बराबरीबाट नागेल्सम्यानको बायर्न करियर सुरु

बर्लिन, (खेलाडी)- बायर्न म्युनिखको मुख्य प्रशिक्षकको रुपमा जुलियन नागेल्सम्यानको सुरुआत शनिबार बोरुसिया मोन्चेनग्लाडबाचसँग १-१ को बराबरीका साथ भएको छ ।

आरबी लिपजिगबाट हालै मात्र बायर्न पुगेका नागेल्सम्यानले टोलीको समग्र प्रदर्शनमा सन्तोष गर्ने ठाउ भए पनि नतिजा भने निराशाजनक रह्‍यो । 

बायर्नले खेलमा पूर्ण रुपमा नियन्त्रण कायम राखे पनि पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा विजयी नतिजा निकाल्नबाट चुक्यो । 

सुरुमा बायर्न केही अल्मलिएको जस्तो देखिँदा मोन्चेनग्लाडबाचले १०औं मिनेटमा हकलाग्दो अग्रता लियो । एलासाने प्लियाले लार्स स्टिन्डिको पासमा गोल गर्दै मोन्चेनग्लाडबाचलाई अग्रता दिलाएका थिए । 

मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा रोबर्ट लेवान्डोवस्कीले सानदार भलीमा गोल गर्दै खेल बराबरीमा ल्याए । जेसुवा किमिचको पासलाई लेवान्डोवस्कीले गोलमा परिणत गरेका थिए । 

गोल गर्नुअघि लेवान्डोवस्कीका तीन प्रहार विपक्षी गोलकिपर यान सोमरले बचाएका थिए । तर बराबरी गोलपछि लेवान्डोवस्कीले यसअघि लगातार ११ खेलसम्म गोल गर्दै बनाएको आफ्नै उत्कृष्‍ट लयसँग बराबरी गरे । 

जर्मन बुन्डेसलिगामा शनिबारै सम्पन्‍न अन्य खेलमा बोरुसिया डर्टमन्डले इन्ट्रयाक्ट फ्रयांकफर्टमाथि ५-२ को जित हासिल गर्‍यो । 

यसैगरी उल्फसबर्गले बोचुममाथि १-० को जित निकाल्दा भिएफबी स्टुटगार्टले नवप्रवेशी ग्रेउथर फुइर्थलाई ५-१ को नतिजामा हरायो । 

युनियन बर्लिन र बायर लेभरकुसनले १-१ तथा एमिनिया बिलेफिल्ड फ्रेइबर्गले गोलरहित बराबरी नतिजा निकाल्दा होफेनहेइमले औसबर्गलाई ४-० ले हरायो ।