काठमाडौं । ‘खेलको १८–१९औं मिनेटमै मैदानबाट निस्किएँ । त्यतिबेलासम्म गोल भएको थिएन । जब म बाहिर निस्किएँ, ‘विप्स’ लगाएर पानी मात्र के खान लागेको थिएँ, नेपालले पहिलो गोल खायो । त्यो बेलामा पहिलो पटक रोएको थिएँ । त्यसपछि लगातार भारतले जति गोल हान्यो त्यति आँसु बगिरह्यो,’ महिला फुटबलकी पूर्वकप्तान अनु लामा सन् २०१४ को साफ च्याम्पियनसिप फाइनल सम्झिँदै भावुक बनिन् ।
साफ च्याम्पियनसिपको उपाधि र नेपालका लागि सधैं बाधक बनेको भारतलाई पराजित गर्ने नेपाली टिमको सपना थियो । त्यही सपना लिएर इस्लामाबादस्थित जिन्हा खेलकुद रंगशालामा उत्रिएको नेपाली महिला टिमले चाहेभन्दा विपरीत त भयो नै । फाइनलमा आधा दर्जन गोल खानुको पीडासमेत थपियो ।
|
त्यसअघिका दुई फाइनलमा नेपालले भारतसँग धेरै गोल खाएको थिएन । पहिलो र दोस्रो संस्करणका फाइनलमा क्रमश: १–० र ३–१ ले नतिजा सुम्पिएको नेपालले यति फराकिलो हार अपेक्षा गरेको थिएन नै ।
‘पहिलो पटक हामीले ६ गोल खायौं । हामीले सोचेका पनि थिएनौं । नसोचेको खेल भयो । युवा खेलाडी टिममा धेरै थिए । उपाधि जित्ने लक्ष्य नै थियो । तर, हार्यौं । हारे पनि १–०, २–० ले हार्छाैं भन्ने लागेको थियो,’ अनुले खेलाडीसँग सुनाइन्, ‘आफू मैदानमा रहुन्जेल गोल भएको थिएन, म निस्किने बित्तिकै गोल खाँदा म भएको भए गोल हुँदैनथ्यो कि जस्तो मनमा खड्कियो । तर, त्यो नहुन पनि सक्थ्यो ।’
युवा खेलाडीको बाहुल्यता रहेको टिममा सिनियर खेलाडीमा अनुसँगै दीपा अधिकारी, सजना राना र नीरु थापा थिए । पूर्वकप्तान जमुना गुरुङ चोटका कारण टिमबाहिर भएपछि अनुलाई कप्तानी जिम्मेवारी दिइएको थियो ।
‘कप्तान भइसकेपछि जिम्मेवारी बढेको महसुस गरें । मैदानभित्र, बाहिर, मिडिया सबैतिर आफूले ‘फेस’ गर्नुपर्ने भयो । पहिला हाँसीमजाक गर्थें भने कप्तान भएपछि आफूले नै त्यस्तो गर्यो भने अरू खेलाडीले पनि त्यस्तै सिक्छ भन्ने सोचाइ आउँदो रहेछ,’ उनले भनिन्, ‘पहिलाभन्दा धेरै जिम्वार हुन सिकें । ‘सिरियस’ बन्न सिकें । कतिपय कुरामा बाँकी खेलाडीभन्दा माथि बस्नुपथ्र्याे ।’
२०७१ सालको असोज २५ देखि कात्तिक ९ सम्म पाकिस्तानको इस्लामाबादमा साफ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना भएको थियो ।
विगतझैं यसपल्ट पनि नेपाली महिला टिम पर्याप्त तयारीबिना नै पाकिस्तान पुग्नुपरेको अनु बताउँछिन् । यता, कप्तान अनु सशस्त्र प्रहरी बलबाट ‘मिसन’मा नाइजेरिया गएकी थिइन् । जसका कारण उनले टिममा रहेर प्रशिक्षण गर्ने मौका पाइनन् ।
नाइजेरियामा ६ महिना बसेर नेपाल फर्केपछि अनु २१ दिन क्वारेन्टिनमा बसिन् । साफका लागि पाकिस्तान जानुभन्दा दुई दिनअघि मात्रै बन्द प्रशिक्षणमा सहभागी भएकी थिइन् ।
जसका कारण उनलाई कस्तो प्रशिक्षण भयो ? के–के भयो ? थाहै भएन । नाइजेरियामा समय निकालेर व्यक्तिगत प्रशिक्षण गर्थिन् । तर, टिममा अभ्यास सम्भव थिएन ।
फाइनलसम्म अपराजित नेपाली टिमले समूह ‘बी’ को विजेताका रूपमा भारतसँग उपाधि भिडन्त निश्चित गरेको थियो । अघिल्ला दुई फाइनलमा पराजय भोग्नुपरेको त्यही भारतीय टिम फेरि उपाधि र नेपाली टिमसामु चुनौती बनेर उभिएको थियो । विगतको नतिजाकै कारण नेपाली टिमसँगै खेलाडी पनि दबाबमा थिए ।
त्यो संस्करणमा खेलाडीको ‘फिटनेस’ प्रमुख समस्या रहेको र विपक्षी टिमको विश्लेषण पनि नेपालको हारको कारण बनेको अनु सम्झिन्छिन् ।
‘नयाँ खेलाडीमा जोस–जाँगर भए पनि अनुभव र आत्मविश्वासको कमी देखिएको थियो । कम अनुभव र पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी धेरै थिए । उनीहरू भारतविरुद्ध झनै निराश भए । मैले टिमलाई सम्हाल्न खोजे पनि सम्भव भएन,’ अनुले स्मरण गर्छिन्, ‘हामी भारतलाई जित्नै सक्दैनौं भन्ने होइन, तर त्यसका लागि सबै कुरा मिल्नुपर्छ । पर्याप्त अभ्यास, विपक्षीको सही विश्लेषण, खेलाडीको मनोबल, प्रशिक्षण अनि फिटनेस जस्ता कुरामा ध्यान दिने हो भने हामी भारतलाई कडा चुनौती दिन सक्छौं । खेलका दौरान हामीलाई ‘प्रपर गाइडलाइन्स’को कमी महसुस भएर नै हामी हारेका थियौं ।’
‘सबै कुराको विश्लेषण गर्नुपर्ने थियो । त्यो हामीले पाएनौं । म रहुन्जेल प्रशिक्षण टिममा प्राविधिक कमजोरी महसुस गरेकी थिएँ,’ अनु भन्छिन् ।
समूह चरणको पहिलो खेलमा भुटानविरुद्ध ८–० को जित निकाल्दै नेपालले प्रतियोगितामा सानदार सुरुआत गरेको थियो ।
सजना रानाले १४औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको नेपालका लागि मेनुका गिरीले २१, कप्तान अनुले ३६ र ४०औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा सजनाले व्यक्तिगत दोस्रो गोल गर्दै मध्यान्तर अगाडि भुटानविरुद्धको अग्रता ५–० मा पुर्याएकी थिइन् ।
दीपा अधिकारीले ६० र ८४औं मिनेटमा दुई तथा सावित्रा भण्डारीले ८८औं मिनेटमा गोल थप्दै नेपालको फराकिलो जित सुनिश्चित गरेकी थिइन् ।
|
हाल नेपालकी सर्वकालीन सर्वाधिक गोलकर्ता बनिसकेकी सावित्राले त्यही खेलमा डेब्यु गरेकी हुन् । कप्तान अनुको स्थान लिँदै पहिलो पटक नेपाली महिला राष्ट्रिय टिमको जर्सी लगाएर मैदानमा उत्रिएकी सावित्रा सन् २०१९ मा तिनै अनुको कीर्तिमान भंग गरेर सर्वाधिक गोलकर्ता बनेकी हुन् ।
पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएको र त्यही खेलमा गोल गरेकाले सावित्राको डेब्यु झनै विशेष बनेको थियो । अझै पनि त्यो दिन सम्झिँदा मख्ख पर्छिन् सावित्रा ।
‘राष्ट्रिय टिम के हो भन्ने थाहा नै थिएन । सिनियर दिदीहरूलाई देख्दा... कस्तो हुन्छ ? के हुन्छ ? भन्ने मनमा खुल्दुली हुन्थ्यो । सिनियर दिदीहरूले धेरै सपोर्ट गर्नुभयो । धेरै अनि रमाइला अनुभव बटुलेकी थिएँ,’ सावित्रा भन्छिन्, ‘क्लबलाई प्रतिनिधित्व गरेर खेल्नु र देशलाई नै प्रतिनिधित्व गरेर खेल्नुमा धेरै फरक हुँदोरहेछ । क्लबको तुलनामा देशबाट खेल्दा धेरै जिम्मेवारी बोध भएको थियो । राष्ट्रको जर्सी लगाएर खेल्ने सपना पूरा भएको क्षण थियो त्यो ।’
नोभेम्बर १४ मा भएको घरेलु टिम पाकिस्तानसँगको खेलमा अनु र सजनाले समान एक गोल गर्दै २–० ले नेपाललाई दोस्रो जित दिलाएका थिए । त्यो बेलामा अनुले १४ र सजनाले २४औं मिनेटमा गोल गरेका थिए ।
समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो । त्यसमा नीरु थापाले १४, अनुले ५३ र ८४औं मिनेटमा गोल गरेका थिए ।
समूह ‘बी’ विजेता नेपालको सेमिफाइनलमा समूह ‘ए’ उपविजेता बंगलादेशसँग भेट निश्चित थियो । बंगलादेशविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको थियो । लगातार तेस्रो पटक फाइनलमा पुर्याउन सजनाले ५६औं मिनेटमा पेनाल्टीमार्फत गरेको एकमात्र गोल निर्णायक बन्यो ।
उत्कृष्ट लयमा रहेकी भारतीय फरवार्ड बाला देवी १६ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी थिइन् । नेपाली कप्तान अनुले ५, सजनाले ४, दीपाले २ तथा सावित्रा, मेनुका र नीरुले एक–एक गोल गरेका थिए ।