Breaking News
गृहपृष्ठ/ अन्य
Image
Image
Image
Image
- खेलाडी

तालिवानीको राज्यकब्जामा थिचिएको अफगानी बिकलांग खेलाडीको सपना 

काबुल, (खेलाडी)- अफगानिस्तानमा तालिवानीहरुले कब्जा गरेसँगै त्यहाँको खेल क्षेत्र अस्तव्यस्त बनेको छ । यही अस्तव्यस्तामा पिल्सिन पुगेकी छिन्, तेक्‍वादो खेलाडी जाकिया खुदादादी ।

अफगानिस्तानकी तेक्‍वान्दो खेलाडी खुदादादी टोकियो पारा ओलम्पिकमा ऐतिहासिक रुपमा राष्‍ट्रको पहिलो महिला खेलाडीको रुपमा सहभागी हुदै थिइन् । तर, उनको र अफगानिस्तानको यो ऐतिहासिक मोडलाई तालिवानीहरुको ‘राष्ट्रकब्जा’ले अन्यत्रै मोडिदियो ।

अगस्ट २४ बाट जापानको टोकियोमा सुरु हुन लागेको पारा ओलम्पिकको लागी जाकियासँगै अर्का ट्रयाक खेलाडी हुसेन रसौली पनि अफगानिस्तानको प्रतिनित्वका लागी तयार थिए ।  तर, यि दुवैको सपना तालिवानीहरुले बिथोलिदिए ।

‘एक अशक्त महिला भएको नाताले मैले प्रतियोगितामा सहभागिताको लागी काबुलसम्म आइपुग्‍न निक्कै संघर्ष गर्नु पर्‍यो । तर, अहिले मेरो जीवन सुरक्षित समेत छैन्,’ खुदादादीले पारा ओलम्पिकका लागि गरेको संघर्ष र अहिलेको डर एकैपटक बताइन ।
 
खुदादादी काबुलमा एक्लै छिन् । उनको परिवार उनिसँग छैन् । खुदादादीको परिवार अफगानिस्तानको अर्को सहर हेरतमा बस्दछ । र यो सहर पनि अफगानिस्तानको बाँकी भुभागजस्तै तालिवानी कब्जामा छ । 

‘म कुनै पनि समयमा मेरो परिवार र ममाथी हुन सक्ने नराम्रो घटनालाई कुर्दै छु’, उनले भनिन्, ‘यो मेरो डरको सबैभन्दा उच्च अवस्था हो, जसले मलाई गलाउदै गएको छ ।’

‘हामी तालिवानको नियन्त्रणमा छौं । यो मेरो परिवार र मेरो लागि सबैभन्दा ठूलो दुःस्वप्‍न हो’, उनले थपिन् ।

अन्तर्राष्‍ट्रिय पारा ओलम्पिक कमिटी (आइपिसी) को तथ्यांकअनुसार, खुदादादीले १८ वर्षको उमेरमा इजिप्‍टमा भएको पहिलो अफ्रिकन पारा-तेक्‍वान्दो च्याम्पियनसिप २०१६ जितेकी थिइन् । 

आर्थिक अभाव, सरकारी सहयोगको कमी र कोरोना महामारीका कारण खुददादीसँगै हुसेन रसौलीले पनि टोकियोमा हुने प्रतियोगिताको छनोट खेल खेल्न पाएनन् । 

यद्पी, दुवैले वाइल्डकार्ड इन्ट्रीमार्फत सहभागिताको अवसर पाएका थिए । खुदादागीले तेक्‍वान्दोको ४४ केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । 


खुदादादीले आइपिसीलाई आफूले सकेअनुसारको उत्कृष्‍ट प्रदर्शन गर्ने बताएकी छिन् । खुदादागी र रसौल मंगलबार टोकियो ओर्लने तय थियो । 

तर, सोमबार आइपिसीले एक वक्तव्य जारी गर्दै अफगानिस्तानको राष्‍ट्रिय पारा ओलम्पिक कमिटी प्रतियोगितामा सहभागी नहुने बतायो । 

‘अफगानिस्तानमा रहेको अत्यन्तै असामान्य परिस्थितीका कारण त्यहाँका सबै विमानस्थलहरु बन्द छन् । उनीहरुसँग टोकियोसम्मको यात्राका लागि कुनै पनि माध्यम छैन्,’  आइपिसीले भनेको छ, ‘हामी अफगानी टोली र अधिकारहरु सुरक्षित र सकुशल रहुन भन्‍ने आशा गर्छौ ।’

‘मैले यहाँसम्म आउन धेरै उतार चढाव पार गरेको छु । मैले यहाँसम्म आउन धेरै दिन र रात कटाएको छु । यसलाई यहीँ रोक्नु उचित छैन् । तर म निरीह छु,’ उनले भनिन् ।
 
रोयटर्सले सार्वजनिक गरेको एक भिडियोमा उनले अन्तर्राष्‍ट्रिय समुदायसँग सहयोगका लागी अपिल गरेकी छिन् । 

‘म विश्‍वभर रहेका महिलाहरु, महिला अधिकारवादी संगठन र सरकारका अंगहरु सबैलाई पारा ओलम्पिकमा अफगानिस्ताको महिला सहभागिताको अधिकारलाई सुनिश्‍चित गरिदिन आग्रह गर्दछु । मैले यहाँसम्म आइपुग्‍न निकै कष्‍टहरु झेलेको छु । म मेरो संर्घषलाई बेकार र नतिजाविहीन बनाउँन चाहन्‍न,’ भिडियोमा उनले भनेकी छिन् । 

प्रतिक्रिया दिनुहोस

\