जोकोभिचको विजयी सुरुआत

न्युयोर्क, (खेलाडी)- वर्षका सबै चार ग्राण्ड स्लाम जित्ने अभियानमा सुखद सुरुआत गर्ने क्रममा विश्व नम्बर एक सर्वियाली खेलाडी नोभाक जोकोभिचले मंगलबार जितका साथ युएस ओपनको दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन् । 

जोकोभिचले मंगलबार युएस ओपनको पहिलो चरणमा चार सेटसम्म संघर्ष गर्दै होल्गर नोइड्स्कोभ रुनेमाथि ६-१, ६-७ (५/७), ६-२, ६-१ को जित हासिल गरे । 

करियरमा २१औं ग्रान्ड स्लाम उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको नाममा रहेको सर्वाधिक ग्रान्ड स्लाम जित्ने कीर्तिमानसँग बराबरी गर्ने उद्देश्यमा रहेका जोकोभिचले जारी युएस ओपन जिते अर्को अनुपम कीर्तिमानमा पनि नाम लेखाउने छन् । 

यो वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका सर्बियाली स्टारले युएस ओपन जिते एकै वर्ष सबै चार ग्रान्ड स्लाम जित्ने कीर्तिमान उनको नाममा हुनेछ । 

यस्तो सफलता हासिल गर्ने उनी विश्व टेनिसमा दोस्रो खेलाडी बन्नेछन् । यसअघि १९६९ मा रड लाभरले मात्र एकै वर्षमा सबै चार ग्रान्ड स्लाम जित्ने सफलता हासिल गरेका थिए । उनको त्यो कीर्तिमानसँग अहिलेसम्म कसैले बराबरी गर्न सकेका छैनन् ।