फुटबल प्रशासन र टिम नेतृत्वलाई प्रश्‍न

सिजन अहिले फुटबलको छ । युरोपियन च्याम्पियनसिप (युरो २०२०) को सरगर्मीले पूरा युरोपलाई तताएको छ भने दक्षिण अमेरिकी फुटबलप्रेमीहरुको ध्यान आसन्‍न कोपा अमेरिका २०२० मा केन्द्रित छ । लामो समयदेखि रोकिएका कतार विश्‍वकप २०२२ का छनोट खेलहरु पनि अहिले तिब्र गतिमा भइरहेका छन् ।

कोभिड १९ को महामारीले विश्‍व आक्रान्त हुन थालेको डेढ वर्ष नाँघिसकेको छ । त्यसैले यही महामारीका कारण गत वर्ष स्थगित गरिएका विश्‍वकप छनोट‍का खेलहरु अहिले धमाधम भइरहेका छन् । एसियाली देशहरु कोभिड १९ को दोस्रो लहरको चपेटामा पर्दा विश्‍वकप तथा एसियन कपको संयुक्त छनोटका खेलहरु होम एण्ड अवे पद्दतिबाट नगराई सेन्टल भेन्युका रुपमा एकै ठाउँमा गराइएको छ । 

विश्‍वकप तथा एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपाल अहिले बाँकी रहेका तीन घरेलु खेल खेल्नका लागि कुवेतको भ्रमणमा छ । नेपालले कोभिड १९ को महामारीअघि नै सबै अवे तथा एक घरेलु खेल खेलिसकेको थियो । एएफसीको निर्णयअनुसार समूहका बाँकी सबै खेल कुवेतमा हुने भएपछि नेपाल त्यहाँ पुगेको हो । 

विश्‍वव्यापी फुटबलको मौसमअनुसार नेपालमा पनि फुटबलको ज्वरो चढ्नु स्वभाविक हो । कुवेतमा नेपालले खेल्नुपर्ने तीनमध्ये दुई खेल खेलिसकेको छ । पहिलो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपालले दोस्रो खेलमा जोर्डनलाई ३-० ले नतिजा सुम्पियो । अस्ट्रेलियाविरुद्धको अन्तिम खेल खेल्न बाँकी छ । 

नेपाली राष्‍ट्रिय टोलीले विश्‍वकप वा एसियन कपलाई छानिने सपना पनि व्यवहारिक रुपमा अहिलेसम्म देख्‍न सकेको छैन । औपचारिक भाषणमा वा सैद्धान्तिक बहसमा बोल्ने जस्तो ‘फुटबलमा सबथोक सम्भव’ हुँदैन भन्‍ने कुरा नेपाली फुटबल खेलाडी, प्रशिक्षक, पदाधिकारी र समर्थकले पनि बुझेका छन् । त्यसैले यहाँ नेपाली टोलीले कुवेतमा हासिल गरेका नतिजा र छनोट यात्रामा त्यसले पार्ने प्रभावबारे चर्चा गर्न खोजिएको होइन । 

एसियन कपको तेस्रो चरणको छनोटका लागि समूहमा चौथो स्थान हासिल गरेर सबै समूहमध्येबाट उत्कृष्‍ट चौथो हुने चार टोलीमा पर्नु स्वयम टोलीले कुवेत भ्रमणमा निस्कँदा बनाएको लक्ष्य थियो । उत्तर कोरियाको बर्हिगमन, सबै समूहका अंकगणित लगायतका तथ्यहरुका कारण नेपाल त्यो सम्भावनाबाट बञ्‍चित भइसकेको छ । अब नेपालले अगाडि बढ्नका लागि प्लेअफको सहारा लिनुपर्ने छ । 

कुनै पनि प्रतियोगितामा सहभागिले राखेका सबै लक्ष्य पूरा हुँदैनन् । अझ नेपालजस्तो ठूला अन्तर्राष्‍ट्रिय प्रतियोगितामा सधै अन्डरडगको हैसियतमा सहभागि हुने टोलीका लक्ष्य प्राय असफल हुन्छन् । यो नेपाली फुटबलको तितो सत्य हो । फुटबलमा गरिएको न्युन लगानी, यसलाई गरिएको बेवास्था र आफ्नो व्यक्तिगत वा सामूहिक स्वार्थपूर्तिको माध्यममात्र बनाइनुको परिणाम पनि हो यो । 

त्यसैले त प्रशिक्षक, प्रशासक वा अरु कोही फेरिनेवित्तिकै गरिने सुनौलो संसारको नयाँ यात्राका ‘गफ’हरु सधै उस्तै उत्साहजनक र आशालाग्दा हुन्छन् । अनि मैदानमा नतिजा चाँही त्यसको ठिक विपरित सधै उस्तै निराशाजनक र टिठलाग्दो हुने गर्छ । अनि समग्रमा हारिसकेको खेलभित्र पनि एउटा पास, एउटा मुभ, एउटा खेलाडी, एउटा शैली वा अरु कुनै यस्तै विषयलाई प्रगतितर्फको बाटोका रुपमा बयान गर्न सरोकारवालाहरु बाध्य हुन्छन् । ‘पण्डित’हरुलाई निराशाको समुद्रबाट आशाका त्यस्ता ससाना मोती खोज्‍न हम्मे पर्छ । 

कुवेत यात्रामा नेपाली राष्‍ट्रिय टोली फेरी एकपटक यस्तै नियमित प्रकृयाहरुबाट गुज्रिइरहेको छ । यसपाली पनि टिममा नयाँ प्रशिक्षक थिए, कुवेतका अहमद अल्मुताइरी । उनले पण्डित तथा फुटबलका एजेन्डा सेटरहरुलाई पनि विश्‍वासमा राख्दै भविश्यका लागि टिम बनाउने भन्दै नेपालीको खेल्ने शैलीमा पूर्ण परिवर्तन ल्याउने र आक्रामक फुटबल पस्किने बताएका थिए । नेपालले त्यही अनुरुप नयाँ नयाँ शैलीमा आक्रामक फुटबल खेलेर भविश्य राम्रो भएको प्रमाण दिएको हरेक दिन प्रचार गरियो । 

तर तथ्यमा गएर हेर्ने हो भने नेपाली टोलीको नतिजाले त्यसो भन्दैन । प्रत्येक पटक नेतृत्वमा परिवर्तन भएपछि दिइने ‘गफ’जस्तै भएको छ, यसपालीको कथा पनि । नेपालले कुवेतमा छनोट प्रतियोगिता खेल्नुअघि इराकमा गएर इराकी राष्‍ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । मैत्रीपूर्ण खेलसहित जोड्ने हो भने नेपालले यसबीचमा तीन खेल खेलिसकेको छ । ‘नयाँ शैली’ र ‘पुर्नसंरचना’ जस्ता भारी सव्दाबली लोकप्रिय बनाइए पनि नेपालको नतिजा विगतजस्तै छ । 

अर्थात नेपालले २० वर्षअघि इराकको पहिलो रोजाईको टोलीसँग पछिल्लो पटक खेल्दा नतिजा ४-२ को हार थियो । यसपाली दोस्रो रोजाईको इराकी टोलीले नेपाललाई ६-२ को नतिजामा हरायो । चाइनिज ताइपेईसँग यही विश्‍वकप तथा एसियन कप छनोटअन्तर्गत पहिलो लेग उसकै मैदानमा गएर खेल्दा नेपाल २-० ले विजयी भएको थियो । यसपाली कुवेतमा खेल्दा पनि नतिजा २-० कै जित भयो । जोर्डनसँग पहिलो लेगमा ३-० को पराजय भोगेको थियो । दोस्रो लेग पनि ३-० कै हार भयो ।  सबै नतिजा पहिलाजस्तै वा त्योभन्दा पनि खराब ।

सबै तथ्य र प्रत्येक ९० मिनेटको रस्साकस्सी टेलिभिजनबाट हेर्दा नेपाली फुटबल नयाँ बाटोमा हिडेको देखिन्‍न । यसको मतलब प्रशिक्षक अल्मुताइरी गलत हुन भन्‍न खोजेको होइन । यो त उनको पहिलो प्रतियोगिता हो । यसमा उनले कम्तिमा नेपाली टोलीको पछिल्लो समयको स्तरलाई गिर्न दिएका छैनन् । यसैमा उनलाई पूर्णांक दिनुपर्छ । तर भविश्यका लागि उनले बनाएको योजना के हो ? त्यसलाई कार्यान्वयन गर्ने उनको सोच के हो ? त्यो नेपाली फुटबलका लागि उपयुक्त हुन्छ की हुन्‍न ? र त्यो सबका लागि उनी आफै उपयुक्त पात्र हुन की होइनन ? भन्‍ने जस्ता तमाम प्रश्‍नको उत्तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले खोज्‍नुपर्छ र सही लागेमा उनलाई दीर्घकालिन रुपमा जिम्मेवारी दिनुपर्छ । तत्कालका लागि नतिजा खोज्‍नुहुन्‍न । तत्कालका लागि नतिजा खोज्‍ने हो भने उनले भविश्यका लागि राम्रो जग हाल्न सक्दैनन् । 

विगतमा पनि नेपाली फुटबलमा धेरै विदेशी प्रशिक्षकले अल्मुताइरी जस्तो प्रयास गरेकै हुन् । तर तत्कालका लागि नतिजा खोज्‍ने एन्फाको बानीका कारण कुनै पनि प्रशिक्षकले दीर्घकालिन योजनामा काम गर्न पाएनन् । जसका कारण प्रशिक्षकहरु या असफल घोषित भएर या नाम सम्झन लायक कुनै प्रभाव पनि नछोडिकन विदा भएका छन् । नतिजा, नेपाली फुटबल सधै उही नयाँ योजना र शैलीको ‘गफ’, मैदानमा सधैजस्तै असफल नतिजा, त्यसभित्रका सकारात्मक पक्ष खोजेर मन बुझाउने अनि परिवर्तनको कहिल्यै नफेरिने निराशाजनक शृंखलाको दलदलमा जाकिइरहेको छ । विकासतर्फ अग्रसर भन्दै दशकौंदेखि नेपाली फुटबललाई यथास्थितीवादको भुमरीमा कैद गरिएको छ । 

त्यसैले यो नेपाली फुटबलको यथास्थितीवादको मात्र प्रशंग होइन । उच्च स्तरको फुटबल प्रशिक्षणमा करियर खोज्दै गरेका नयाँ प्रशिक्षक अल्मुताइरीको लागि पनि जोखिमपूर्ण विषय हो । त्यसैले उनले पनि आफ्ना योजना र कार्यशैलीमा प्रष्‍ट भएर एन्फासँग बीचमा तोड्न नमिल्ने खालको निश्‍चित समयको सम्झौता गरेर काम गर्नुपर्छ । त्यसो भए मात्र उनी आफूमा भएको क्षमता मैदानमा प्रमाणित गर्न सक्षम हुनेछन् । अन्यथा सम्झौताहरुको लामो सुचीले उनीबाट नेपाली फुटबलले उर्जा लिने त परको कुरा उनको उर्जा पनि सेलाउँदै जान सक्छ । 

दीर्घकालिन योजनाबाट निर्देशिन होइन भने ‘नयाँ शैली’ वा अरु केही भनेकै भरमा राष्‍ट्रिय टोलीलाई सधै प्रयोगको थलो बनाउने छुट कसैलाई हुन्‍न । प्रयोग गर्ने थलो भनेको एकेडेमी र उमेर समूहका टिम हुन, राष्‍ट्रिय टोली मैदान उत्रिँदा नतिजाका लागि उत्रिनुपर्छ । फुटबलमा शैली र रणनीति भनेकै नतिजाका लागि हो । तर नेपाली फुटबलमा नतिजा सधै उस्तै, अनि शैली सधै नयाँ ? यो प्रश्‍नको जवाफ फुटबल प्रशासनले नतिजाबाटै दिन सक्नुपर्छ ।