लुकाकुको गोलमा चेल्सीको कठिन जित, युभेन्टसको पनि विजयी सुरुआत

लन्डन, (खेलाडी)- रोमेलु लुकाकुले चेल्सीका लागि च्याम्पियन्स लिगमा पहिलो गोल गर्दा गए राति साविक विजेता टोलीले जेनिट सेन्ट पिट्सबर्गमाथि १-० को कठिन जित हासिल गर्दै उपाधि रक्षा अभियान सुरु गरेको छ । 

च्याम्पियन्स लिगको इतिहासमा साविक विजेताले सिजनको पहिलो खेल जम्मा दुई पटकमात्र हारेका छन् । तर चेल्सीका लागि घरेलु स्टामफोर्ड ब्रिजमा जेनिटविरुद्धको खेल निक्कै कठिन बनेको थियो । 

तथापि थोमस टचेलको टोलीका लागि क्लबले कीर्तिमानी मुल्यमा भित्रयाएका लुकाकुले गोल गर्ने लयलाई निरन्तरता दिँदा चेल्सी समूह ‘एच’मा विजयी सुरुआत गर्न सफल भयो । 

घरेलु प्रिमियर लिगअन्तर्गतको खेलमा एस्टन भिल्लाविरुद्ध दुई गोल गरेका लुकाकुले गए राति ७९औं मिनेटमा हेडबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाए । सिजर एज्पिलिक्वेटाको निक्कै उचाईबाट आएको क्रसलाई लुकाकुले गोलमा परिणत गरेका थिए ।

जेनिटका वैकल्पिक खेलाडी आर्टेम डिजुबाले त्यसपछि पाँच यार्डमा पाएको बललाई गोलमा परिणत गर्न नसक्दा लुकाकुले गरेको त्यही गोल खेलमा निर्णायक बन्यो । 

समूहमा एलेक्स सान्ड्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरेपछि क्रिस्टियानो रोनाल्डोविनाको युभेन्टसले पनि विजयी सुरुआत गर्यो ।

माल्मो एफएफको भ्रमणमा निस्किएको इटालियन महारथीले ३-० को जितका साथ विजयी सुरुआत गर्दा रोड्रिगो बेन्टान्करको पासमा सान्ड्रोले गोल गर्दै २३औं मिनेटमा अग्रता दिलाएका थिए । 

पहिलो हाफको अन्तिम मिनेटमा प्राप्त पेनाल्टीलाई डिबालाले गोलमा परिणत गरे भने पहिलो हाफको इन्जुरी समयमा मोराटाले अर्को गोल गर्दै मध्यान्तरअघि नै भ्रमणकारी टोलीको जित पक्का गरे । 

युभेन्टसका पोर्चुगाली स्टार रोनाल्डो गत महिना आफ्नै पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका थिए । पाँच पटकका बालन डी अर विजेता रोनाल्डोको अनुपस्थितीमा टोलीको आक्रमण कमजोर हुने आशंका गरिएको थियो ।