काभा पुरुष च्याम्पियनसिप

अनुभवमै सीमित भलिबलको यात्रा

काठमाडौं । दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा फर्किएको नेपाली राष्ट्रिय भलिबल टोली यतिबेला किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेलिरहेको छ ।

नवनियुक्त कप्तान हरिहजुर थापाको नेतृत्वमा टोली बिस्केक पुगेको छ । २०७८ मंसिर बंगलादेशमा भएको एसियन पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितापछि नेपाल पहिलो पटक कोर्टमा फर्किएको हो ।  

प्रतियोगिता जित्नभन्दा पनि नेपाल सहभागिता र अनुभव बटुल्न नै त्यहाँ पुगेको हो । एसियाका महारथीहरू इरान, मंगोलिया र किर्गिस्तान जस्ता टोली सहभागी हुँदा स्वभाविक रूपमा उपाधि आस थिएन । कम्तीमा वरीयतामा सुधार गर्ने नेपाली टोलीको लक्ष्य हो ।

बिस्केकस्थित स्पोर्टस एन्ड रिक्रिएसन कम्प्लेक्समा चालु प्रतियोगितामा ५ खेल खेल्दा नेपाल जितविहीन छ । खेललाई चार सेटसम्म लम्ब्याउन नै नेपाली टोलीको ठूलो उपलब्धि बनिरहेको छ । नेपालले आइतबार प्रतियोगिताको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्नेछ ।

नियमित कप्तान इम रानामगर बढ्दो उमेरसँगै टोलीबाट बाहिर रहँदा ३१ वर्षीय हरिहजुरले पहिलो पटक टोलीको नेतृत्व जिम्मेवारी पाएका छन् । सेटर हरि राष्ट्रिय टोलीको १०औं कप्तान हुन् । इमले आठ वर्ष नेपालको कप्तानी गरेका थिए । त्यसअघि भरत शाहले सबैभन्दा लामो समय १६ वर्ष कप्तानी आर्मब्यान्ड लगाएका थिए ।

काभा प्रतियोगितामार्फत चार खेलाडीले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका छन् । मिडब्लकर सफल विश्वकर्मा, स्पाइकर हेमन्तबहादुर मल्ल, लिबेरो भीम गाहा मगर र सेटर लोकेन्द्र गिरीले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । सेन्ट्रल जोनपछि रोबिन चन्दले पुनरागमन गरे । इमसँगै भैरवबहादुर बम, विशाल बिक र सरन सामरी क्षेत्री टोलीबाट बाहिर रहन पुगे ।

नेपाली टोलीका कप्तान हरिहजुर प्रतियोगितामा राम्रो अनुभव बटुलेको बताउँछन् । ‘हामी प्रतियोगितामा जितविहीन छौं । हार-जित आफ्नो स्थानमा छ । तर, बलिया टोलीसँग खेल्दै निकै राम्रो अनुभव बटुल्यौं,’ कप्तान हरिले खेलाडीसँग भने ।

हरिले ब्लक र डिफेन्समा कमजोर प्रदर्शन गर्दा नतिजा आफ्नो पक्षमा पार्न नसकेको पनि सुनाए । ‘हाम्रो ब्लक र डिफेन्समा सोचेजस्तो राम्रो हुन सकेन । जसका कारण नतिजा आफ्नो पक्षमा पार्न सकेनौं ।’

मंगोलियासँग सुरुआती हार 

गत आइतबार नेपालले पहिलो खेल मंगोलियासँग खेल्यो । बिस्केक पुगेको दोस्रो दिनको खेलमा नेपाल ३-१ को सेटमा पराजित भएको हो । नेपालले लगातार दुई सेट गुमायो । पहिलो सेट १९-२५ र दोस्रो सेट २०-२५ ले गुमायो । तेस्रो सेटमा २७-२५ ले पुनरामगन गर्दै आस जगाएको थियो । तर, चौथो सेट २०-२५ ले गुमाएपछि नेपाल सुखद सुरुआतबाट टाढा रह्यो । पहिलो खेलमा भीम, हेमन्त र लोकेन्द्रले डेब्यु गरेका थिए ।

सम्हालिन सकेन 

दोस्रो खेलमा किर्गिस्तानविरुद्ध नेपाल ३-१ सेटमै पराजित भयो । पहिलो सेटमा पछि परेको नेपाल दोस्रो सेटमा भने फर्किएको थियो । त्यसपछिका दुई सेट गुमाउँदा नेपाल लगातार दोस्रो हार बेहोर्न पुग्यो । पहिलो सेटमा किर्गिस्तान २४-२६ ले विजयी भयो । पहिलो सेटमा कडा टक्कर दिएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो सफल भयो । 

मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि, रविन, भीम र टेकराज अवस्थीले उत्कृष्ट प्रदर्शन दिएका थिए । तर, तेस्रो सेटले १८-२५, चौथो सेट १६-२५ ले गुमायो । यस खेलमार्फत मिडब्लकर सफल विकले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरे । चौथो सेटमा नेपाल १६-२४ ले पछि रहेको स्थितिमा सफलले हरि अधिकारीको स्थानमा कोर्ट प्रवेश पाएका थिए ।

तीन दिनमा तेस्रो हार 

मंगलबार सम्पन्न खेलमा बलियो टोली इरानसँग नेपाल ३-० को सोझो सेटमा पराजित भयो । इरानविरुद्ध नेपाल कुनै पनि पोजिसनमा सफल भएन । रिसिभ, डिफेन्स, ब्लकमा सबैमा असफल देखियो । नेपालले पहिलो सेट १६-२५ ले गुमायो । बाँकी दुई सेटमा बलियो इरानमाथि चुनौती थप्यो । तर, दोस्रो र तेस्रो सेट समान २२-२५ ले विपक्षीलाई सुम्पियो ।

तुर्कमेनिस्तानसँग सम्हालिएको खेल

चौथो खेलमा तुर्कमेनिस्तानसँग सम्हालिएर खेले पनि नेपाल लगातार चौथो हार बेहोर्न बाध्य भयो । अन्य टोलीको तुलनामा तुर्कमेनिस्तानसँग नेपालले बलियो प्रतिस्पर्धा गरेको थियो । नेपाल ३-१ को सेटमा पराजित भयो । पहिलो सेट नेपालले १६-२५ ले गुमायो । 

दोस्रो सेटमा सुधारिएको प्रदर्शन गर्दै नेपाल २५-२३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा २० अंकसम्म अग्रता बनाएको नेपालले अन्तिममा सेट २४-२६ ले गुमायो । चौथो सेटमा नेपाल निकै पछि परेको थियो । २०-२५ ले सेट गुमाएर खेल नै हार्न पुग्यो ।

पाँचौं खेल

सात टोली सहभागी प्रतियोगितामा नेपालले पाँचौं खेलमा पनि पराजय भोग्यो । अहिलेसम्म एउटै खेलमा जित हासिल गर्न नसके पनि शुक्रबार सम्पन्न पाँचौं खेलमा नेपालको प्रदर्शन भने सुधारिएको थियो । प्रतियोगितामा पहिलो पटक शुक्रबार नेपालले खेललाई पाँचौं सेटसम्म पुर्याउन सफल भयो । पहिलो सेटमा अग्रता लिनाका बावजुद नेपाल आयोजक किर्गिस्तानको बी टोलीविरुद्ध ३–२ को सेटमा पराजित भएको थियो ।

पहिलो सेट नेपालले २५–२३ को नतिजामा जितेको थियो । तर घरेलु टोलीले दोस्रो सेट २९–२७ तथा तेस्रो सेट २५–२२ ले जित्दै खेलमा पुनरागमन जनायो । चौंथो सेटमा २५–११ को सहज नतिजा निकाल्दै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गर्ने आशा कायम राखेको थियो । तर पाँचौं तथा अन्तिम निर्णायक सेटमा घरेलु टोलीले १६–१४ को प्रतिस्पर्धात्मक जित हासिल गरेपछि प्रतियोगितामा पहिलो जित निकाल्ने नेपालको आशा चकनाचुर भयो ।