नवप्रवेशी इम्पोलीसँग युभेन्टस घरमै स्तब्ध

टुरिन, (खेलाडी)- लियोनार्दो मान्कुसोको गोलमा इटालियन सिरी ‘ए’को नवप्रवेशी टोली इम्पोलीले टुरिनमा महारथी युभेन्टसमाथि १-० को सनसनीपूर्ण जित हासिल गरेको छ । 

घरेलु लिगको दोस्रो खेलसम्म पनि युभेन्टस विजयरहित छ । मान्कुसोले भने आफ्नो टोलीको पाँच खेलको गोलरहित लिग यात्रामा पूर्णविराम लगाउने क्रममा युभेन्टसविरुद्ध उसैको मैदानमा गोल गरे ।

पूर्व क्लब म्यानचेस्टर युनाइटेड सरुवाको नजिक रहेका क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिँदा युभेन्टसको आक्रमणमा फेडेरिको किइसाले नेतृत्वगरेका थिए । तर उनले तीन पटक गोलको प्रयास गरे पनि विपक्षी टोलीका गोलकिपरलाई छिचोल्न सकेनन् ।

इटालियन सिरी ‘ए’मा गए राति नै सम्पन्न अन्य खेलमा फियोरेन्टिनाले टोरिनोमाथि २-१ को नतिजामा हराउँदा बोलोग्ना र एट्लान्टाले गोलरहित बराबरी खेले ।