यु १७

नेपाली टिमको ‘रियालिटी चेक’

पोखरा ।नेपाली सिनियर टिमको एसियाली फुटबलमा पहुँच लगभग शून्य छ । एसियन कपमा नेपाल अहिलेसम्म छनोट हुन सकेको छैन । तर उमेर समूहमा भने नेपाल निकै पटक छनोट भएको छ । प्रतिस्पर्धा गरेको छ । यद्यपि यो सिलसिला रोकिएको धेरै भयो ।

१७ वर्षमुनिको एसियन कप फुटबलमा नेपाल तीन पटक छनोट भएको छ । नेपालले पछिल्लो पटक यो प्रतियोगिता सन् २०१४ मा खेलेको थियो । २० वर्षमुनिको एसियन कपमा भने नपाल चार पटक छनोट भएको छ । यो महादेशीय प्रतिस्पर्धाका लागि नेपाल सन् २००४ यता छनोट भएको छैन ।

उमेर समूहका महादेशीय प्रतियोगितामा छनोट हुने धौधौ भए पनि क्षेत्रीय प्रतियोगिताको भने नेपाल सधैं उपाधि दाबेदार हो । यसपालिकै कुरा गर्ने हो भने पनि नेपाल यु–१७ साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्यो । जहाँ नेपाल भारतसँग पराजित भयो । जबकि त्यही भारतलाई नेपालले समूह चरणमा पाखा लगाएको थियो ।

अंग्रेजीमा एउटा शब्द छ ‘रियालिटी चेक’ । फुटबल लेखनमा पनि यो शब्द खुबै प्रयोग हुन्छ । यसको सामान्य अर्थ हो वास्तविक परीक्षा । एसियाली छनोट नेपालका लागि ठ्याक्कै ‘रियालिटी चेक’ हुने गरेको छ । यसपल्ट पनि भयो त्यही ।

उता साफ यु–२० च्याम्पियनसिपमा नेपालले राउन्ड रोबिनमा एक खेल हार्यो । भारतसँग अनपेक्षित ८–० को हार बेहोरेपछि नेपाल फाइनल पुग्न सकेन । यद्यपि यो प्रतियोगितामा पनि नेपाल उपाधि दाबेदार नै थियो । खेलेका चारमध्ये एकमा मात्र पराजय भोग्नुले पनि यो पुष्टि गर्छ ।

अंग्रेजीमा एउटा शब्द छ ‘रियालिटी चेक’ । फुटबल लेखनमा पनि यो शब्द खुबै प्रयोग हुन्छ । यसको सामान्य अर्थ हो वास्तविक परीक्षा । एसियाली छनोट नेपालका लागि ठ्याक्कै ‘रियालिटी चेक’ हुने गरेको छ । यसपल्ट पनि भयो त्यही ।

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले चारै खेल हार्यो । अरू त अरू भुटानसँग पनि हार्यो । बंगलादेशलाई पनि जित्न सकेन । समूह ‘बी’ का बाँकी टिम खाडीका कतार र बहराइन थिए । ती दुवै टिमसँग नेपाल सजिलै पराजित भयो ।

१७ वर्षमुनिको एसियन कप छनोटमा भने नेपालले सामना गरेका सबै टिम दक्षिणपूर्वी एसियाली थिए । समूह ‘एफ’मा रहेको नेपालले ती तीनवटै टिमसँग हार बेहोर्यो । पहिलो खेलमा थाइल्यान्डसँग ३–०, दोस्रो खेलमा भियतनामसँग ५–० र अन्तिम खेलमा चाइनिज ताइपेइसँग ४–२ को पराजय भोग्यो । तीनमध्ये कमसेकम दुई खेल नेपालका लागि ‘रियालिटी चेक’ बने ।

समूहको पहिलो खेलअघि आयोजित पत्रकार सम्मेलनमा भियतनामका मुख्य प्रशिक्षक गुएन कुओक टुवानले भनेका थिए, ‘सबै टिमको स्तर उस्तै छ । छनोटका लागि सबै योग्य छन् ।’

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको भनाइ पनि लगभग उस्तै थियो, ‘उमेर समूहको फुटबलमा सबै टिमको स्तर उही हुन्छ जस्तो लाग्छ । यसकारण नेपाल कम्तीमा दोस्रो बन्दै छनोट हुन चाहन्छ ।’

कुल १६ टिमले एसियन कप खेल्नेछन् । यो प्रतियोगिता कहाँ हुने भनेर भने तय भइसकेको छैन । एसियन कपको सेमिफाइनलमा स्थान बनाउने चार टिमले सन् २०२३ मै हुने यु–१७ विश्वकपमा सहभागिता जनाउनेछन् । विश्वकप दक्षिण अमेरिकाको पेरुमा हुने तालिका छ ।

मुख्य प्रशिक्षकहरूले जे–जे भने पनि एउटा कुरा प्रस्ट थियो, समूहका दुई बलिया टिम भियतनाम र थाइल्यान्ड नै थियो । आखिरमा त्यही प्रमाणित थियो । भियतनाम र थाइल्यान्ड बाँकी दुई टिमभन्दा अब्बल साबित भए । भियतनाम समूह विजेताको हैसियतमा अर्कोे वर्ष हुने एसियन कपका लागि छानियो । थाइल्यान्डचाहिँ उत्कृष्ट समूह उपविजेताका रूपमा छनोट भयो । यसरी नै छिमेकी भारत पनि छनोट भएको छ ।

‘छनोट सुरु हुनुअघि सबै टिमको अंक शून्य थियो । यसकारण सबै टिम उस्तै छन् भनेको हो । तर अन्तिम तालिकाले भियतनाम र थाइल्यान्ड बाँकी टिमभन्दा बलियो भएको प्रमाणित भएको छ,’ अन्तिम दिनको खेलमा थाइल्यान्डलाई ३–० ले पन्छाएपछि भियतनामका मुख्य प्रशिक्षक टुवानको भनाइ थियो ।

कुल १६ टिमले एसियन कप खेल्नेछन् । यो प्रतियोगिता कहाँ हुने भनेर भने तय भइसकेको छैन । एसियन कपको सेमिफाइनलमा स्थान बनाउने चार टिमले सन् २०२३ मै हुने यु–१७ विश्वकपमा सहभागिता जनाउनेछन् । विश्वकप दक्षिण अमेरिकाको पेरुमा हुने तालिका छ ।

भियतनामको उत्तरपूर्वी प्रान्त फुथोको भियट्री सहरमा भएको छनोटमा नेपाल तीनवटै विपक्षीसामु निरीह देखियो । पहिलो खेलको सुरुवातबाटै नेपाली खेलाडी हतास देखिन्थे । यस्तो लाग्थ्यो नेपाली खेलाडीले आत्मविश्वास एन्फा कम्पलेक्समै छाडेर गएका थिए । जहाँ उनीहरुले भियतनाम प्रस्थान गर्नुअघि करिब १३ दिन अभ्यास गरेका थिए ।

मुख्य प्रशिक्षक श्रेष्ठले थाइल्यान्डसँगको खेलका लागि रक्षात्मक राणनीति अपनाएका थिए । ४–२–३–१ को संरचना आफैंमा आक्रामक भए पनि श्रेष्ठले दुई सेन्ट्रल मिडफिल्डर र तीन विंगर तथा आक्रामक मिडफिल्डरलाई रक्षात्मक जिम्मेवारी दिएका थिए । जसकारण नेपाली टिम आफ्नै क्षेत्रमा व्यस्त थियो ।

तर यत्तिको रक्षात्मक ढंगले खेल्दा पनि नेपालले ३० औं मिनेटमा गोल खाएको थियो । त्यस खेलमा नेपालले थाइल्यान्डसँग कुल ३ गोल खायो । र ती तीनवटै ‘झुर गोल’ थियो । अर्को वाक्यमा भन्दा, रोक्न सकिने गोल थिए ।

भियतनामसँग पनि नेपालले उही पहिलो एघार उतारेको थियो । रणनीति पनि उही । अनि गोल खाएको तरिका उही । मतलब लगातार गल्ती । अंग्रेजी शब्दको प्रयोग गरेर भन्दा ‘इन्डिभिजिुअल इरर’ । डरलाग्दा मिसपास खेलेका नेपाली खेलाडी भियतनामी मिडफिल्डर र फरवार्डका अघि निरीह देखिए । डिफेन्ड गर्दा कुनै जोस देखाएनन् । अरू त अरू भियतनामका फुलब्याकले समेत गोल गरे ।

समूहका अन्तिम खेलमा भने नेपाल विजयी हुने अनुमान गरिएको थियो । नेपाली सिनियर टिमले चाइनिज ताइपेईको सिनियर टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा हराइरहेको हुनाले यस्तो अनुमान गर्नु स्वाभाविक थियो । तर अन्तिम खेलमा पनि नेपाल हार्यो । ७८ औँ मिनेटमा फुलब्याक दोहोरो पहेँलो कार्ड खाएपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि नेपालले लगातार दुई गोल खायो । नतिजा २–२ बाट ४–२ को स्थितिमा पुग्यो ।

यो खेलमा पनि नेपालको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । ताइपेईले तेस्रो मिनेटमै गोल गरेको थियो । कप्तान प्रशान्त लक्षमले १० औँ मिनेटमा गोल फर्काएपछि खेल १–१ को स्थितिमा पुगेको थियो । आधा घण्टा नबित्दै नेपाल फेरि पछाडि पर्यो । तर दोस्रो हाफ सुरु हुनासाथ मैदान प्रवेश गरेका धनसिंह विकले ६१ औँ मिनेटमा सजिलो गोल गरेर नेपाललाई खेलमा फर्काएका थिए । तर उनको मिहिनेतले नेपाललाई अंकविहीन हुनबाट बचाउन सकेन ।

भियतनामको गर्मीमा नेपाली खेलाडीलाई खेल्न गाह्रो भएको पक्का हो । तीनमध्ये दुई खेल नेपालले दिउँसो खेल्नुपरेको थियो । तर मौसमलाई एकैछिन बिर्सिने हो भने, नेपाली खेलाडी भियतनाम र थाइल्यान्डका खेलाडी भन्दा प्राविधिक कौशलमा निकै तल भएको प्रस्ट देखिन्थ्यो । अत्तालिएका नेपाली खेलाडीले कम्तीमा तीन पास खेल्न नसकिरहँदा भियतनाम र थाइल्यान्डले भने ‘पोसेसन बेस्ड फुटबल’ खेले ।

लामा लामा पास पनि सजिलै नियन्त्रणमा लिने ती खेलाडीलाई नेपाली खेलाडीले मार्कसम्म गर्न सकेनन् । फलतः नेपालले अधिकांश गोल विपक्षी खेलाडीलाई मार्क गर्न नसकेरै खाएको थियो । ‘जोनल मार्किङ’ मा भन्दा ‘म्यान टु म्यान मार्किङ’ नीति अपनाएको नेपाल यसमै फेल खायो । किनभने आफूभन्दा शारीरिक रूपमा बलिया विपक्षी खेलाडीलाई नेपाली खलाडीले सही तरिकाले ‘मार्किङ’ गर्न सकेनन् ।