मेसीको अनुपस्थिती महशुस भइरहको छ: प्रशिक्षक कोइम्यान

बार्सिलोना (खेलाडी) – स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले टोलीमा पूर्व कप्तान तथा सर्वकालिन महान् खेलाडी मेसीको अनुपस्थिती महशुस भइरहेको बताएका छन् ।
 
बार्सिलोनाको २० वर्ष लामो बसाई टुङ्ग्याएर मेसी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा अनुबन्ध भएका छन् ।

मेसी पेरिस पुगेयता पिएसजीले दुई खेल खेलिसके पनि मेसीले डेब्यू गर्न बाँकी छ । यता बार्सिलोनाले भने मेसी बिना खेलेका दुई खेलमा मिश्रित नतिजा निकालेको छ । स्पेनिस ला लिगाको बार्सिलोनाले सिजनको पहिलो खेलमा रियाल सोसिडासविरुद्ध जित निकालेको थियो ।

दोस्रो खेलमा भने एथ्लेटिक बिल्वाओविरुद्ध बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा बराबरीसँगै प्रशिक्षक रोनाल्ड कोइम्यानले बार्सिलोनामा मेसीको अनुपस्थिती महशुस भइरहेको बताएका छन् ।

मेसीले बार्सिलोनाबाट एथलेटिक विल्बाओविरुद्ध २९ गोल गरेका थिए । बार्सिलोनाले आइतबार घरेलु टोली बिल्बाओविरुद्ध १–१ को बराबरी खेलेको थियो ।

‘यदि तपाई मेसीलाई बल दिइयो भने प्रायः जसो उनी बल गुमाउँदैनन् । तर, उनी यहाँ छैनन् । हामीलाई थाहा छ । र, हामी यसलाई बदल्न सक्दैनौं,’ कोइम्यानले भने ।

बार्सिलोनालाई ला लिगामा तेस्रो खेल खेल्नुअघि एक हप्ताको पूर्ण आराम छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा अगस्ट २९ मा गेटाफेविरुद्ध खेल्नेछ ।