काठमाडौं । तेक्वान्दोका दीपक विष्ट लगातार चार दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्नुका साथै प्रतिस्पर्धाबाट ओलम्पिक छनोट हुने दोस्रो नेपाली खेलाडी अनि १३ औं सागकी दोहोरो स्वर्णधारी आयशा शाक्य । तेक्वान्दोकी सफल महिला खेलाडीमध्येकी एक । त्यसैले दीपक-आयशा नेपाली खेलुकदकै हाइप्रोफाइल जोडीमा पर्दछन् ।
तेक्वान्दो एरिनामा प्रभाव जमाउन सफल यी दुई स्टार एकअर्कालाई मायाजालमा पार्न पनि उत्तिकै सफल भए । तर, दीपक-आयशाको अन्तरजातीय सम्बन्धले विवाहको गन्तव्य पाउन भने निकै संघर्ष गर्नुपर्यो । मानौं, एरिनाको संघर्षभन्दा धेरै कठिन ।
२०६७ सालमा आयशाको परिवारलाई पत्तै नदिई बूढानीलकण्ठ मन्दिरमा बिहे गरेर सिनामंगलस्थित दीपकको आफन्तको घरमा भित्रिँदा यो जोडीले खुसीभन्दा बढी मानसिक तनाब झेल्नुपर्यो ।
तेक्वान्दोमा गुरु–चेलीको औपचारिक सम्बन्धलाई प्रेमको आत्मीयतामा परिणत गर्दा र पूरा जीवन सँगै बिताउने संकल्प गर्दाको समय सहज थिएन ।
देशकै दुई ठूला स्टार खेलाडीबीचको अन्तरजातीय/सांस्कृतिक सम्बन्ध भएकाले सर्वत्र चर्चाको विषय बन्नु स्वाभाविक थियो ।
सुदूरपश्चिमस्थित कैलालीका दीपक र ललितपुर पाटनको शाक्य परिवारकी एक्ली छोरी आयशाको प्रेम र विवाह निकै रोमाञ्चक छ । दीपक नेपाली खेलकुदको नामी खेलाडीका रूपमा स्थापित भइसक्दा आयशा भने स्कुलजीवनमै थिइन् ।
आयशाले पहिलोपल्ट आठौं दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) का क्रममा दीपकलाई देखेकी थिइन् । काठमाडौंमा सम्पन्न साफमा पदक आशा गरिएका कारण तेक्वान्दोका हरेक खेलमा दर्शकको बाक्लो उपस्थिति हुन्थ्यो । दीपकको फाइट हुँदा कभर्डहल खचाखच थियो । कभर्डहलमा खचाखच दर्शकमाझ आशया र उनका पिता पनि थिए ।
आयशा र उनका बुबा बसेको सिटभन्दा अगाडि दीपकका परिवार र समर्थक बसेका थिए । खेल सकिएपछि दीपक त्यहीं आएर बसे । त्यहाँ भएका सबैले दीपकसँग फोटो खिचे । आयशा र उनका पिताले पनि दीपकसँग फोटो खिचाए ।
आयशा भर्खर तेक्वान्दोमा पाइला बढाउँदै थिइन् । त्यसको केही समयपछि आयशाले प्रशिक्षण गर्ने गरेको पाटन डोजाङले साफ खेलेका खेलाडीको सम्मानमा कार्यक्रम गर्यो । जुन कार्यक्रमले आयशालाई दीपकसँग दोस्रो भेटको साइत जुरायो । जहाँ उनले दीपकसँग कुराकानी गर्ने मौका पनि पाइनँ । भर्खर करियर सुरु गरेकी एउटी जुनियर र देशको स्टार खेलाडीबीचको कुराकानी थियो त्यो ।
२०५८ सालमा दीपक कामको सिलसिलामा पाटन डोजाङ पुगेका थिए । त्यो समय दीपकले प्रशिक्षण के छ, कस्तो चल्दै छ ? भनेर आयशालाई सोधेका थिए । त्योभन्दा बढी उनीहरूको गफ भएन ।
२०५९ सालमा भएको नवौं साफका लागि तेक्वान्दोको छनोटमा आयशा पनि सहभागी थिइन् । त्यतिबेला पुरुषसरह फाइट गर्ने र नाम चलेकी खेलाडी रेणुका थापामगरसँग आयशाले प्रतिस्पर्धा गरिन् । नतिजा आफ्नो पक्षमा ल्याउन नसके पनि सबैले आयशाको खेलको प्रशंसा गरे । सबैको आँखामा परेकी थिइन् उनी । दीपकबाट पनि प्रशंसा बटुल्ने मौका पाइन् । पहिलोपटक उनीहरूले एकअर्कासँग खुलेर कुरा गर्ने मौका पाए ।
त्यतिबेला नै आयशाले दीपक शंखमूल बस्छन् भन्ने थाहा पाइन् । आयशाको परिवार पनि पाटनबाट शंखमूल सर्न लागेको थियो ।
त्यसको केही समयपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा आयशालाई जुनियरतर्फ बोलाइयो । आयशा १६ वर्षकी मात्र थिइन् । दीपक राष्ट्रिय खेलाडी नै थिए ।
बिहानऔबेलुका सँगै प्रशिक्षण गर्दा बोलचाल बढ्दै गयो । निकटता हुँदै गयो । एउटै ठाउँमा बस्ने भएकाले प्रशिक्षणमा सँगै जाने सहकार्य हुन थाल्यो ।
बिहान र बेलुकीको प्रशिक्षण तथा स्कुल ओहोरदोहोर साइकलबाटै गर्ने आयशा एकपटक साइकल दुर्घटनामा परिन् । दायाँ हातको हड्डी तीन टुक्रा भयो । १० कक्षामा अध्ययनरत रहँदाको त्यो दुर्घटनाका कारण उनको खेलजीवन एक वर्ष स्थगनमा हुन पुग्यो ।
खेलमा राम्रो प्रदर्शन गरेपछि साथीसंगी, आफन्त र परिवारबाट पाउने प्रशंसाले आयशालाई खेलतिर एकोहोर्याएको थियो । खेल पहिलो प्राथमिकतामा पर्न थाल्दा पढाइ बिग्रँदै गएको थियो । तर दुर्घटनाले हात भाँचिएपछि भने फेरि पढाइ पहिलो प्राथमिकतामा फर्कियो । भर्खरै चिनजान भएर भेटघाट झाँगिँदै गएका दीपकले घाइते भएको थाहा पाएपछि आयशालाई भेट्ने खुबै प्रयास गरे ।
‘तर घर पत्ता लगाउन नसकेर मैले त्यो बेला भेट्न पाइनँ । शंखमूलका सबै गल्ली खुबै चहारेको थिएँ,’ दीपक त्यो क्षण सम्झँदा रोमाञ्चित हुन्छन् ।
एसएलसी परीक्षा सकिँदा आयशाको हात पूरा निको भइसकेको थियो । नेपाली समाजमा फलामको ढोका मानिने एसएलसी सकिएपछि मानसिक रूपमा पनि उनले ठूलो राहत महसुस गरेकी थिइन् ।
आयशाले फेरि तेक्वान्दो यात्रालाई निरन्तरता दिने निधो गरिन् । तर पाटन डोजाङ बन्द थियो । त्यसैले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण सुरु गरिन् ।
२०६२ सालमा पहिलो पटक आयशाले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न बैंकक जाने अवसर पाइन् । जुन टोलीमा दीपक पनि थिए । त्यहीं समयबाट दीपक र आयशाको सँगै प्रतियोगिता खेल्न जाने यात्रा सुरु भयो । त्यही यात्रासँगै प्रेम सम्बन्धको यात्रा पनि अगाडि बढ्यो ।
त्यसै वर्ष कतारको दोहामा भएको एसियाली खेलकुदमा दुवैले कांस्य पदक जितेका थिए । त्योभन्दा अघि उनीहरूको एकअर्काप्रति आकर्षण रहे पनि बैंकक गएपछि चाहिँ माया टुसाउन थाल्यो । बैंककबाट फर्किएलगत्तै मोबाइलमा रातभर रातभर कुराकानी हुन थाल्यो ।
त्यही वर्ष कोलम्बोमा सम्पन्न १० औं साग आयशाले रजत पदक जितिन् भने दीपकले लगातार तेस्रो स्वर्ण जितेर साग स्वर्णमा ह्याट्रिक गरे ।
बिहानऔबेलुका सँगै प्रशिक्षण गर्ने, बन्द प्रशिक्षणमा बस्ने र फोनमा कुराकानी हुने भएकाले आयशा र दीपकको निकटता बढिसकेको थियो । जसका कारण कहिल्यै एकअर्कालाई ‘आई लभ यू’ जस्ता शब्दबाट माया दर्शाउनुपर्ने आवश्यकता परेन ।
बरू, त्यसको बदलामा एक दिन प्रशिक्षणमा नआउँदा किन आएन ? के भयो ? जस्ता प्रश्न मनमा उठ्थ्यो । आयशा एक दिन प्रशिक्षणमा नआउँदा दीपकले फोन गरेर ‘धेरै आराममा बस्नुहुँदैन, आउँ अरूले खेलेको हेर र हेर्दा पनि धेरै कुरा सिकिन्छ’ जस्ता माया मिश्रित लवजले सम्झाउँथे ।
‘म पनि उहाँ (दीपक) कुनै दिन आउनुभएन भने के कस्तो छ ? भनेर जानकारी लिइराख्थें,’ आयशा स्मरण गर्छिन् ।
एकअर्कालाई मायाको प्रस्ताव नराखे पनि प्रशिक्षणमा दीपक अरू केटीसँग बोल्दा होस् वा आयशा अरू केटासँग बोल्दा दुवैलाई एक किसिमको ईर्ष्या हुने र रिस उठ्ने भइसकेको थियो । यस्तै संकेतबाट उनीहरूले आफूहरूबीच माया बसिसकेको बुझिसकेका थिए ।
घरको जेठो सन्तान भएकाले दीपकको बिहेको चर्चा चल्न थालिसकेको थियो । २०६४ सालमा दीपक बेइजिङ ओलम्पिक खेलेर फर्किए । त्यसपछि २०६६ मा बंगलादेशमा ११औं साग हुने तयारी थियो ।
चोटबाट गुज्रिरहेका दीपकलाई चिकित्सकले धेरै समयसम्म नखेल्न सुझाव दिइसकेका थिए । त्यसैले उनले ११औं साग खेलेर संन्यास लिने सोच बनाएका थिए ।
संन्यासपछि मात्र बिहे गर्ने उनको योजना थियो । त्यही योजनामा उनले आयशासँग सल्लाह गरे । आयशाले एसियाली खेलकुदपछि मात्र बिहे गर्ने सोच सुनाइन् ।
११औं सागमा आयशा र दीपकले स्वर्ण पदक जितेका थिए । प्रतियोगितापछि दुवैले आ-आफ्नो परिवारमा प्रेम र विवाहबारे जानकारी गराएका थिए । दीपकको परिवारले जेठा छोराको प्रेमलाई सहजै स्वीकार गर्यो । यता, पाटनको कट्टर शाक्य परिवारलाई छोरीको प्रस्ताव स्वीकार्य भएन ।
जातीयमात्र नभई दुईबीचको उमेरमा पनि ठूलो अन्तर थियो । दीपकभन्दा आयशा ११ वर्ष कान्छी थिइन् । जसले समस्या झनै बढाएको थियो । तर माया त अन्धो हुन्छ नै । एकअर्काको मायामा चुर्लुम्म डुबेका दीपक-आयशा पनि त्यतिबेला त्यस्तै थिए ।
आयशाले दीपकसँग विवाह गर्न घर छाडेरै हिँडिन् । घर छाडेर हिँडेकी आयशा एक साता हराइन् । मोबाइलमा आफूले गर्न मिल्ने तर अरूको फोन नआउने बनाएर बेपत्ता भएकी आयशाले बेलाबखतमा दीपकलाई भने फोन गरिरहन्थिन् । फोनमा प्रत्येक पटक बिहेका लागि दबाब दिइरहन्थिन् ।
आयशा र दीपकको प्रेम र बिहेको विषयमा धेरै विवाद छन् । जुन भन्न मिल्ने नमिल्ने दुवै छन् । धेरै विवादबीच यो जोडीले २०६७ को फागुन २२ मा बूढानीलकण्ठ मन्दिरमा लगनगाँठो कसेको थियो । दीपकको परिवारकै उपस्थितिमा हिन्दु परम्पराअनुसार विवाह भएको थियो । जहाँ सीमित व्यक्तिमात्र उपस्थिति गराइएको थियो ।बिहेपछि आयशाले घरमा फोन गरेर जानकारी दिइन् । तर पारिवारिक स्वीकृतिविना विवाह गरेकामा आयशाका बाबुआमा रिसले आगो भएका थिए । ‘तैपनि मम्मी ड्याडीले मलाई निकै मिस गर्नुहुन्थ्यो । म पनि उहाँहरूलाई खुबै मिस गर्थें,’ आयशा ती दिन सम्झिन्छिन्, ‘उहाँहरूलाई बोल्न मन नभए पनि म हप्तामा एक दुई पटक हालखबर बुझ्न फोन गरिरहन्थें । उहाँहरू पनि मेरो आवाज सुन्नकै लागि भए पनि फोन उठाउनुहुन्थ्यो ।’
विवाह भएको दुई महिनापछि आमाको मुख हेर्ने औंसी आयो । दीपकले जोडबल गरेपछि आयशालाई माइती जाने आँट आयो । तर आमाको मुख हेर्न जाँदा परिवारबाट राम्रो प्रतिक्रिया आएन । तैपनि उनीहरूले हरेस खाएनन् । आमाबाबुको माया पुनः प्राप्त गर्ने प्रयासमा लागिरहे ।
विवाहको चार वर्षपछि दीपक र आयशाको पहिलो सन्तानको रूपमा २०७० असार १८ गते आदेशको जन्म भयो । आदेश १४ महिनाको हुँदा आयशा १२औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि एरिनामा फर्किइन् ।
आमा भइसकेपछि महिलाको शारीरिक बनोटमा धेरै परिवर्तन आउँछ । तर आयशाले सबै समस्या पाखा लगाउँदै १२औं सागमा रजत पदक जितेकी थिइन् ।
बिहेपछि पनि आयशाको जीवनमा कुनै परिवर्तन छैन । माइती घरमा पाउने माया र साथ सहयोग अहिले सासुससुराबाट पाउँछिन् । उनलाई लाग्थ्यो सधैं माइतीमै छु जस्तो ।
सबै कुरामा साथ र सहयोग गर्ने श्रीमान् र परिवार पाइन् । तर जन्म दिने आमाबुवाको विपरीत गएर विवाह गर्नुपरेकोमा भने आयशालाई अहिले अलि नरमाइलो भने लाग्ने गर्छ ।
यसैबीच उनले दोस्रो सन्तानको रूपमा २०७४ असोज १७ गते कान्छो छोरा आधालाई जन्म दिइन् । दुई सन्तानको आमा भइसकेकी आयशालाई कुनै बेला छोराहरूले भनेको नमान्दा आफूले आमाबुबाको मन दुखाएको स्मरण हुन्छ ।
‘मैले आमाबुबालाई रुवाएछु भनेर दुःख लाग्छ । अहिले छोराहरू सानै छन् । झुटो मात्र बोल्दा, घर ढिलो आउँदा मन नै कस्तो–कस्तो हुन्छ,’ उनले भनिन्, ‘पहिला फोन नबोक्दा प्रशिक्षणबाट म घर ढिलो पुग्दा ममी बरण्डामा कुरेर बस्नुहुन्थ्यो । ढिलो हुँदा गाली गर्नुहुन्थ्यो । अहिले आएर बुझिरहेको छु ।’
बिहेपछि महिलाको मात्र नभएर पुरुषको पनि जिन्दगी परिवर्तन हुँदोरहेछ । त्यसमा पनि महिलालाई बढी जिम्मेवारी बढ्छ ।
दीपकले परिवारमा खेलकुदमय वातावरणको सिर्जना गरिदिएकाले आयशालाई बिहेपछि खेलमा निरन्तर दिन कुनै गाह्रो भएन । तर उनको परिवारले खेलमात्र हैन परिवारलाई पनि ध्यान दिनुपर्छ भन्ने गर्थे ।
बिवाहपछि उनले धेरै प्रतियोगिता खेलेकी छन् । दुई वर्षअघि नेपालमै आयोजना भएको १३औं सागमा त आयशाले दुई स्वर्ण पदक जितेकी थिइन् ।
आयशाले खेलसँगै पढाइलाई पनि निरन्तरता दिइरहेकी थिइन् । बिहेअघि उनले ब्याचलर्स सकेकी थिइन् । बिहेपछि पनि पढाइलाई निरन्तरता दिइरहेकी आयशाले त्रिभुवन विश्व विद्यालयबाट स्पोर्ट्स साइन्समा मास्टर्स गरिरहेकी छन् ।
समयले धेरै समस्या आफै समाधान गरिसकेको छ । माइतीले अन्तरजातीय विवाह स्वीकार गरिसकेको छ । अहिले माइती र घरबीच सुमधुर सम्बन्ध स्थापित भइसक्यो । यसले उनीहरूको खुसी बढाएको छ ।
फागुनमा आयशा र दीपकबीच बिहे भएको ११ वर्ष पुग्छ । तर माया भने अझै पनि भर्खर प्रेम बसेको जोडीहरूको जस्तै नै छ ।
आज फ्रेब्रुअरी १४ अर्थात् प्रणय दिवस । यो दिन सबै प्रेमीहरूले आफ्नो मनको कुरा भन्ने र माया दर्शाउने गर्छन् । विशेष दिनका रूपमा प्रेमजोडीले यो दिन मनाउँछन् । तर, दीपक-आयशाको जोडीसँग त्यसका लागि कुनै विशेष योजना छैन ।
‘केही योजना छैन । उहाँको स्वास्थ्य अवस्था ठीक छैन । बच्चाहरूको अनलाइन कक्षा भएकाले अहिलेसम्म केही योजना बनाएका छैनौ । हेरौं के हुन्छ,’ आयशाले भ्यालेन्टाइन डेबारे भनिन् ।