिबलमा लाग्न थप हौसला मिलेको बताउँछिन् । प्रगतिलाई आमाबुवा, दिदीबहिनी, भाइ, हजुरआमा सबैको साथ छ । सानैदेखि भलिबलमा लाग्ने रूचि खासै नभए पनि विस्तारै भलिबलप्रति मोह जाग्दै गएको हो । उनले पढाइ पनि खेलसँगै अघि बढाउँदै आएकी छन् ।

भलिबल खेलेर आफूलाई चिनाउने प्रगतिको एउटै लक्ष्य छ । उनी भन्छिन्, ‘घरपरिवारको साथ मिलेकै छ । अझै मिहिनेत गर्देै आफूलाई राष्ट्रिय टोलीमा स्थान बनाउनुु छ । राष्ट्रका लागि खेल्न चाहन्छु । म कक्षा १० मा पढिरहेको छु । पढाइसँगै खेल अगाडि बढाइरहेको छु । विस्तारै यात्रा सुरु गर्दै छु । अझै आफूलाई अब्बल बनाउँदै लैजान कोसिस गर्ने छु ।’

तस्बिर सौजन्यः राम गुरुङ

प्रशिक्षक कुमार राईले भलिबल खेलाडी बन्ने खुबी प्रगतिमा देखेपछि १४ वर्षको उमेरमा उनलाई न्यु डायमन्ड क्लबमा आबद्ध गराए । उनले पहिलो पटक न्यु डायमन्डबाट पोखरामा टाइगर कप खेलेकी थिइन् । त्यसपछि विभिन्न प्रतियोगिता खेल्दै अझै आफूलाई सवल पारिरहेकी छन् । 
गत वर्ष न्यु डायमन्ड एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको थियो ।

करिब तीन वर्षपछि न्यु डायमन्ड च्याम्पियन बन्दा प्रगति पनि टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । यसपालि डायमन्डले उपविजेतामै चित्त बुझाए पनि प्रगतिले आफूलाई अब्बल साबित गर्न कहीँकतै चुकिनन् ।

पोखरामा अहिले भइरहेको तेस्रो टाइगर कप आमन्त्रित खुला च्याम्पियनसिप भलिबलको सेमिफाइनलबाटै प्रगतिसम्मिलित न्यु डायमन्ड टिम बाहिरिइसकेको छ । दोस्रो सेमिफाइनलमा विभागीय टोली आर्मीसँग न्यु डायमन्ड ३-१ को सेटमा पराजित भएको थियो ।

तस्बिर सौजन्यः राम गुरुङ