नौं खेलाडीमा सिमित कतारमाथि पोर्चुगलको जित

बुदापेस्ट, (खेलाडी)- ओटाभियोले राष्ट्रिय टोलीका लागि गोलका साथ ‘डेब्यु’ जनाउँदा पोर्चुगलले गए राति हंगेरीको नागेर्डी रंगशालामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नौं जनामा सिमित भएर मैदान छोडेको कतारमाथि ३-१ को जित हासिल गरेको छ । 

पोर्चुगलले विश्वकप छनोटअन्तर्गत बुधबार आयरल्यान्डमाथि २-१ को जित हासिल गरेको पूरै टोलीलाई आराम दिएर शनिबार सबै ११ खेलाडी परिवर्तन गरेको थियो । जसका कारण खेलको सुरुआति समयमा टोली संघर्षरत अवस्थामा देखियो । 

तर आन्द्रे सिल्भा र ओटाभियोले हेडबाट गोल गरेपछि मध्यान्तरअघि नै पोर्चुगलले खेल आफ्नो नियन्त्रणमा लिइसकेको थियो । सिल्भाले २३औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि ओटाभियोले टोलीको अग्रता दोब्बर पारे । 

६१औं मिनेटमा अब्देलकरिम हसनले एक गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर समय सकिन दुई मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको सहज जित पक्का गरे । 

अर्को वर्ष विश्वकप आयोजनाको तयारीमा रहेको कतारका मेशाल बार्शाम र गोलकर्ता हसनले रातो कार्ड सामना गर्दै मैदान छोडेपछि टोली ९ जनामा सिमित भएर मैदान छोड्न बाध्य भयो ।