Breaking News
गृहपृष्ठ/ फुटबल
Image
Image
Image
Image
- खेलाडी

विश्वकप छनोट खेल्न दक्षिण अमेरिका भ्रमण गरेकाले सप्ताहन्तको प्रिमियर लिग खेल्न पाउने

लन्डन, (खेलाडी)– विश्वकप छनोट खेलका लागि गएका दक्षिण अमेरिकी देशका खेलाडीलाई पाँच दिन निलम्बन गर्ने चेतावनी दिइए पनि उनीहरुले इङ्लिस प्रिमियर लिगअन्तर्गत सप्ताहन्तका खेल खेल्न पाउने भएका छन् । 

कोभिड १९ महामारीको अत्यन्तै जोखिममा रहेका भन्दै बेलायती सरकारले रेड जोनमा राखेका देशका खेलाडीलाई अन्तर्राष्ट्रिय खेलका लागि रिलिज नगर्ने प्रिमियर लिगले निर्णय गरेको थियो । 

लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी र म्यानचेस्टर सिटीलगायतका क्लबले विश्वकप छनोटका लागि दक्षिण अमेरिकी देशका खेलाडीलाई रिलिज गरेका थिएनन् । जवकि एस्टन भिल्ला, टोटनहमलगायतका केही क्लबले भने आफ्ना खेलाडी रिलिज गरेका थिए ।

ब्राजिल र अर्जेन्टिनाबीचको खेल प्रिमियर लिगकै खेलाडीका कारण सुरु भएको पाँच मिनेटमा विवादास्पद रुपमा रोकिएको थियो ।

कोभिड १९ महामारी नियन्त्रणका लागि लागु गरिएको स्वास्थ्य मापदण्ड अर्जेन्टिनी टोलीका चार खेलाडीले नमानेको भन्दै ब्राजिली स्वास्थ्य अधिकारीहरुले सोमबार बिहान विश्वकप छनोटअन्तर्गतको खेल सुरु हुनेवित्तिकै रोकेका थिए । स्वास्थ्य अधिकारीहरुले बेलायतबाट आएका चार अर्जेन्टिनी खेलाडीहरुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम उल्लंघन गरेको भन्दै मैदानमै प्रवेश गरेर ब्राजिल र अर्जेन्टिनाबीचको खेल रोकेका थिए । 

ब्राजिलको स्वास्थ्य मापदण्डअनुसार बेलायतबाट आउने मानिसले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्छ । बेलायतले पनि पछिल्लो १४ दिनमा ब्राजिलमा रहेको मानिसले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरेको छ । 

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत अंकतालिकाको शीर्ष दुई टोलीबीचको खेलमा अर्जेन्टिनाले एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेज र टोटेनहमका दुई खेलाडी क्रिस्टियन रोमेरो तथा जियोभानी लो सेल्सोलाई पहिलो रोजाइमै राखेको थियो । 

ब्राजिलले पनि प्रिमियर लिगका नौं खेलाडीलाई टिममा समावेश गरेर बोलाएको थियो । तर दुवै देशमा लागु कडा स्वास्थ्य मापदण्डका कारण प्रिमियर लिगका अधिकांश क्लबहरुले खेलाडी रिलिज नगरेपछि ब्राजिलका कुनै पनि खेलाडी आएका थिएनन् । 

प्रिमियर लिगका क्लबहरुले जस्तो निर्णय गरे पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नियमअनुसार खेलाडीको देशले अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी लैजान पाउँछन् । तर छलफलबाटै समस्याको समाधान भएपछि नियमको पछि लाग्नु नपरेको फिफाले जनाएको छ । 

‘अत्यन्तै रचनात्मक छलफलपछि बेलायती सरकारबाट अक्टोबरको अन्तर्राष्ट्रिय विन्डोका लागि सकारात्मक सन्देश हामीले प्राप्त गरेका छौं,’ फिफाले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

फिफा, फुटबल संघ (एफए) र प्रिमियर लिगको नेतृत्वले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पत्र लेखेर समस्याका समाधान खोज्न आग्रह गरेका थिए । 

‘बेलायती सरकारले यसका सरोकारवाला तीन वटै निकाय फिफा, एफए र प्रिमियर लिग सबैलाई सहज हुने गरी उपाय निकालेको छ । तीन पक्षको सहमतिमा फुटबललाई फाइदा हुने गरी निर्णय गर्न ढोका खुलेको छ,’ फिफाको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

\