मोल्डोभाको पृथकतावादी सेरिफ एफसी

भर्खरै युरोपेली च्याम्पियन्स लिगमा सेरिफ एफसीले साख्तर डोनेस्कलाई हराएको छ । अब यही टिम रियाल मड्रिड र इन्टर मिलान जस्ता टिमको भ्रमणमा निस्कने मात्र छैन्, आफ्नो घरेलु मैदानमा यिनी दुई ठूला क्लबलाई आथित्य पनि गर्नेछ । युरोपेली फुटबलमा मज्जाले रूचि भएकाका लागि सेरिफ नयाँ नाम हो । त्यति मात्र होइन्, सेरिफले प्रतिनिधित्व गरिरहेको देश मोल्डोभा समेत युरोपेली क्लब फुटबलका लागि नयाँ देश जस्तै हो ।

केही वर्षको प्रयासपछि दुई साता अगाडि मात्र सेरिफ मोल्डोभाबाट च्याम्पिन्यस लिगको अन्तिम ३२ मा पुग्न सफल भएको पहिलो टिम बनेको थियो । तर क्लबको यो सफलतामा पूर्व सोभियत संघसँग आवद्ध रहेको मोल्डोभा खुसी हुन भने सकेको छैन् । सोभियत संघबाट टुक्रिएपछि केही समय मोल्डोभामा गृहयुद्ध चलेको थियो र यसकै कारण जन्मेको थियो, ट्रान्सनिस्टेरिया । यसले आफूलाई अलग देश भएको दाबी गर्छ, त्यसैले यससँग आफ्नै मुद्रा छ, सीमा छ ।

अनि प्रहरी र सेना पनि छ । तर यो देशलाई अन्तर्राष्ट्रिय मान्यता भने छैन् । त्यसैले सेरिफ पनि बाध्य छ, मोल्डोभाको घरेलु लिगमा खेल्न । मोल्डोभाको फुटबल संघले सेरिफ च्याम्पियन्स लिगको समूह चरणमा छनोट हुनुलाई ठूलो उपलब्धी त भनेको छ, तर यो उपलब्धीमा कोही पनि खुसी भने छैनन् । फुटबल पत्रकार क्रिस्टियन जार्डनले भनेका छन्, ‘म त यसमा खुसी हुनु पर्ने कुनै कारण देख्दिनं ।’ अलि राजनीतिको भाषामा भन्दा सेरिफ मोल्डोभाको पृथकतावादी क्लब न रह्यो ।

तिनै पत्रकार जाडर्नका अनुसार पनि ट्रान्सनिस्टेरियामा खुबै भ्रष्टाचार छ, त्यहाँ खुल्लमखुल्ला तस्करी हुन्छ । अनि यसले मोल्डोभाको समग्र अर्थतन्त्रलाई कमजोर पार्छ । त्यसैले सेरिफले च्याम्यिन्स लिग खेल्दा यही क्लबलाई मात्र फाइदा छ, मोल्डोभालाई होइन् । सन् १९९७ मै मात्र स्थापना भएको क्लब हो, सेरिफ । यसको आधार भनेको ट्रान्सनिस्टेरियाको राजधानी जस्तै रहेको टिरासपोल सहर हो । मोल्डोभोको लिगमा यसको एकछत्र राज भने चल्छ ।

त्यसैले उसले पछिल्ला छ संस्करणको मोल्डोभा लिग जितेको छ । अनि पछिल्ला २१ लिग संस्करणमध्ये १९ मा यो विजेता रहेको छ । सेरिफ आफै भने च्याम्पियन्स लिग खेल्न पाएकोमा दंग छ । क्लबका प्रशिक्षक हुन्, युक्रेनी युरी भेरनडब । उनी भन्छन्, ‘इमान्दारिपूर्वक भन्दा मैले सेरिफले एक दिन च्याम्पियन्स लिग खेल्छ भनेर सोचेकै पनि थिइनं ।’ तर जब यो सम्भव भयो, अब सेरिफको मैदानमा करिम बेन्जेमा र लउटारो मार्टिनेज जस्ता खेलाडी उत्रने छन् ।

ती प्रशिक्षक भेरनडब भने सेरिफको यात्रालाई परीको कथा जस्तै मान्छन् । यसअघि चार पल्ट युरोपा लिग खेलसकेको सेरिफले यसपल्ट च्याम्पियन्स लिग खेले वापत कम्तीमा एक करोड ९० लाख डलर कमाउने छ । यो क्लबका लागि ठूलो रकम हो, किनभने पूरा क्लबका खेलाडीको समग्र मूल्य नै खालि एक करोड ४० लाख डलर मात्र छ । कुरै गर्दा पनि रियालको टिमको समग्र मूल्य ७८ करोड युरो छ भने इन्टरको ५७ करोड ५० लाख युरो ।

क्लबलाई लिएर एउटा अर्को तथ्य महत्त्वपूर्ण मात्र होइन्, सनसनीपूर्ण पनि छ । सेरिफको अहिलेको टिममा तीन ब्राजिल, दुई ग्रिस, दुई कोलम्बिया, एक पेरु, एक गिनी, एक घाना र एक लक्जेम्बर्गका खेलाडी छन् । तर छैन् त, मोल्डोभाकै खेलाडी । खासमा सेरिफ रुसी समर्थक क्लब हो, यसको स्थापना पनि दुई पूर्व सोभियत प्रहरीले गरेका थिए । टिरासपोल सहर आफै १ लाख ३० हजार जनसंख्या भएको सानो सहर हो र यहाँ जताततै क्लबका झण्डा देख्न पाइन्छ ।

यो सहरका क्लब समर्थक भने सेरिफको च्याम्पियन्स लिग यात्राले खुसी छन् र यसका दुई कारण छन् । पहिलो कारण त फुटबलकै भाषामा भन्दा युरोपको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्न पाउनु हो । दोस्रो कारण भनेको राजनीतिक हो । अब सेरिफले खेलेपछि धेरै भन्दा धेरैले ट्रान्सनिस्टेरियाबारे थाहा पाउने छन् । स्वतन्त्र देशका लागि उसले धेरै संघर्ष गरिसकेको छ, तर कमैले यसबारे थाहा पाए । तर अहिले फुटबलकै कारण ट्रान्सनिस्टेरियाबारे धेरै भन्दा धेरैले थाहा पाउने छन् ।

(फ्रान्सेली समाचार संस्था एपीएफले प्रेसित गरेको समाचारको सहयोगमा)