भलिबल, सायद नेपालको सबैभन्दा लोकप्रिय खेल । त्यसैले त हो यसले राष्ट्रिय खेलको मान्यता पाएको । भौगोलिक रूपमा पूरा पहाडै पहाडले ढाकेको देशमा जतासुकै खेल्न मिल्ने माटो सुहाउँदो भएकाले पनि हो, यसलाई राष्ट्रिय खेलको सम्मान दिइएको ।
देशका ७७ वटै जिल्लामा खेल्न सकिने ‘टिम गेम’ भएकाले यो खेलसँग अधिकांश नेपालीको आत्मीयता गाँसिएको छ । त्यसमा राष्ट्रिय खेलको मान्यता थपिएपछि यो खेल झनै विशेष बनेको छ ।
|
भलिबलको लोकप्रियता, जहाँसुकै खेल्न सकिने माटो सुहाउँदो हुनुको विशेषता, तुलनात्मक रूपमा अन्य खेलभन्दा सस्तो र जोसिलो भएकाले यो खेलको सम्भावना नेपालमा राम्रो छ । राज्यले राष्ट्रिय खेलको मान्यता त्यही सम्भावना मध्यनजर गरेर दिएको थियो । उसै लोकप्रिय खेलले राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाली भलिबलको उचाइ र स्तर झनै बढ्ने धेरैको विश्वास थियो ।
तर, भलिबल हाँक्ने चालकहरूको कमजोर सुझबुझ तथा व्यक्तिगत स्वार्थकेन्द्रित गतिविधिका कारण यो खेल जहाँको त्यहीँ छ । अझ पछाडि धकेलिँदै छ भन्न पनि धेरै हिच्किचाउनु पर्दैन । संस्थागत रूपमा भलिबल विकासको गति अझै कछुवाकै जस्तो छ । प्रशासनका साथै कोर्टमा पनि निरीह रूपमा प्रस्तुत हुँदै आएको भलिबलमा अहिले पदाधिकारीबीच चहलपहल ह्वातै बढेको छ ।
उसो त, नेपाल भलिबल संघको कार्यकाल सकिएको दुई वर्ष भइसक्यो । तर, कोभिड–१९ को महामारी, नयाँ खेलकुद ऐनअनुसार संघको विधान बनाउनुपर्ने बाध्यता र राष्ट्रिय खेलकुद परिषदको निर्देशनका कारण भलिबललगायत थुप्रै राष्ट्रिय खेल संघहरूले कार्यकाल सकिए पनि नयाँ निर्वाचन गर्न पाएका छैनन् ।
कार्यकाल सकिनु र नयाँ निर्वाचन गर्न नपाउनुमात्र नेपाली भलिबलको समस्या होइन । नेपाली भलिबलले सम्बोधन गर्नुपर्ने सबैभन्दा ठूलो कुरा भनेको संघको काम गर्ने तरिका, आवश्यकताअनुसारका गतिविधि र समग्रमा संघको सक्रियता हो । जुन हुन सकिरहेका छैनन् । देख्नमा निजी क्षेत्रबाट वा सामुदायिक प्रयासमा भइरहेका थुप्रै प्रतियोगिताको भिडले भलिबललाई चलायमान देखाउला । महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेका सफलताले पनि गौरवान्वित बनाउला । तर नेपाली भलिबलले चाहेको त्यतिमात्र होइन । यहाँको आवश्यकता त समग्रतामा भलिबलको विकास हो ।
पोखरामा यसै साता भएको सातौं पूर्णकालीन बैठकबाटै संघको सक्रियता मूल्यांकन गर्न सकिन्छ । नयाँ अधिवेशन गर्न २ वर्ष ढिला हुँदा समेत संघको पूर्णकालीन बैठक सातपल्ट मात्र बसेको छ । यसले संघ संस्थागत रूपमा कति कमजोर भन्ने एउटा आधार पेस गर्छ । पोखरा बैठकले असारको १० गतेसम्म जिल्ला र प्रदेशको निर्वाचन गराउने योजना बनाएको छ । त्यसपछि आगामी चार वर्षका लागि नेपाली भलिबलको नेतृत्व गर्नका लागि केन्द्रको निर्वाचन हुने भएको छ ।
|
केन्द्रको निर्वाचन गर्नुअघि राष्ट्रिय खेलकुद परिषद तथा अन्तर्राष्ट्रिय भलिबल महासंघको रोडम्यापअनुसार संघको विधान संशोधन भइसक्नुपर्नेछ । त्यसैले होला केन्द्रको चुनाव गर्ने मिति अहिलेसम्म घोषणा गरिएको छैन । निर्वाचनको मिति घोषणा नभए पनि नेपाली भलिबललाई त्यसले हक राख्ने गन्तव्यमा पुर्याउने प्रतिबद्धतासहित अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष निरोज मास्केले उम्मेदवारी भने घोषणा गरिसकेकी छन् । भलिबल संघको आगामी निर्वाचनका लागि अहिलेसम्म उम्मेदवारी घोषणा गर्ने मास्के एक्लो पदाधिकारी हुन् ।
संघको कार्यसमितिमा सदस्य, कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षका रूपमा काम गरिसकेकी मास्के नीतिगत र कार्यगत दुवै रूपमा नेपाली भलिबललाई चलायमान बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउँछिन् ।
‘विभिन्न भूमिकामा रहेर काम गरिसकें । धेरै अनुभव बटुल्ने मौका पाएँ । भलिबल नेपालमा धेरै सम्भावना बोकेको खेल हो । अहिले त राष्ट्रिय खेलको मान्यता पाएपछि झनै यसको सम्भावना बढेको छ । तर मूल नेतृत्वले सही तरिकाले काम गर्न नसक्दा भलिबल जहाँ पुग्नुपर्ने हो, त्यहाँ पुग्न सकेको छैन,’ मास्केले खेलाडीसँगको कुराकानीमा भनिन्, ‘त्यसैले भलिबललाई सही गन्तव्यमा पुर्याउनका लागि मैले मूल नेतृत्वमै दाबी गरेकी हुँ । संघमा भए पनि कतिपय नीतिगत निर्णय र योजना कार्यान्वयनका लागि नसकिँदो रहेछ । अध्यक्ष नै हुनुपर्ने रहेछ ।’
नेपाली भलिबलको विकासमा निरन्तर योगदान गरिरहेकी मास्केको उम्मेदवारीलाई खेलाडीहरूले यो खेलका लागि ठूलो क्रान्तिका रूपमा हेरेका छन् । राष्ट्रिय टोलीका एक खेलाडी भन्छन्, ‘निरोज दिदी सधैं भलिबल र खेलाडीलाई केन्द्रमा राखेर काम गर्ने मान्छे हो । उहाँ भलिबलबाट लिन भन्दा पनि यो खेललाई केही दिनका लागि आउनुभएको हो । उहाँले अध्यक्षमा उम्मेदवारी दिने कुरा गरेदेखि नै हामी निकै उत्साही छौं । उहाँले जितेर नेपाली भलिबललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा माथि उचालेको हेर्ने र आफू पनि त्यसको हिस्सा बन्ने इच्छा छ ।’
मास्केका अनुसार आफूलाई पाका भलिबलकर्मी तथा पदाधिकारीहरूको पनि साथ छ । आफूलाई वर्तमान संघको संस्थापन पक्षको उम्मेदवार मान्ने मास्केले पूर्व अध्यक्षहरू गंगाबहादुर थापा र दानबहादुर तामाङको पनि साथ रहेको बताइन् ।
‘म संस्थापनको उम्मेदवार हुँ । मलाई गंगा दाइ, दान दाइ र अरू सिनियर दाइहरूको पनि साथ छ । यतिमात्र होइन, म आफूलाई खेलाडीहरूको उम्मेदवार भन्न रूचाउँछु । मेरो उम्मेदवारीले खेलाडी र प्रशिक्षकहरू झनै बढी उत्साहित हुनुहुन्छ,’ उनले भनिन्, ‘मैले चार वर्षअगाडि नै नेपाली भलिबलमा केही गर्ने हो भने नेतृत्वमै हुनुपर्छ भन्ने बुझेर आउँदो चुनावमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी थिएँ । त्यो बेलादेखि नै मलाई पाका पदाधिकारी र खेलाडीहरूले हौस्याउनुभएको हो ।’
|
मास्के आफ्नो उम्मेदवारीलाई नेपाली भलिबलको संस्थागत विकास र खेलको व्यवसायिकताका लागि अपरिहार्य मान्छिन् । सही ढाँचाका प्रतियोगिताहरू नहुनु, भौतिक पूर्वाधारमा शून्यको अवस्थामा रहनु, भलिबललाई देशव्यापी रूपमा संगठित तरिकाले विस्तार नगरिनुलाई मास्के भलिबलले नेपालमा सोचेजस्तो सफलता हासिल गर्न नसक्नुको कारण मान्छिन् ।
खेलाडीलाई समस्या पर्दा सहयोगमा नहिच्किचाउनुका साथै हौसला बढाउन पनि व्यक्तिगत रूपमै अघि सर्ने कारण मास्के खेलाडीकी प्रिय पदाधिकारी हुन् । व्यक्तिगत लगानीमा उनले पहिलो पटक चितवनको सौराहामा राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता गरेकी थिइन् । त्यसपछि संघमा महिला भलिबल कमिसन र बिच भलिबलको सम्भावनाबारे खोजी कार्य सुरु भएको थियो । मास्केले बिच भलिबल आयोजना गरेपछि नेपालगन्ज लगायतका विभिन्न स्थानमा बिच भलिबल प्रतियोगिता हुन थालेका थिए । संघले पनि यसलाई पछि निरन्तरता दिने प्रयास गरेको थियो ।
दुई महिनाअघि निरोज मास्केको नेतृत्वमा सञ्जय मेमोरियल फाउन्डेशनको आयोजनामा पाल्पाको रानीमहलको किनारामा एउटा महत्त्वाकांक्षी प्रतियोगिता सम्पन्न भयो । जसले त्यहाँको पर्यटकीय सम्भावना थप बलियो बनाउँदै बहसको विषय बनाएको छ ।
रानीमहलमा भएको बिच भलिबलले खेलकुदलाई पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासमा सघाउने माध्यमका रूपमा चिनाएको थियो । मास्केले सञ्जय मेमोरियल फाउन्डेशनबाट सामाजिक सेवाका कामसँगै भलिबलको क्षेत्रमा काम गर्दै आएकी छन् । फाउन्डेशनले हरेक वर्ष नेपाली भलिबल क्षेत्रमा विशेष योगदान पुर्याएका र सफलता हासिल गरेका महिला र पुरूष खेलाडीलाई सम्मान गर्दै आएको छ । त्यस्तै फाउन्डेशनले शिक्षाका क्षेत्रमा अनाथ बालबालिकालाई अध्ययन गर्न, वृद्धवृद्धालाई सहयोगदेखि लिएर तराईका बाढीपीडित जनतालाई सहयोग गर्दै आएको छ ।
मास्के भलिबल खेलको विकासका लागि सबैभन्दा पहिला संघको संस्थागत विकास जरुरी देख्छिन् । ‘खेलको विकास योजनावद्ध रूपमा हुने कुरा हो । संगठनलाई चलायमान र बलियो बनाएर जानुपर्छ । तर पछिल्लो समय हामी झन संस्थागत रूपमा कमजोर हुँदै गएका छौं । भलिबल संघको सबै जिल्लामा संगठन छ । धेरै जिल्लाका संघहरू निस्क्रिय छन् । केही सीमित क्लब र विभागीय क्लबको भरमा नेपाली भलिबल चलेको छ । अब राष्ट्रिय खेललाई हामीले देशभर सक्रिय बनाउनुपर्छ,’ मास्के आफ्नो योजना सुनाउँछिन्, ‘हामीले सबै जिल्ला संघ, त्यहाँका पदाधिकारी, क्लब र त्यहाँका पदाधिकारी, खेलाडी, प्रशिक्षक, रेफ्रीहरूको अनलाइन डेटा राख्नुपर्छ । राष्ट्रिय खेल भएपछि सबै पालिकाहरूसम्म भलिबललाई संगठित रूपमा पुर्याउनुपर्छ । त्यसो भयो भने हामीले देशका प्रत्येक कुनाकाप्चाबाट प्रतिभावान खेलाडीहरू नेपाली भलिबलको मूलधारमा ल्याउन सक्छौं । त्यो भनेको हाम्रो जिल्ला, प्रदेश र अन्ततः राष्ट्रिय टिम नै बलियो बनाउने आधार हो ।’
त्यसभन्दा पहिला भौतिक पूर्वाधारमा पनि संघले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता उनले औंल्याइन् । ‘भलिबल राष्ट्रिय खेल भए पनि यसको अवस्था अहिले दयनीय छ । हामीसँग एउटा कभर्डहलसमेत छैन । भर्खरै बजेट आयो, त्यसमा भलिबलको उच्चारणसमेत भएन । यो भनेको हाम्रो नेतृत्वले प्रभावकारी तरिकामा सरकारलाई बुझाउन नसकेको कुराको प्रमाण हो,’ मास्केले भनिन्, ‘त्यसैले हामीले सबैभन्दा पहिला भलिबललाई जिल्लादेखि केन्द्रसम्म भौतिक पूर्वाधारले सुसज्जित बनाउने बाटोमा अभियान थाल्नुपर्छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका साथै निजी क्षेत्रलाई पनि अभियानमा समेट्नुपर्छ ।’
राज्यले भलिबलका लागि लगानी गरे पनि संघले त्यसको सही सदुपयोग गर्न नसकेको उनको बुझाइ छ । नेतृत्वले भलिबललाई केन्द्रमा राखेर काममात्र गर्ने हो भने चार वर्षको कार्यकालमा यो खेललाई पूर्वाधारको दृष्टिले सम्पन्न बनाउने, पर्याप्त मात्रामा ट्रेनिङ सेन्टरहरू सञ्चालन गर्ने, प्रतिभा खोजका संगठित कार्यक्रमहरूमार्फत राष्ट्रिय टोली बलियो बनाउने र व्यावसायिक भलिबलका लागि घरेलु संरचना बलियो बनाउने काम सम्भव हुने उनको विश्वास छ ।