आयुश घलान, नेपाली फुटबलका लागि चर्चा गर्न योग्य नाम हो । पछिल्लो युवापुस्ताको प्रेरणास्रोत । अनि, फुटबलको लामो दौडका घोडा । पछिल्लो एक वर्ष आयुशको नाम नेपाली फुटबलमा चुलिएको छ ।
भर्खरै १८ वर्ष पुगेका आयुश ‘बी’ डिभिजन लिगबाट सिधै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । राष्ट्रिय टोलीमा स्थान बनाउँदा आयुश १७ वर्षका मात्र थिए । एक वर्षदेखि आयुश टोलीका नियमित सदस्य बनिसकेका छन् ।
लेफ्ट विंगर आयुश काउन्टर अट्याक, पासिङ, क्रसिङका साथै ड्रिब्लिङ र कटिङमा माहिर मानिन्छन् । होचो कदका आयुशलाई रोक्न विपक्षी रक्षापंक्तिलाई पनि मुस्किल पर्छ ।
|
नेपाली फुटबलमा सम्भवतः एउटा कीर्तिमान पनि बनेको छ । एन्फा एकेडेमी र ‘ए’ डिभिजन लिगको अनुभव नै नभएका आयुशले सिधै राष्ट्रिय टिममा स्थान बनाउनु ठूलो सफलता हो । त्यो पनि युथ टिममा कुनै अवसर नपाई । राष्ट्रिय टिममा आफूलाई स्थापित खेलाडीको रूपमा चिनाउँदै आयुशले नेपाली युथ टिमबाट खेल्ने अवसर भने बनाएका छन् ।
जेहोस्, आयुश राष्ट्रिय टोलीबाट खेलेर नेपालीे युथ टिममा पर्ने सम्भवतः पहिलो खेलाडी हुनसक्छन् । ‘राष्ट्रिय टिमबाट खेलिसकेर उमेर समूहमा पहिलो पटक स्थान बनाएका खेलाडी सम्भवतः नेपाली फुटबलमा छैनन्,’ विशेषतः फुटबलमा कलम चलाइरहेका पत्रकार हिमेश भन्छन् ।
मुख्य प्रशिक्षक मेघराज केसीले भारतको उडिसामा हुने यु–२० साफ च्याम्पियनसिपका लागि करिब सात सय खेलाडीबाट अन्तिम चरणमा ३० खेलाडी नाम सार्वजनिक गरिसकेका छन् । प्रतियोगिताका लागि नेपाली टिम भारत उड्नुअघि मात्रै उनले अन्तिम २३ खेलाडी सार्वजनिक गर्नेछन् ।
प्रशिक्षक केसीले यिनै ३० खेलाडीमध्ये २३ खेलाडी साफ च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा उतार्नेछन् । उनले भनेका छन्, ‘मैले यी ३० खेलाडीलाई प्रत्येक दिन छनोट गरिरहेको छु । साफ खेल्न जानु केही दिनअघि मात्रै २३ जनाको नाम सार्वजनिक गर्नेछु । बाहिर रहने सात खेलाडी यहीं अभ्यास गर्छन् । फेरि नेपाल फर्किएपछि संयुक्त अभ्यास हुन्छ र एएफसीका लागि पुनः टोली छनोट गरिन्छ ।’
प्रशिक्षक केसीको भनाइअनुसार आयुशमात्रै होइन, अहिले टिममा कोही पनि खेलाडीको नाम पक्का छैन । तर, राष्ट्रिय टिमको अनुभव बटुलिसकेकाले आयुशको टिममा पर्ने सम्भावना प्रवल छ ।
राष्ट्रिय टिमका खेलाडी भएकै कारण आयुशले खुला छनोटमा भाग लिनुपरेन । उनी सिधै ४० जनाको टिममा स्थान बनाए । के अनुभवकै आधारमा आयुश टिम कप्तान हुन् त ? ‘हामी तयारीको बीचमा छौं । धेरै गर्नु छ । त्यसमा कप्तान पनि पर्छ । टिमको ‘कमाण्डर’ खोजिरहेका छौं । पक्कै पनि हामीले यु–२० राष्ट्रिय टिममा एउटा स्तरको प्रदर्शन दिएको खेलाडी पाएका छौं । राम्रो हो । सम्मान गर्नुपर्छ । तर, म एउटा खेलाडीलाई महत्व दिन्न । टिम प्रदर्शनमा जोड दिन्छु’ प्रशिक्षक केसी भन्छन् ।
माल्दिभ्समा २०७८ साल असोज अन्तिम साता भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल पुग्यो । २८ वर्षे साफ यात्रामा नेपाली टोली फाइनल पुगेको पहिलो पटक हो । त्यो टोलीका महत्त्वपूर्ण सदस्य थिए आयुश । पहिलोपल्ट फाइनल पुग्दा भारतसँग ३–० ले पराजित हुँदै नेपाल उपाधि घर भित्राउनबाट असफल भयो । आमनेपाली, फुटबलप्रेमी, खेलाडीेझै आयुशको पनि साफ जित्ने योजना छ ।
|
यता, युथ टिमको साफ च्याम्पियनसिपमा भने नेपाली टिमले सधैं सफलता हासिल गर्दै आएको छ । हालसम्म उमेर समूहको साफ च्याम्पियनसिप यु–१८ र यु–१९ को अवधारणामा आयोजना भएको छ । २०७२ सालमा नेपालबाटै सुरु यु–१८ साफको उपाधि भिडन्तमा भारतलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै नेपालले घरेलु मैदानमै उपाधि जितेको थियो ।
यसपछि साफ यु–१९ को रूपमा भएको यही प्रतियोगिता ०७४ सालमा भुटानमा आयोजना भयो । बंगलादेशलाई पछि पार्दै नेपाल दोस्रो पटक च्याम्पियन भयो । यसपछि २०७६ सालमा नेपालमै आयोजना भएको यु–१८ साफमा भने नेपाल समूह चरणबाट अगाडि बढ्न सकेन । यही प्रतियोगिता कोरोना महामारीका कारण धकेलिँदा अहिले यु–२० को हुन लागेको हो ।
पछिल्लो संस्करणमा टिमले भोगेको नमीठो हार बिर्सिंदै यसपटक राम्रो प्रर्दशन गर्ने लक्ष्यमा नेपाल छ । तीन सातादेखि युवा टिमसँग जोडिएका आयुश प्रशिक्षण सन्तुलित रहेको र अझै राम्रो हुँदै जाने बताउँछन् ।
‘टिमको प्रदर्शन दिन प्रतिदिन राम्रो हुँदै गएको छ । हामीसँग अझै समय बाँकी छ । अझै राम्रो गर्न मिहिनेत गर्छौं,’ आयुश भन्छन् ।
आयुशले राष्ट्रिय टिमबाट हालसम्म १० क्याप जितेका छन् । औपचारिक खेलमा श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपमा एक गोल गरेका छन् । अभ्यास खेलमा ओमानविरुद्ध आयुशको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । तर, उक्त खेल नेपालको औपचारिक रहेन ।
हेटौंडाका आयुशले राष्ट्रिय टिममा आफूलाई परिचित बनाइरहँदा उनको विगत विर्सने कुरै भएन । उनले २०७५ सालको सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रबाट खेले । यसपछि २०७६ सालमा ‘बी’ डिभिजनका लागि खुमलटार युथ क्लबमा अनुबन्धित भए । ‘बी’ डिभिजनमा गरेको प्रदर्शनकै आधारमा उनले पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगमा ट्यालेन्ट हन्टमार्फत पोखरा थन्डर्समा स्थान बनाए ।
|
नेपाल सुपर लिगमा पोखराको प्रदर्शन सोचेजस्तो रहन सकेन । टोलीले प्लेअफमा स्थान बनाउन सकेन । यद्यपि आयुशले भने घरेलु फुटबलमा राम्रै छाप छाडे । मैदानमा निडर देखिने आयुशको रनिङसँगै बल कन्ट्रोल, कटिङ र पासिङले सबैको मन छोएको थियो । कुल ६ खेल खेलेका आयुशले नेपाल सुपर लिग (एनएसएल) मा ३३२ मिनेट (इन्जुरी समयबाहेक) खेलेका थिए । ललितपुर सिटी एफसीविरुद्ध मात्रै पूरा समय मैदानमा बिताए ।
एनएसएलपछि नै आयुशलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीमा स्थान दिएका थिए । एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध इन्जुरी समयमा आयुशले मैदानमा सुमन लामालाई स्थानान्तरण गरेका थिए ।
राष्ट्रिय टोलीमा स्थान बनाएसँगै आयुशलाई २०७८ सालको सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले अनुबन्ध गर्यो । तर, थ्रीस्टारको जस्तै आयुशको प्रदर्शन समेत उम्दा हुन सकेन । चोटका कारण संकटा क्लबसँगको खेल गुमाउनुबाहेक आयुशले १२ खेलमा ८१८ मिनेट (इन्जुरी बाहेक) खेले । डेब्यु ‘ए’ डिभिजन लिगमा उनले जावलाखेल युथविरुद्ध एक गोल गरेका थिए ।
अब राष्ट्रिय टिमसँगै घरेलु फुटबलमा राम्रो छाप छाडेका आयुशको थप प्रभाव साउन ९ देखि २० सम्म हुने युथ साफ च्याम्पियनसिप र भदौ २५ देखि असोज २ सम्म हुने एएफसी कपमा देखिने आस गर्न सकिन्छ ।