रोनाल्डोले गोल गरे पनि युनाइटेड पराजित

लन्डन, (खेलाडी)- स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि म्यानचेस्टर युनाइटेडबाट इङलिस प्रिमियर लिगमा पुनरागमन सुखद बने पनि च्याम्पियन्स लिगमा भने उनको सुरुआत निराशाजनक रहयो । 

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको समूह ‘एफ’को खेलमा एरोन भान बिसाका रातो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित हुँदै मैदान छोडेको युनाइटेड योङ ब्वाइजसँग २-१ ले पराजित भयो ।

शनिबार ओल्ड ट्राफोर्डमा दुई गोल गर्दै युनाइटेड पुनरागमनको सुखद सुरुआत गरेका रोनाल्डोले रोनाल्डोले योङ ब्वाइजविरुद्ध एक गोल गरे पनि ओले गनर सोल्सायरको टोलीबाट च्याम्पियन्स लिग फिर्ति भने सुखद बनाउन सकेनन् । रोनाल्डोले पछिल्लो पटक सन् २००९ मा युनाइटेडबाट च्याम्पियन्स लिग खेलेका थिए । फाइनलमा युनाइटेड बार्सिलोनासँग पराजित भएको थियो ।

१३औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा रोनाल्डोले बललाई जाली चुमाउँदा युनाइटेडले अग्रता लिएको थियो । ६६औं मिनेटमा निकोलस एनगाम्लेयुले योङ ब्बाइजलाई खेलमा फर्काएका थिए । इन्जुरी समयको पाँचौ मिनेटमा थियोसन जोर्डन सेइबात्चेयुले गोल गर्दै योङ ब्बाइजको जित पक्का गरेका थिए ।

सोही समूहको अर्को खेलमा गए राति एट्लान्टा र भियारियालले २-२ को बराबरी खेले ।