अंग्रेजी वर्ष सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलमा मुख्य गरी दुई प्रतियोगिता आयोजना भए । ती थिए, युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका । खासमा यी दुवै प्रतियोगिता सन् २०२० मा हुनुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण युरो र कोपा एक वर्षपछि खेलाइयो ।
दक्षिण एसियाको कुरा गर्ने हो भने, माल्दिभ्सले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ च्याम्पियनसिप) आयोजना गर्यो । फेरि युरोपतर्फ नै फर्किउँ । युरोपियन फुटबल महासंघ (यूईएफए)ले युरोपियन राष्ट्रिय टिमहरूलाई व्यस्त राख्न युईएफए नेसन्स कप पनि आयोजन गर्यो । दोस्रो सिजनको नेसन्स कप सेप्टेम्बर, २०२० बाट सुरु भएको थियो । तर यसको उपाधि भिडन्त भने अक्टोबर, २०२१ मा भयो ।
यी प्रतियोगिताहरू बाहेक युरोपेली क्लब फुटबलमा माथिल्लो श्रेणीको मानिने सबै लिगहरू आयोजना हुने नै भए । युरोपको च्याम्पियन्स लिगदेखि दक्षिण अमेरिकी फुटबलको कोपा लिर्बेटाडोरेस आयोजना भए । अनि एसियाको च्याम्पियन्स लिग पनि किन रोकिन्थ्यो र ?
युरो २०२०
यसपालिको युरो केही फरक ढंगमा सञ्चालन गरियो । एकै देशमै युरो आयोजना गर्नेभन्दा पनि युरोपका ११ सहरलाई आयाजना स्थलका रुपमा चुनिएको थियो । इंग्ल्यान्डको राजधानी लन्डनमा फाइनल खेल खेलाइयो । जसमा घरेलु टिम इंग्ल्यान्ड र इटाली भिडे । बाजी मार्यो, इटालीले । वेम्बली रंगशालामा भएको खेलमा इटाली पेनाल्टीमा विजेता चुनिएको थियो ।
युरो उपाधि इटालीका विशेष रह्यो । किनभने चार वर्षअघिको विश्वकपमा इटाली छनौट नै हुन सकेको थियो । यसकारण वेम्बलीमा हासिल गरेको उपलब्धि रोबर्टो मान्सिनी र उनका खेलाडीहरू विशेष थियो । इंग्लिस टिमविरुद्धको फाइनल जित्दा उनीहरूले लगातार ३४ औँ खेल जितेका थिए । युरोपेली फुटबलमा यसअघि कुनै पनि राष्ट्रिय टिम यत्तिका खेलसम्म अपराजित रहेको थिएन ।
इटालीले सन् १९६८ पछि पहिलो पटक युरो जित्दा इंग्ल्यान्ड भने पुनः अभागी सावित भयो । इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको थियो । उपाधि भिडन्तमा उसको सुरुवात पनि बलियो रह्यो । लुक सले दोस्रो मिनेटमै गोल गरेका थिए । यो गोल लुक सले इंग्लिस राष्ट्रिय टिमका लागि गरेको पहिलो गोल थियो । अनि युरोको फाइनलमा कुनै पनि खेलाडीले छोटो समयमा गरेको गोल पनि । तर यो कीर्तिमानले इंग्ल्यान्डलाई किन च्याम्पियन बनाउँथ्यो र ?
निर्धारित समयमा १–१ गोल मात्रै भएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । तर त्यहाँ पनि नतिजाको निक्र्योल भएन । त्यसपछि पेनाल्टी सुटआउटको सहारा लिइयो । जहाँ इंग्ल्यान्डका तीन खेलाडीले गोल गर्न सकेनन् । हुन त मुख्य प्रतियोगिताहरूको नकआउट खेलमा हुने पेनाल्टी सुटआउटमा चुक्ने इंग्ल्यान्डको पुरानै रोग हो । यसपटक पनि इंग्ल्यान्डले आफ्नो रोगको उपचार गरेको पाइएन ।फाइनलमा स्थान बनाउन दुवै टिमले आ–आफ्ना सेमिफाइनल खेल आतिरिक्त समय र पेनाल्टीमा जितेका थिए । पहिलो सेमिफाइनलमा इटालीले पेनाल्टीमा स्पेनलाई पाखा लगाएको थियो । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कलाई हराउन अतिरिक्त समयसम्म पर्खनु परेको थियो ।
कोपा अमेरिका
यसपटक दक्षिण अमेरिकी च्याम्पियन बन्यो, अर्जेन्टिना । उसले कोपा अमेरिका जित्दा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा दुई किसिमका हेडलाइन देखियो । पहिलो, अर्जेन्टिना बन्यो कोपा अमेरिका च्याम्पियन वा यस्तै यस्तै । दोस्रो, लियोनल मेसीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि ।
हो, मेसीले पहिलो पटक राष्ट्रिय टिमबाट कुनै उपाधि जितेका थिए । हुन त यो अर्जेन्टिनाले २८ वर्षपछि जितेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । तर यसलाई मेसीको उपलब्धिले छाँयामा पारिदियो । भलै प्रतियोगिता एउटै थियो ।
१५ अर्जेन्टिनाको प्रतिनिधित्व गर्दा मेसीले चार विश्वकप र ६ कोपा अमेरिका खेलिसकेका थिए । उनले आफ्नो टिमलाई एक पटक विश्वकपको फाइनल पुर्याएका थिए । अनि कोपा अमेरिकाको उपाधि भिडन्तमा भने तीन पटक । तर पनि मेसी र उनका साथीहरूले ट्रफी भने उचाल्न सकेका थिएनन् । तर यसपटक भने मेसी सफल भए । फाइनलमा मेसी एण्ड कम्पनीका अघि आयोजक ब्राजिलको केही सीप चलेन ।
विश्व फुटबलमा सर्वकालिन महान् खेलाडी को ? भन्ने बहसमा मेसीलाई बलियो उम्मेद्वार बनाउन अन्तर्राष्ट्रिय उपाधिको आवश्यकता थियो । १० पटक ला लिगा, चार पटक च्याम्पियन्स लिग जितिसकेका मेसीले सन् २०२१ सम्म ६ बालन डी’अर जितिसकेका थिए । उनलाई आवश्यकता थियो त अर्जेन्टिनाको जर्सीबाट जितेको उपाधिको । मेसीले जितेको उपाधि सूचीमा कोपा थपिएपछि सर्वकालिन महान् खेलाडीको सूचीमा उनलाई अग्रस्थानमा राख्नेको संख्या बढ्ने नै भयो ।
दुई पकट विश्वकप जितेको अर्जेन्टिनाले अन्तिम पटक सन् १९९३ मा अन्तर्राष्ट्रिय उपाधि हात पारेको थियो । त्यसबेला अर्जेन्टिना कोपा विजेता बन्दा मेसी ६ वर्षका थिए । संयोगवश यसपालि पनि अर्जेन्टिनाले कोपा नै जित्यो । एन्जल डी मारियाले निर्णायक गोल गरेर अर्जेन्टिनालाई दक्षिण अमेरिकाको नयाँ च्याम्पियन बनाउँदा मेसी आँसुसरी बने ।
मारकानामा भएको फाइनलमा ब्राजिललाई हराउँदा मेसी खुशी हुनुको अर्को कारण पनि थियो । किनभने मारकाना त्यही रंगशाला थियो जहाँ अर्जेन्टिनाले २०१४ विश्वकपको फाइनल गुमाएको थियो । यसपटक भने यही मैदानले अर्जृेन्टिनालाई १५ औँ कोपा दिलायो ।
साफ च्याम्पियनसिप
सन् २०२० मा नेपाल र अर्जेन्टिनाबीच एउटा समानता देखियो । यस्तो समानता जुरायो, अंक २८ ले । अर्जेन्टिनाले २८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता जित्दा नेपाल उति नै वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो । फाइनलमा भारतसँग ३–० ले हारेको भए पनि स्वेदश फर्कदा नेपाली टिमको शीर उँचो थियो ।
हुन पनि साफ च्याम्पियनसिपको सेमिफाइनल नै कट्न नसकिरहेको नेपालले यसपालि भने इतिहास नै रच्यो । माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा नेपालको सुरुआत उत्साहजनक रहेको थियो । उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १–० ले स्तब्ध बनाएको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि ३–२ को रोचक जित दर्ता गर्यो । राउन्ड रोबिनमा भएको प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० ले निराश बन्यो । र अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिए पनि नेपाली टिमले इतिहासमै पहिलो पटक उपाधि भिडन्तमा स्थान पक्का गर्यो । फाइनलमा नेपालले भारतलाई कडा टक्कर दिने अपेक्षा गरिएको थियो । किनभने फाइनलअघि भारतीय टिमले सोचे अनुरुपको खेल देखाउन सकेको थिएन ।
तर फाइनलमा भारतीय टिमले एकाएक बलियो लय देखायो । र नेपाललाई सजिलै पराजित गर्यो । भारतीय टिमले तीन गोल गर्दा नेपालले एउटा पनि आहा भन्न लायकको आक्रामण बुन्न सकेन । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टिमले सरासर तीन गोल गर्यो । समूह चरणमा नेपालविरुद्ध निर्णायक गोल गरेका सुनिलले फाइनलमा पनि गोल गरे ।
फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग हारे पनि मालेमा देखाएको प्रदर्शनले नेपाली फुटबलको भविष्य उज्यालो रहेको भन्नेको संख्या निकै धेरै देखियो । उसै पनि मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले साफ च्याम्पियन्सिप सुरु हुनु अगावै नेपाली समर्थकलाई उत्साहित बनाएका थिए ।
अल्मुताइरीले छानेको राष्ट्रिय टिममा युवा खेलाडीहरूको संख्या धेरै थियो । उनले टिम घोषणा गर्दा साविकको राष्ट्रिय टिममा रहेका १३ खेलाडीलाई हटाएका थिए । अनि आयुष घलान र मनिष डाँगी जस्ता युवा प्रतिभलाई मौका दिए । यी खेलाडीहरूले अल्मुताइरीलाई निराश बनाएनन् । आयुषले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए भने मनिष माल्दिभ्सविरुद्धको खेलमा नायक सावित भएका थिए ।
नेसन्स लिग
युरोपेली फुटबलमा युरोपछिको महत्वपूर्ण प्रतियोगिता मानिएको छ, नेसन्स लिगलाई । यसको दोस्रो संस्करणको फाइनल अक्टोबर ११ मा खेलाइयो । जसमा फ्रान्स र स्पेन आमनेसामने भएका थिए । किलियान एमबाप्पेले ८०औँ मिनेटमा निर्णायक गोल गरेपछि फ्रान्स २–१ ले विजयी बन्यो । इटालीको सान सिरोमा भएको फाइनलमा स्पेनले सुरुआती गोल गरेको थियो । स्पेनी क्लब रियल सोसिडाडका मिकेल ओयार्जबलले ६४ औँ मिनेटमा गोल गरेका थिए ।
तर दुई मिनेटपछि नै फ्रान्स खेलमा फर्कियो । उसका लागि करिम बेन्जेमाले बराबरी गोल गरे । जो करिब पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किएका थिए । पाको बेन्जेमाको गोलमा खेलमा फर्किएको फ्रान्सले युवा स्टार एमबाप्पेको गोलमा च्याम्पियन बन्यो ।
नेसन्स कपको फाइनलमा स्थान बनाउन स्पेनले युरो विजेता इटालीलाई २–१ ले पराजित गरेको थियो । उता फ्रान्सले भने बेल्जियममाथि ३–२ जित हासिल गरेको थियो ।
युइएफए च्याम्पियन्स लिग
इंग्ल्यान्ड पुगेको चार महिनामै थोमस टुकेलले चेल्सीलाई च्याम्पियन्स लिग जिताए । नौ वर्षअघि पहिलो पटक च्याम्पियन्स लिग जितेको चेल्सीले यसपटकको फाइनलमा म्यानचेस्टर सिटीलाई पराजित गर्यो । पोर्चुगलको पोर्टोमा भएको फाइनलमा चेल्सीका लागि एक मात्र गोल काई हाबर्ट्जले गरे ।
सन् २०२० मा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई च्याम्पियन्स लिगको फाइनल पुर्याएका टचेल इंग्ल्यान्ड पुगेपछि मात्रै युरोपेली च्याम्पियन बन्न सके । उता सिटी भने इतिहासमै पहिलो पटक फाइनल पुगेको थियो । च्याम्पियन्स लिगको फाइनलमा सिटी इंग्लिस प्रिमियर लिग र लिग कप च्याम्पियनको हैसियतमा पुगेका थियो । तर सिटीलाई एकै सिजन तीन उपाधि जिताउने पेप ग्वार्डिओलाको लक्ष्य पूरा भएन ।
चेल्सीलाई च्याम्पियन्स लिग जिताएपछि टनेल तीन वर्षमा च्याम्पियन्स लिग जित्ने तेस्रो जर्मन प्रशिक्षक बने । सन् २०१९ मा योर्गन क्लपले लिभरपुलसँग च्याम्पियन्स लिग जितेका थिए भने सन् २०२० मा हान्सी फिलिक बायर्न म्युनिखसँग च्याम्पियन बनेका थिए ।
एएफसी च्याम्पियन्स लिग
सन् २०२१ को सबैभन्दा बलियो एसियाली क्लब बन्यो, साउदी अरबको अल हिलाल । एसियाली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता एएफसी च्याम्पियन्स लिग चौथो पटक जितेको अल हिलालले फाइनलमा दक्षिण कोरियाको पोहाङ स्टिलर्सलाई पराजित गर्यो ।
आफ्नै मैदानमा भएको खेलमा अल हिलालले दुई गोल गरेको थियो । तीन पटक च्याम्पियन्स लिग जितिसकेको पोहाङले भने एक गोल पनि फर्काउन सकेन । एसियाली च्याम्पियन्स जितेको अल हिलाल क्लब विश्वकपका लागि स्वतः छनौट भएको छ । जहाँ उसको भेट चेल्सी, पाल्मिरास जस्ता टिमसँग हुनेछ ।
कोपा लिर्बेटाडोरेस
दक्षिण अमेरिकी क्लब फुटबलमा सबैभन्दा बलियो लिग ब्राजिलेली सिरी ए नै हो । यसको पुष्टि फेरि पटक कोपा लिर्बेटाडोरेसको फाइनलमा भयो । सन् २०२१ को कोपा लिर्बेटाडोरेसको फाइनलमा पुग्ने दुवै टिम ब्राजिलका थिए, पाल्मिरास र फ्लामेंगो । उरुग्वेमा भएको फाइनलमा पाल्मिरासले बाजी मार्यो । आतिरिक्त समयमा पुगेको खेल पाल्मिरासे २–१ ले जित्यो । सन् २०२० मा पनि पाल्मिरास नै च्याम्पियन बनेको थियो ।
सन् २०१० यता कोपा लिबेर्टाडोरेसको उपाधि आठ पटक ब्राजिलका टिमले जितेका थिए । यसपटक पाल्मिरास च्याम्पियन बनेपछि यो संख्या नौ भएको छ । पछिल्ला तीन फाइनलमा विजेता ब्राजिलकै क्लब भएका छन् । सन् २०२० को च्याम्पियन बन्दा पनि पाल्मिरासले ब्राजिलियन प्रतिद्वन्द्वीलाई नै पराजित गरेको थियो । फ्लामेंगोले भने सन् २०१९ मा उपाधि जितेको थियो ।
दक्षिण अमेरिकाको क्लब फुटबलमा दोस्रो श्रेणीको मानिने कोपा सुडा अमेरिकाको फाइनलमा पुग्ने टिमहरू पनि ब्राजिलकै थिए । दक्षिण अमेरिकी क्लब फुटबलको इतिहासमा पहिलो पटक दुवै प्रतियोगिताको फाइनलमा ब्राजिलका चार टिम पुगेका हुन् ।