Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

लेभान्टेमाथि बार्सिलोनाको सहज जित

बार्सिलोना, (खेलाडी)- मेम्फिस डिपे, जुक डी होङ र अंशु फातीको गोलमा बार्सिलोनाले आइतबार लेभान्टेमाथि ३-० को जित हासिल गर्दै स्पेनिस ला लिगाको पाँचौं स्थानमा उक्लिएको छ ।

डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औं मिनेटमा दोस्रो गोल गरेका थिए । डी होङले सेर्गिनो डेस्टको पासमा गोल गरेका थिए । पहिलो हाफमै दुई गोलको अग्रता लिएर आरामदायी अवस्थामा पुगेको टोलीका लागि फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे । 

जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौं स्थानमा उक्लिँदा पराजित लेभान्टे चार अंकका साथ १७औं स्थानमा छ । 

स्पेनिस ला लिगामा आइतबारै सम्पन्‍न अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो । 

मायोर्काको मैदानमा जोसे एन्जेलको गोलमा ओसासुनाले नवौं मिनेटमा अग्रता लिएको थियो । एन्जेलले जोन मोंकायोलाको पासलाई गोलमा परिणत गरेका थिए । 

ड्यानिअल रोडरिग्वेजले साल्भा सेभियाको पासलाई गोलमा परिणत गर्दै ११औं मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काएका थिए । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा अमाथ एनडियायेको पासमा गोल गर्दै फेर निनोले मायोर्कालाई २-१ को अग्रता दिलाए । 

तर, दोस्रो हाफमा दुई गोल गर्दै ओसासुनाले नतिजा आफ्नो पक्षमा पार्‍यो ।ओसासुनाका लागि ५८औं मिनेटमा इनिगो पेरेजले बराबरी गोल गरे भने समय सकिन दुई मिनेट बाँकी रहँदा जाभी मार्टिनेजले म्यानुअल सान्चेजको पासमा गोल गर्दै भ्रमणकारी टोलीलाई तीन अंक दिलाए । 

जितपछि ओसासुना ११ अंकका साथ आठौं स्थानमा उक्लिँदा आठ अंकमै सीमित मायोर्का १२औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

\