डाक्टर बन्ने सपना बोकेकी फेन्सर

कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्दै गरेकी शिक्षा नापितको लक्ष्य आँखाको राम्रो चिकित्सक बन्ने छ । सामान्यतः विज्ञान विषय अध्ययनका लागि कठिन मानिन्छ । त्यसमाथि डाक्टर बन्ने सपना त झनै सजिलो हुने प्रश्नै भएन ।

डाक्टर बन्ने सपना पूरा गर्न विद्यार्थीसँग पढाइमा एकोहोरिनुको विकल्प हुँदैन । ध्यान अन्यत्र मोड्ने कुनै छुट हुँदैन । तर केही यस्ता विलक्षण विद्यार्थी पनि हुन्छन्, जो पढाइसँगै अर्को कुनै एउटा पक्षलाई पनि सँगै अगाडि बढाउन सक्षम हुन्छन् ।

शिक्षा त्यस्तै विलक्षण प्रतिभाकी किशोरी हुन् । त्यसैले पढाइ सँगसँगै खेलकुदलाई अगाडि बढाइरहेकी शिक्षा नेपाली फेन्सिङको आशा बन्न सफल भइसकेकी छन् । ‘साइन्स पढ्नेले फेन्सिङ खेल्ने !’ भनेर सहपाठीहरू उनलाई जिस्क्याउँछन् । तर, शिक्षालाई भने त्यसले कुनै असर गर्दैन । भन्छिन्, ‘मैले दुवै क्षेत्रलाई मिलाएर अगाडि बढाइरहेकी छु । पढाइ मेरो लक्ष्य हो, फेन्सिङ चाहिँ लगाब ।’

यसै साता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद कभर्डहलमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा शिक्षाले दोहोरो पदक जितिन् ।

महिला व्यक्तिगत सेबरतर्फ स्वर्ण पदक जितेकी शिक्षाले टिम फोइलतर्फ चाहिँ रजत पदकमा चित्त बुझाइन् । उनले फेन्सिङ खेल्न थालेको चार वर्षमात्र भयो । तर खेलमाथिको असाधारण पकड र विलक्षण क्षमताका कारण खेल्न थालेको थोरै समयमै यो खेलमा उनको पहिचान विशेष बनिसकेको छ ।

खासमा शिक्षाले जिम्न्यास्टिकबाट खेलाडी जीवन सुरु गरेकी थिइन् । जिम्न्यास्टिकबाटै उनी २०७२ मा पूर्वाञ्चलमा सम्पन्न सातौं बृहत राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिएकी थिइन् । त्यतिबेला शिक्षासहितको टोलीले राष्ट्रिय खेलकुदमा टिम स्पर्धामा रजत पदक जित्यो, जुन उनको करियरमा पहिलो सफलता थियो ।

शिक्षालाई उनको जन्मथलो काठमाडौंको नयाँबजार हुनुको संयोगले जिम्न्यास्टिक खेलाडी बनाएको थियो । घर नजिकै रहेको एमसिए हलमा जिम्न्यास्टिकको प्रशिक्षण हुन्थ्यो । पिता अनिलले सानी छोरीलाई एमसिएमा जिम्न्यास्टिक प्रशिक्षणमा भर्ना गरिदिए । त्यसपछि स्कुल जानुअघि र स्कुलबाट फर्केपछि शिक्षाको दैनिकी जिम्न्यास्टिकसँगै बित्न थाल्यो ।

२०७२ सालको महाभूकम्पले एमसिएको प्रशिक्षण नरोकेसम्म शिक्षाको त्यही दैनिकी निरन्तर थियो । तर भुइँचालोपछि प्रशिक्षण रोकियो । उनी पनि पढाइमा मात्र केन्द्रित हुन थालिन् । खेल्ने मौका नपाएका कारण मात्र उनी खेलकुदबाट टाढिएकी थिइन् ।

बुबाले छोरीको खाली समय उपयोग होस् भनेर भर्ना गरेको जिम्न्यास्टिक केही समय खेलेपछि शिक्षामा खेलकुदप्रति बेग्लै लगाब बसिसकेको थियो । जिम्न्यास्टिक खेल्ने बाटो एमसिएको प्रशिक्षण रोकिएसँगै बन्द भएको थियो । त्यसपछि पनि कुनै न कुनै खेलमा लाग्ने इच्छा उनमा नभइएको होइन ।

‘यत्तिकैमा दरबारमार्गको शेर्पा मलमा फेन्सिङको प्रदर्शनी खेल भएको थाहा पाएँ । मैले पनि त्यसमा सहभागिता जनाएँ । त्यसपछि यही खेल मेरो रोजाइ हो भन्ने भयो र फेन्सिङतिर लागें,’ खेलाडीसँगको कुराकानीमा शिक्षाले २०७४ सालमा फेन्सिङसँग नाता गाँस्दाको क्षण स्मरण गरिन्, ‘सुरुमा त यो कस्तो खेल होला जस्तो लागेको थियो । तर पहिलो पटक दिनभर हेरेपछि मनपरेको थियो । रमाइलो लाग्यो, त्यसपछि यही खेलमा लागेर केही गर्छु भन्ने अठोट गरें ।’

लगत्तै उनले महाराजगन्जस्थित शिवपुरी स्कुलमा प्रशिक्षण थालिन् । त्यसको दुई महिनामै शिक्षाले राखेप च्याम्पियनसिपअन्तर्गत फेन्सिङ प्रतियोगितामा सहभागिता जनाइन् । फेन्सिङको पहिलो प्रतिस्पर्धामा प्लेटफर्ममा उत्रिँदा उनको उमेर ११ वर्षमात्र थियो । त्यसपछि उनको फेन्सिङ यात्राले राष्ट्रिय स्तरमा आठौं बृहत राष्ट्रिय खेलकुद र यसै साता सम्पन्न वीर गणेशमान सिंह प्रतियोगिता गरी तीन ठूला प्रतिस्पर्धाको अनुभव बटुलेको छ । आठौं राष्ट्रिय खेलकुदमा उनले व्यक्तिगत र टिम स्पर्धामा कांस्य पदक जितेकी थिइन् ।

विश्व खेलकुदमा फेन्सिङ प्राचीन खेल भए पनि नेपालमा भने यसको खासै चर्चा छैन । फेन्सिङ भनेको तरवारबाजीकै आधुनिक रूप हो । तर, नेपालको हकमा आमसमर्थक मात्र होइन, खेलकुदमै लागेका पनि धेरैलाई यो खेलको विशेषता थाहा छैन । शिक्षालाई भने दिनभर हेरेपछि फेन्सिङको यही पक्ष मनपरेको थियो ।

‘खेलकुदमा करियर नबनाउनेले पनि स्कुलमा बास्केटबल र फुटबल जस्ता खेल त खेलेकै हुन्छन् । मलाई फेन्सिङ अलि फरक खालको खेल लाग्यो । प्रालीन तरबारबाजीमा प्रविधि मिसाइएपछि बनेको जस्तो यो खेल पहिलो दिन नै मनपरेको हो,’ उनले थपिन् ।

फेन्सिङसँग बलियो नाता गाँसिइसके पनि कलेज जीवन सुरु भएपछि पहिलाजस्तो समय निकाल्न नसकेकामा उनलाई खेद छ । पढाइ र खेललाई सँगै लैजाने छोरीको प्रतिबद्धता व्यवहारमै बुझेकाले घरबाट आमाबुबा फेन्सिङ खेल्न हौस्याइरहन्छन् ।

‘तर मलाई चाहिँ स्कुल पढ्दाजस्तो सजिलो छैन । साथीहरू साइन्स पढेर पनि खेल्ने भन्दै गिज्याउँछन् । खेल र पढाइ सँगै लानुपर्ने चुनौतीका कारण दैनिकी कठिन छ । तर म प्रतिबद्ध छु,’ उनी विश्वास पोख्छिन् ।

फेन्सिङलाई जीवनको अभिन्न पाटो बनाउने अठोट गरिसकेकी शिक्षा त्यही कारण प्रतियोगिता नहुँदा पनि अभ्यासलाई निरन्तता दिन्छिन् । साँझ दैनिक दुई घण्टा नियमित औपचारिक प्रशिक्षण गर्ने उनी घरमा पनि खाली समय हुँदा अभ्यासमा जुट्छिन् ।

खेलप्रतिको त्यही लगाबको प्रतिफलस्वरुप उनी नेपाली फेन्सिङले भविष्यका लागि आशा गरिएकी स्टार बनेकी हुन् । नहुन पनि किन ? तीन वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा देशका लागि रजत पदक जित्ने गौरवशाली काम सानै उमेरमा पूरा गरिन् । सागमा नेपाली महिला टोलीले फेन्सिङको रजत पदक जित्दा शिक्षाको भूमिका महत्त्वपूर्ण थियो ।

नेपाली फेन्सिङमा विभागीय टोलीको दबदबा आएको छ । राष्ट्रिय टोलीमा पर्नु आफैंमा एउटा सफलता हो । शिक्षाले साग खेल्दा पनि टिममा त्रिभुवन आर्मी क्लबका तीन खेलाडी थिए । विभागबाहिरबाट पर्ने उनी एक्लो खेलाडी थिइन् । त्यसैले उनी सागको रजत पदकलाई अहिलेसम्मको यात्रामा सबैभन्दा ठूलो सफलता मान्छिन् ।

‘तर योभन्दा ठूलो पदक स्वर्ण नै देशका लागि जित्ने भोक छ,’ उनले थपिन् ।

एउटा खेलाडीका रूपमा शिक्षाले सागभन्दा एक वर्षअघि झनै ठूलो ‘एक्सपोजर’ पाइसकेकी थिइन् । सन् २०१८ मा पोल्यान्डमा भएको विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपाली टोलीमा शिक्षा पनि थिइन् । त्यसबाट अनुभव बटुल्ने र प्रदर्शन सुधार्ने राम्रो अवसर पाएको उनी बताउँछिन् ।
‘मेरो लागि त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो,’ शिक्षाले भनिन्, ‘मैले त्यहाँ बन्द प्रशिक्षणमा बस्ने अवसर पाएँ । त्यसले मेरो खेल सुधारमा धेरै सहयोग पु¥यायो । त्यहाँ पुगेपछि मैले व्यावसायिक रूपमा हामी सुरुआती चरणमा रहेको पाएँ ।’

नेपालमा फेन्सिङ सुरु भएको एक दशक बितिसकेको छ । नेपाली फेन्सिङको अवस्था भने अझै पनि कमजोर अवस्थामा छ । किन त ?

शिक्षाको विचारमा प्रशिक्षणका लागि पर्याप्त हल नहुनुका साथै सञ्चारमाध्यमको ध्यान तान्न नसक्दा यो खेलले अपेक्षित गति लिन नसकेको हो । डाक्टर बन्ने लक्ष्य भए पनि देशभित्र खेलाडीको रूपमा चिनिने लोभ पालेकी शिक्षाले कुरा टुंग्याउने क्रममा जोड दिइन्, ‘फेन्सिङमा अहिलेसम्म प्रायः अन्य खेलमा लागिसकेका खेलाडीहरू आउने चलन छ । विस्तारै प्रदेशबाट खेलाडी आउन थालेका छन् । अहिले हामीसँग एउटा मात्र प्रशिक्षण हल छ । त्यसलाई बढाउनु जरुरी छ । टोल–टोलमा यो खेललाई विस्तार गर्न सके नयाँ पुस्ताबाट पर्याप्त संख्यामा खेलाडी आउँछन् र नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउन सक्नेछ ।’