अनिल गुरुङ

थुप्रै अनिलहरु उत्पादन गर्ने अभियान

काठमाडौं । पोखराको सहारा क्लबले एमेडेमी सञ्चालनमा नल्याएको भए सायदै नेपाली फुटबलले अनिल गुरुङजस्ता उम्दा स्ट्राइकर पाउथ्यो होला ।

नेपाली राष्ट्रिय टोलीका कप्तान अनिल साहारा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । साहारा एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका अनिल अहिले सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुलको सहयकार्यमा स्वस्तीश्री  स्पोटर्स एकेडेमीमार्फत नेपाली फुटबललाई अरु धेरै अनिलहरु दिने लक्ष्यमा होमिएका छन् ।

कुनै पनि खेलको विकासका लागि उमेर समूहको योजना ल्याउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने अनिवार्यता अनिलले राम्ररी बुझेका छन् । उमेर समूहदेखि नै उपयुक्त योजना बनाएर अगाडि बढाउन सके त्यसले भविष्यमा सकारात्मक प्रतिफल दिने सत्यको एउटा राम्रो उदाहरण स्वयम अनिल हुन् ।

‘हामीले राष्ट्रिय दैनिक पत्रिकाहरुबाट सहारा क्लबले एकेडेमी सञ्चालन गर्ने र त्यसका लागि खेलाडी छनोट गर्ने थाहा पायौ । मेरो घर पोखराको माले पाटनमा पर्छ । हामी त्यहीँको स्थानिय मैदानमा गोल्ड स्टार क्लबबाट दैनिक फुटबल खेल्थ्यौं,’ अनिलले वाल्यकाल सम्झिए, ‘सहारा एकेडेमीले खेलाडी छनोट गर्ने भन्ने थाहा पाए पछि हामी १६-१७ जना छनोटमा सहभागी हुन गएका थियौं । पहिलो दिनमै छनोटमा चार सय खेलाडी सहभागी थिए । छनोटबाट आएका चार सय खेलाडीबाट ३० खेलाडी छनोट गर्दा म पनि त्यसमा पर्न सफल भएँ  । मैले दुई वर्ष सहारा एकेडेमीमा प्रशिक्षण लिए । त्यो बेला दैनिक प्रशिक्षणको व्यस्था भए पनि होस्टलको सुविधा थिएन । घरबाटै आउजाउ गर्नुपर्दथ्यो । अहिले भने एमेडेमीले खेलाडीलाई होस्टलमा राख्दै प्रशिक्षणका साथै पढाईलाई पनि एक साथ अघि बढाइरहेको छ ।’


सहारा एकेडेमीबाट सहिद स्मारक ए डिभिजनको क्लब ब्रिगेड ब्वाइज पुगेका अनिलले नेपाली फुटबलका महारथीहरु थ्री स्टार, मनाङ मर्स्याङदी र एनआरटीबाट पनि व्यावसायिक फुटबल खेले । सहारा युकेको पहलमा बेलायतको वकिङ एफसीबाट केही समय विशेष प्रशिक्षण लिने मौका पाएका उनले भारतीय आई लिगको सिलोङ लाजोङ एफसीबाट पनि तीन सिजन आकर्षक पारिश्रमिकमा व्यावसायिक फुटबल खेलेका थिए । नेपाली फुटबलको ‘हट प्रपर्टी’का रुपमा स्थापित अनिल अहिले खेलाडीका रुपमा सक्रिय छैनन् ।

तर, फुटबलसँगको नाता त उनले तोड्न सक्ने विषय होइन । समग्र देशको फुटबलका लागि एकेडेमीको महत्व राम्ररी बुझेका पूर्व कप्तानले नेपाली फुटबलप्रतिको दायित्व नयाँ खेलाडी उत्पादनमा समर्पित भएर पूरा गरिरहेका छन् ।

‘एउटा खेलाडीले अत्यावश्यक ज्ञान पाउने भनेकै एमेडेमीमा हो । सानो उमेरमा सिकेको ज्ञान पछि सम्म रहिरहन्छ । ग्रासरुट फुटबल अत्यावश्यक छ भनेको कारण नै त्यही हो । सानो उमेरबाटै बेसिक फुटबल सिक्न सक्यो भने ठूलो हुँदा त्यसले धेरै प्रतिफल दिन्छ,’ अनिलले भने, ‘त्यसैले कुनै विद्यालय र स्थानीय क्लबले नै ग्रासरुटको फुटबल सञ्चालन गर्न सक्यो भने सुखद भविश्यको कल्पना गर्न सकिन्छ ।’

कुनै बेला उमेर समूहमा एसियाली स्तरमै कडा टक्कर दिने गरेको नेपाली फुटबल अहिले दक्षिण एसियामै संघर्ष गरिरहेको छ । प्रत्येक उमेर समूहका प्रतियोगितामा नेपाली टोलीहरु निराश भएर फर्किइरहेका छन् । सही ग्रासरुटको अभावकै कारण उमेर समूहमा पनि नेपाल ओरालो लाग्दै गएको अनिलको बुझाई छ ।

‘उमेर समूह भनेको भविश्यको राष्ट्रिय टिम हो । उमेर समूहमै हामी कमजोर भयौं भने भोली राष्ट्रिय टिम बलियो हुने अपेक्षा गर्न सकिन्न । त्यसैले सम्बन्धित निकायले यसलाई गम्भीर रुपमा लिएर सही योजनाका साथ अघि बढ्नुपर्छ,’ अनिलले अखिल नेपाल फुटबल संघ (एन्फा)लाईँ सुझाए।

१३ वर्षको उमेरमा सहारा एकेडेमीमा छानिएका अनिल २०६३ सालमा सहिद स्मारक ए डिभिजन लिगको क्लब ब्रिगेड ब्वाइज क्लबमा अनुबन्ध भएका थिए । उमेर समूहमा गरेको उत्कृष्ट प्रदर्शनकै कारण उनले सहारा क्लबको सिनियर टोलीबाट खेल्ने अवसर पाइरहन्थे । जसका कारण उनी १७ वर्षको उमेरमै शीर्ष डिभिजन खेल्नलाईँ छानिएका थिए । ब्रिगेड ब्वाइज क्लबका प्रतिनिधिले सहारा एकेडेमीमै पुगेर लिगका लागि तीन खेलाडी छानेका थिए । जसमध्ये एक अनिल पनि थिए ।

‘आठ कक्षामा मढ्दै गर्दा २०६३ सालमा ए डिभिजन लिग खेल्न काठमाडौं आएको थिएँ । फुटबलसँगै पढाईलाई पनि अगाडि बढाउछु भनेर आमासँग बाचा गरेर काठमाडौं आएको थिएँ,’ फुटबलको नसामा लठ्ठ हुँदा पढाईलाई बेलैमा थन्काएका अनिलले शीर्ष डिभिजनको पहिलो सिजन सम्झिए, ‘पहिलो पटक दशरथ रंगशालामा फुटबल हेर्न जाँदा नेपाल पुलिस क्लब र जावलाखेलबीचको खेल जारी थियो । दर्शकको उपस्थिती खचाखच थियो । त्यही बेला मलाई लाग्यो की, नेपालको जुनसकै भागमा गएर फुटबल खेले पनि स्टार खेलाडी चाँही दशरथ रंगशालामा खेलेपछि मात्र बनिन्छ । पहिलो सिजन मेरो प्रदर्शन पनि राम्रो भयो । डेब्यु सिजनमै मैले ब्रिगेड ब्वाइजका लागि सात गोल गरेँ ।’

त्यसयता थ्री स्टार क्लब हुँदै अनिल पोखरेलीहरुको प्यारो क्लबको रुपमा रहँदै आएको मनाङ मर्स्याङ्दीमा अनुबन्ध भए । त्यसपछि उनी न्युरोड टिम (एनआरटी), भारतीय आइ लिगको क्लब सिलोङ लाजोङ हुँदै सन् २०११ मा मनाङमा फर्किए । सन् २०११ देखी २०१८ सम्म मनाङमा रहेका अनिल सन् २०१८ मा भने थ्री स्टार गए । गत वर्ष भने उनले पूर्व क्लब ब्रिगेड ब्वाइज क्लबबाटै लिगमा सहभागी भए र व्यवसायिक खेलाडीका रुपमा बुट थन्क्याए ।

अनिलले सन् २००७ अक्टोबर आठमा विश्वकप छनोट २०१० अन्तर्गत ओमानविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००७ देखी २०१७ सम्म नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका अनिलले ५१ खेलमा १० गोल गरेका छन् । उनले सन् २०१७ मा फिलिपिन्सविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय खेलाडीका रुपमा संन्यास लिएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट अलग भएको चार वर्षपछि अनिल अहिले युवा खेलाडी उत्पादनको अभियानमा लागिपरेका छन् । अनिलको यस अभियानमा दरिलो साथ दिएका छन् प्रशिक्षक सनोज श्रेष्ठले ।

‘म आफै एकेडेमीबाट आएको खेलाडी, अनि नेपाली राष्ट्रिय टोलीमा पनि पछिल्लो डेढ दशकभन्दा लामो समयदेखि एन्फा एकेडेमीका खेलाडीको बाहुल्य छ । त्यसैले देशको फुटबल अगाडि बढ्न एकेडेमीको महत्व मलाई राम्ररी थाहा थियो,’ सानो भर्याङस्थित एकेडेमीमा किशोर खेलाडीहरुलाई प्रशिक्षण गराउँदै गर्दा खेलाडीसँग फुटबल गफ गर्न केहीबेरको ब्रेक लिएका अनिलले भने, ‘त्यही भएर गत वर्ष स्वस्ती श्री गुरुकुलमा सद्भावना दुत नियुक्त भएलगत्तै हामीले एकेडेमी चलाउने योजना बनायौं । विद्यालयले सबै पक्षमा राम्रो सहयोग गरिरहेको छ । अबका केही वर्षमा हामी राष्ट्रिय स्तरमा छाउने खेलाडी नेपाली फुटबललाई दिन सक्नेछौं ।’

झण्डै ८ महिना अघि सुरु गरिएको स्वस्तीश्री स्पोटर्स एकेडेमीमा अचेल ४० खेलाडीहरु दैनिक प्रशिक्षणरत छन् । साताको दुई पटक (शनिबार र आइतबार) दुई घण्टाका दरले एकेडेमीमा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । सुरुआति दिनमा लगनखेलस्थित बुद्धी विकास खेल मण्डलमा प्रशिक्षण गराइने गरेको थियो । वर्षातको मौसम सुरु भएपछि भने विद्यालयको आफ्नै फुटसल मैदानमा प्रशिक्षण जारी छ । तत्कालका लागि सातामा दुई दिन मात्र प्रशिक्षणको कार्यक्रम रहे पनि चाँडै दैनिक प्रशिक्षणको व्यवस्था मिलाउने योजना रहेको अनिलले जानकारी गराए ।

स्वस्तीश्री गुरुकुल एकेडेमीले किशोर खेलाडीलाई प्रशिक्षणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धाको अवसर पनि दिने गरेको छ । गत महिना मात्र आठ दिने विशेष प्रशिक्षणका लागि टोली नेदरल्यान्ड्स गएको थियो । त्यहाँको प्रशिक्षण युवा खेलाडीका लागि मात्र नभई आफ्ना लागि पनि फदलायी बनेको अनिल बताउँछन् ।

‘हामीले नेदरल्यान्ड्स गएर आठ दिनको विशेष प्रशिक्षण गर्यौं । त्यहाँ र यहाँ गरिने प्रशिक्षणको शैलीमा धेरै फरक पाएँ । हाम्रा युवा खेलाडीहरुले त्यहाँबाट बटुलेको अनुभव महत्वपूर्ण रह्यो । स्वस्तीश्रीले आगामी दिनमा पनि यस्तै प्रशिक्षणको कार्यक्रमहरुमा सहभागी हुने योजना बनाएको छ,’ अनिलले भने, ‘नेदरल्यान्ड्सको प्रशिणमा सहभागी भएर फर्किएका खेलाडीको क्षमतामा बृद्धि भएको हामीले पाएका छौ ।’

नेदरल्यान्ड्समा अनिलले प्रशिक्षक लाइसेन्सका लागि पाँच दिनको विशेष कोर्स गर्ने मौका पाएका थिए । जसबाट उनको मनोबल उकासिएको छ । भन्छन्, ‘धेरै कुरा सिक्ने मौका पाइयो । फुटबलको बारेमा दुई दशक खेल्दा पनि थाहा नपाएका थुप्रै प्राविधिक पक्षबारे जानकारी हासिल गर्न पाएँ । यही एकेडेमीबाट आगामी दिनमा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने विश्वास पलाएको छ ।’