टोटनहमको सत प्रतिसत नतिजा

लन्डन, (खेलाडी)-, इङ्लिस प्रिमियर लिगमा टोटनहमले सतप्रतिसत नतिजाको यात्रालाई कायम राख्ने क्रममा आइतबार राति वाट्फोर्डमाथि १-० को साँघुरो जित हासिल गरेको छ । 

घरेलु टोटनहम हटस्पर रंगशालामा ह्युङ मिन सनले पहिलो हाफमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो । दक्षिण कोरियाका स्टार सनले खेलको ४२औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । 

तीन खेलमा सतप्रतिसत जित निकालेको टोटनहम ९ अंकसहित प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको वाटफोर्ड १२औं स्थानमा छ । 

आइतबारै भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् । घरेलु मैदानमा बर्नलीले सुरुमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँडेको थियो । 

बर्नलीका लागि ६१औं मिनेटमा क्रिस उडले गोल गर्दै अग्रता दिलाएका थिए । तर समय सकिन दुई मिनेट बाँकी रहँदा प्याट्रिक बामफोर्डले लिड्सका लागि बराबरी गोल गरे ।