डाइमन्ड ‘गर्ल’ रियाको अहिले शल्यक्रिया गरिँदै

काठमाडौं, (खेलाडी)- होङ्वान्जी न्यु डाइमन्ड क्लबकी अलराउन्डर रिया कुँवरको घुँडाको आज शल्यक्रिया हुँदैछ । 

पछिल्लो केही सातादेखि घुँडाको चोटका कारण आराममा रहेकी रियाको वीर अस्पतालको ट्रमा सेन्टरमा अहिले बिहान ९ बजे हाडजोर्नी नशा तथा आर्थाेस्कोपीक सर्जन डाक्टर भद्र हमाल र उनको टिमले शल्यक्रिया गर्नेछ । 

पाँच हप्ता अगाडि अभ्यासका क्रममा घुँडामा चोट लाग्दा रियाको एन्टेरियर क्रुसेट लिगामेन्ट चुँडिएको डाक्टर हमालले खेलाडीलाई जानकारी गराए । 

डाक्टर हमालका अनुसार घुँडामा चारवटा लिगामेन्ट हुन्छ । चारवटा मध्ये दुईवटा साइडबाट र दुईवटा जोर्नीको भित्र क्रस भएर बसेको हुन्छ । ‘रियाको तिनै चारमध्ये एउटा चुँडिएको छ,’ डाक्टर हमालले भने । 

उमेरले भर्खर १६ वर्ष लागेकी रिया भलिबलकी एक उदाउँदो खेलाडी हुन् । उनी फिलिपिन्समा हुने भनिएर पछि नेपाली टोलीको सहभागिता रद्द गराइएको एसियन महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा पनि परेकी थिइन । तर चोटका कारण भविश्यको स्टारका रुपमा हेरिएकी रियाले आसन्न एनभिए च्याम्पियनसिप गुमाउने भएकी छिन् ।
 
तर त्यसपछिका प्रतियोगिताहरु गुमाउनु नपरोस भनेर शल्यक्रिया गराउन लागेको रियाले बताइन । चिकित्सकहरुका अनुसार शल्यक्रिया नगराए पनि हिड्डुल लगायतका सामान्य जनजीवनका कृयाकलापमा असर गर्दैन । तर खेल गतिविधिमा फर्किन भने उनले शल्यक्रिया गराउनै पर्छ ।

डाक्टर हमालका अनुसार दुरपिन पद्दतिबाट रियाको शल्यक्रिया हुनेछ ।

‘हामीले दुरपिन पद्दतिबाट घुँडामा सानो प्वाल बनाएर पहिलाको चुँडिएको लिगामेन्टमा टेन्डन गरेर राख्छौं । समयसँगै बिस्तारै पछि राखेको लिगामेन्ट पहिलाको जस्तै भएर आउछ,’ डाक्टर हमालले भने, ‘पहिलाको जस्तै खेल्नको लागि ६ देखि ९ महिना लाग्छ । शल्यक्रिया गरेको भोलिपल्ट बाटै फिजियोथेरापी सुरु हुन्छ ।’

रियाले सामान्यतया २ देखि ३ हप्तासम्म बैसाखीको प्रयोग गर्नुपर्नेछ । राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीको सम्मानको लागि अस्पतालको खर्च सबै निशुल्क गरिदिएको छ । तर इन्प्लान्ट बाहिरबाट मगाउनु पर्ने हुँदा त्यसको पैसा लाग्ने डाक्टर हमाल बताउछन् । 

‘खेलाडीहरुले देशको नाम राख्ने काम धेरै गरेका हुन्छन् । त्यसैले राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीको सम्मानका लागि अस्पतालको खर्च सबै निशुल्क गरिदिने निर्णय गरेको छ,’ उनले भने ।