काभा महिला च्यालेन्ज कप

कस्ता छन् नेपालका १४ खेलाडी ?

काठमाडौं । महिला भलिबलमा पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेक्रममा नेपालले काभा भलिबल च्यालेन्ज कप गर्दै छ । सोमबारदेखि प्रतियोगिता राखेप कभर्डहलमा सुरु हुनेछ ।

साबिक विजेता नेपाली महिला टोलीको प्रशिक्षण नेतृत्व बेल्जियमका प्रशिक्षक जान डे ब्रान्टले सम्हालिरहेका छन् । प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय टोली घोषणा भइसकेको छ ।

पहिलो पटक ६ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउँदा तीन नियमित खेलाडी भने बाहिरै छन् । एभिसी सेन्ट्रल जोनको नाममा भएका पछिल्ला दुई संस्करणमा नेपाललाई उपाधि जिताउन मुख्य भूमिका खेलेकी ओपन स्पाइकर प्रतिभा माली यसपालि चोटका कारण उपलब्ध छैनन् । सेटर कृपा अधिकारी र लिबेरो सरस्वती जैसी पनि टोलीमा छैनन् ।

युवा सेटर प्रगति नाथ, मिडल ब्लकर कविता भट्ट, मिडल ब्लकर संगम महतो, स्पाइकर रीमा कुँवर, पूजा चौधरी र लिबेरो शान्तिकला तामाङ पहिलो पटक टोलीमा पर्न सफल भएका छन् । स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गरेका छन् ।

जेठ १४ सम्म चल्ने प्रतियोगितामा कप्तान अरुणा शाही, उषा भण्डारी, कामना विष्ट, सरस्वती चौधरी, साफिया पुन र सलिना श्रेष्ठ नेपाली टोलीका नियमित खेलाडी हुन् ।

आठ राष्ट्रको सहभागी हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहका प्रतिस्पर्धीमा भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन् । नेपालले सोमबार नै किर्तिस्तानसँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । मंगलबार बंगलादेश र बुधबार भारतसँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रशिक्षक जान ब्रान्टलाई प्रशिक्षणमा जगदीश भट्टले सघाइरहेका छन् । काभा च्यालेन्ज कप खेल्ने नेपालका १४ खेलाडी:

अरुणा शाही (सेटर)

पछिल्लो दशक नेपालको प्रमुख खेलाडीका रूपमा रहेकी अरुणाको काँधमा टोलीको नेतृत्व गर्नुपर्ने जिम्मेवारी पनि छ । टोलीलाई सेट गर्ने र रणनीतिक रूपमा तयार पार्ने जिम्मा उनमा छ ।

अरुणाको कप्तानीमा नेपालले केही प्रमुख उपाधि जितेको छ । एभिसी सेन्ट्रल जोनको उपाधि दुई पटक जित्दा अरुणा नै नेपाली टोलीकी कप्तान थिइन् । उनकै कप्तानीमा नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल भएको थियो ।

घरेलु कोर्टमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित हुँदा कीर्तिमानी स्वर्ण पदकबाट टाढा रह्यो । म्याग्दी जिल्लाकी अरुणा न्यु डायमन्ड क्लब तथा गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन् ।

सरस्वती चौधरी (स्पाइकर)

एपिएफ क्लबकी सरस्वती नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य ओपन स्पाइकर हुन् । पछिल्लो दशक नेपाली टोली धेरै हदसम्म सरस्वतीमै निर्भर हुँदै आएको छ । तर, सरस्वती घरेलु भलिबल प्रतियोगितामा लगातार घाइते हुँदा स्वभाविक लयमा फर्कन सकेकी छैनन् । सन् २०१३ बाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी सरस्वती नेपालले दुवै पटक एभिसी सेन्ट्रल जोनको उपाधि जित्दाकी मुख्य खेलाडी हुन् ।

निरुता ठगुन्ना (स्पाइकर)

प्रतिभा मालीजस्ती प्रभावशाली खेलाडी टोलीमा नरहँदा स्पाइकर निरुता ठगुन्नाले आफूलाई माथिल्लो स्तरमै प्रमाणित गर्ने अवसर पाउन सक्छिन् । एपिएफ क्लबबाट खेलेको अनुभव निरुतामा छ । एपिएफ अघि निरुताले आर्मीबाट घरेलु लिग खेल्दै आएकी थिइन् ।

दार्चुला घर भएकी आउटसाइट हिटर निरुताले राष्ट्रिय टोलीका लागि २०७६ सालमा भएको पहिलो एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा स्थान पाएकी थिइन् । त्यही वर्ष काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेलेपछि उनी टोलीबाट बाहिरिइन् ।

२०७८ मा नेपालले लगातार दोस्रो पटक एसिसी सेन्ट्रल जोनमा उपाधि जित्दा उनी टिममा थिइनन् । प्रतिभा घाइते भएको बेला फर्ममा फर्किएका कारण उनी यसपालि भने टिममा फर्किएकी छन् ।

कविता भट्ट (मिडल ब्लकर)

सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफ क्लबकी मिडल ब्लकर कविता भट्ट पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी हुन् । डडेल्धुराकी कविताले एपिएफबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको बाटो तय गरिन् ।

आर्मीबाट पनि खेलिसकेकी कविताको अग्लो कदले मुख्य प्रशिक्षक ब्रान्टलाई लोभ्याएको छ । त्यसबाहेक कविता उत्कृष्ट सर्भिस र विपक्षी टोलीको क्विक स्पाइक ब्लक गर्न सधै सफल हुँदै आएकी छन् । घरेलु प्रतियोगितामा प्रभाव जमाउँदै आएकी कविताबाट यसपालि राष्ट्रिय टोलीका लागि उच्च प्रदर्शन अपेक्षा गरिएको छ ।

पूजा चौधरी (स्पाइकर)

युवा खेलाडी पूजा चौधरी विभागीय टोली एपिएफबाट घरेलु प्रतियोगिताहरू खेल्छिन् । एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्य भए पनि बाँके कोहलपुरकी पूजाले पाएका अवसरमा सधैं आफूलाई प्रमाणित गरिन् ।

घरेलु प्रतियोगितामा गरेको त्यही एकरुपको उच्च प्रर्दशनका कारण पूजाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएकी हुन् । दीर्घकालिन योजनामा रहेका प्रशिक्षक ब्रान्टले युवा खेलाडीलाई अवसर दिइरहेका छन् । त्यसैले पूजालाई पनि यसपालि राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गराउने विश्वास गरिएको छ ।

प्रगति नाथ (सेटर)

पछिल्लो एक वर्ष नेपाली महिला भलिबल धेरै हदसम्म सेटर प्रगति नाथमय बन्यो । १७ वर्षको उमेरमै लगनशील प्रगतिले कोर्टमा देखाएको प्रभावका कारण उनी सबैको नजरमा पर्न सफल भइन् ।

न्यु डायमन्ड एकेडेमीका प्रशिक्षक कुमार राईको मार्ग निर्देशनमा प्रगति एक वर्षको अन्तरालमै घरेलु प्रतियोगिता हुँदै राष्ट्रिय टोलीको ढोका खोल्न सफल भइन् । राष्ट्रिय महिला तथा पुरुष च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीकी उत्पादन प्रगतिको प्रदर्शन सानदार थियो ।

अन्य प्रतियोगितामा पनि प्रगतिको प्रदर्शन उत्साहजनक रह्यो । जसका कारण उनी सिधै राष्ट्रिय टोलीमा छानिएकी हुन् । पश्चिम रुकुमकी प्रगति उदीयमान सेटर हुन् । अग्लो कद र चलाखीपूर्ण खेलका कारण प्रगतिले छोटो समयमै छलाङ मारेकी छन् ।

रीमा कुँवर (स्पाइकर)

पर्वतकी रीमा पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन् । न्यु डायमन्डबाट सानदार प्रदर्शन गर्दै आएकी रीमाकै प्रेरणामा धेरै पटक उनको टोलीले उपाधि जितेको छ ।

प्रशिक्षणमा पनि उत्कृष्ट प्रदर्शन गरेका कारण प्रशिक्षक ब्रान्टले रीमालाई टोलीमा राख्ने निर्णय लिएका थिए । सरस्वती चौधरी र उषा भण्डारीजस्ता स्पाइकर खेलाडी टोलीमा रहँदा रीमाले अवसर भने कम पाउन सक्छिन् । यद्यपि आवश्यकताअनुसार ब्याक स्पाइकर रीमाले ‘डेब्यु’ पाउने सम्भावना पनि उत्तिकै छ ।

साफिया पुन (मिडल ब्लकर)

मिडल ब्लकर साफिया पुन नेपाली राष्ट्रिय टोलीकी नियमित सदस्य हुन् । नेपाली सेनाको टोली त्रिभुवन आर्मी क्लबकी उनी दुई पटक एसिसी सेन्ट्रल जोनको उपाधि जित्दा टोलीमा थिइन् ।

बागलुङ जिल्लाकी साफियाले आर्मीबाट एक दशकदेखि सानदार प्रदर्शन गर्दै आएकी छन् । पछिल्लो समय आर्मीले घरेलु महिला भलिबलमा प्रभाव जमाउनुको श्रेय पनि साफियालाई जानेछ । साफियाले राष्ट्रिय टोलीबाट २०७६ सालमा ‘डेब्यु’ गरेकी थिइन् ।

संगम महतो (मिडल ब्लकर)

मिडल ब्लकर संगम पहिलो पटक राष्ट्रिय टोलीमा परेकी हुन् । त्रिभुवन आर्मी क्लबकी संगमले घरेलु भलिबलमा प्रभावशाली प्रदर्शन गरेपछि राष्ट्रिय टोलीको ढोका खोलेकी थिइन् । पातलो शारीरिक बनावटकी संगम स्पाइक तथा रिसिभ र ब्लकमा सफल रहँदै आएकी छन् । चितवन जिल्लाकी संगमले आधा दशकयता आर्मीबाट खेल्दै आएकी छन् ।

उषा भण्डारी (स्पाइकर)

उषा नेपालले दोस्रो पटक एभिसी सेन्ट्रल जोन जित्दाकी मुख्य खेलाडी हुन् । १४ वर्षको उमेरमै राष्ट्रिय टोलीमा स्थान बनाएकी उषाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरिन् । नेपाली राष्ट्रिय टोलीबाट त्यो उनको ‘डेब्यु’ प्रतियोगिता थियो ।

तनँहु घर भएकी उषाले माल्दिभ्समा लिगको अनुभव बटुलेकी छन् । त्यसबाहेक विभागीय टोली नेपाल पुलिस क्लबका लागि धेरै उपाधि जितिसकेकी छन् । अग्लो कदकी उषा सर्भिस, स्पाइक, डिफेन्स र रिसिभमा सफल देखिरहेकी छन् ।

२०७६ मा १३औं सागमा बंगलादेशविरुद्ध ‘डेब्यु’ राष्ट्रिय टोलीका लागि उनले ८ खेल खेलेकी छन् । आसन्न प्रतियोगितामा चोटका कारण अनुपस्थित प्रतिभा मालीको ठाउँ उषाले लिने सम्भावना बलियो रहेको बताइन्छ ।

कामना विष्ट (स्पाइकर)

नेपाली महिला भलिबलमा चोट र कामना एकअर्काका परिपूरकजस्तै भइसके । कामनाले धेरैपटक चोटकै कारण आफ्नो स्वभाविक खेल देखाउन पाएकी छैनन् ।

नेपाल पुलिस क्लबबाट खेल्दै आएकी कामना ओपन स्पाइकर हुन् । जाजरकोटकी कामनाले बंगलादेशमा सम्पन्न दोस्रो एभिसी सेन्ट्रल जोनमार्फत राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेकी थिइन् । पुलिसबाट भने विगत आधा दशकबाट खेल्दै आएकी उनले निरन्तर चोटका कारण आफ्नो स्वभाविक लय भेट्टाउन सकेकी छैनन् । २०७८ सालमा भएको एसिसी सेन्ट्रल जोनयता उनले राष्ट्रिय टिमका लागि ७ खेल खेलेकी छन् ।

पुनम चन्द (स्पाइकर)

नेपाल पुलिस क्लबकी पुनम नेपाली टोलीकी अनभुवी खेलाडी हुन् । २२०७६ सालमा भएको पहिलो एभिसी सेन्ट्रल जोन जित्दा उनले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेकी थिइन् । लगत्तै १३औं सागमन पनि टिमको सदस्य रहेकी उनी २०७८ सालमा भएको दोस्रो एभिसी सेन्ट्रल जोनमा भने टिममा थिइनन् ।

यसपालि उनले टोलीमा वैकल्पिक खेलाडीको रूपमा स्थान पाएकी छिन् । महेन्द्रनगरकी यी खेलाडीले घरेलु भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । स्पाइक, सर्भिस र ब्लकमा उनको प्रदर्शन सानदार छ ।

सलिना श्रेष्ठ (लिबेरो)

प्रशिक्षक जगदीश भट्टले पूर्वकप्तान विनिता बुढाथोकी, रेबिका चौधरीजस्ता खेलाडीलाई बाहिर राख्ने ठूलो साहस लिँदा लिबेरो सलिनाको टोलीमा आगमन भएको थियो ।

एभिसी सेन्ट्रल जोनको च्याम्पियन हुँदा र १३औं सागमा रजत पदक जित्दा सलिनाको प्रदर्शन एकैनासको थियो । आलोचकलाई उच्च प्रदर्शनबाट जवाफ दिने क्रममा सलिनाले आफू नयाँ हो भन्ने मौका नै दिइनन् । न्यु डायमन्ड एकेडेमीकी सलिनाले अहिले त टोलीमा एकछत्र राज गरेकी छन् ।

शान्तिकला तामाङ (लिबेरो)

घरेलु प्रतियोतिगामा सानदार प्रदर्शन गर्दै आएकी लिबेरो शान्तिकला पहिलो पटक राष्ट्रिय टोलीमा परेकी हुन् । नेपाल पुलिस क्लबले घरेलु प्रतियोगिताहरूमा उच्च प्रदर्शन गरिरहँदा शान्तिको भूमिका प्रमुख रहने गर्छ ।

खोटाङकी शान्तिलाई प्रशिक्षक ब्रान्टले सलिना श्रेष्ठको विकल्पको रूपमा प्रयोग गर्न सक्छन् । यद्यपि सलिनाको प्रदर्शन प्रभावशाली रहँदा शान्तिले दोस्रो लिबेरोको रूपमा टोलीमा पाउने छिन् । विभागीय टोलीबाट खेलेको अनुभव हुँदा शान्तिसँग रिसिभ र डिफेन्समा राम्रो प्रदर्शन गर्ने क्षमता छ ।