राष्ट्रिय फुटबल टिमका नियमित खेलाडीहरू विदेश पलायन हुनु नौलो घटना होइन । यही लहरमा यसै साता दुई नाम थपिए सुमन लामा र आशिष लामा ।
पछिल्लो समय राष्ट्रिय टिमका नियमित सदस्य रहँदै आएका दुवै खेलाडी भविष्य खोज्नका लागि अस्ट्रेलिया पुगेका छन् । एकातिर अर्धव्यावसायिक ढाँचाको फुटबल संरचना र अर्कातिर अनिश्चितताको चुनौती झेल्दै फुटबलमै अल्झिरहन खेलाडीलाई गाह्रो छ । विदेश पलायन भएका आशिष र सुमन पछिल्ला दुई नाम हुन् ।
यसअघि नै पछिल्लो समय राष्ट्रिय टिमका नियमित सदस्यहरू एलन न्यौपाने, हेमन गुरुङ लगायतका खेलाडीहरू फुटबल छाडेर विदेशिएका छन् । यस्तै, गत सिजन मात्रै न्युरोड टिम (एनआरटी) बाट सहिद स्मारक ए डिभिजन लिग खेलेका गोलकिपर अजित प्रजापति पनि अस्ट्रेलिया पुगेका थिए । संकटा क्लबबाट लिग खेलेका नीरज बस्नेत पनि न्युजिल्यान्ड हानिए ।
फुटबल खेलेर देशभित्र लोकप्रियता हासिल गर्ने, नाम कमाउने लोभ छाडेर विदेश पलायन हुने परम्पराको यो सुरुआत पक्कै पनि होइन । खेल्न छोडेर विदेश ‘भासिने’ इतिहास नेपाली फुटबलमा लामै छ । कुनै बेला एसियन कपको छनोट खेल्न गएकै बेला राष्ट्रिय टोलीका मुख्य खेलाडीहरू नारायण मानन्धर, दीपक लामा र शुक्र तामाङ दक्षिण कोरिया भागेको ठूलो चर्चा विषय बनेको थियो ।
यसैगरी नेपाली फुटबलमा सुखद भविष्य रहेको मानिएका प्रशान्त गिरी, प्रलय राजभण्डारी, राजीव श्रेष्ठ, विराट थापाहरूले पनि विदेश रोजे । राष्ट्रिय टोलीमा तहल्का मच्चाइसकेका देवनारायण चौधरी, नीराजन रायमाझी, वसन्त थापा, वसन्त गौचन, राजेश शाहीहरूलाई पनि करियरको कुनै न कुनै मोडमा विदेशले लोभ्यायो । यी प्रतिनिधिपात्र मात्र हुन्, नेपाली फुटबलको मोह त्यागेर विदेशको संघर्ष रोज्ने अरू पनि अनगिन्ती नाम छन् ।
नेपालमा फुटबल खेलेरै बाँच्न सक्ने आधार नहुनु खेलाडीमा खड्किरहने चिन्ता हो । तर, पछिल्लो समय राष्ट्रिय टिममा देखिएको ‘खेलाडी–प्रशिक्षक’ विवादले छिन्नभिन्न भएका खेलाडीको अवस्थाले पनि खेलाडीलाई यसबारे सोच्न बाध्य बनाएको छ ।
एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षणमा रहेका करिब आधा दर्जन खेलाडीलाई टिमबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले निकाले । करिब एक महिना बितिसक्दा पनि वर्षौंदेखि नेपाली फुटबललाई आफ्नो जीवनको सबैभन्दा ऊर्जाशील समय दिएका खेलाडीको भविष्य के हुन्छ भन्ने यकिन छैन । पछिल्लो समय अस्ट्रेलिया पुगेका सुमन लामा पनि यसरी नै निकालिएकामध्ये एक खेलाडी हुन् ।
गत वर्ष नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्याउँदाका मुख्य खेलाडी हुन् सुमन र आशिष । तर, राष्ट्रिय टिमका प्रमुख खेलाडीले एन्फालाई जानकारी नै नदिई विदेश पुगेका छन् ।
तीन÷चार महिनाको तलबले वर्षभर बाँच्नुपर्ने, परिवार चलाउनुपर्ने बाध्यता र पछिल्लो समय राष्ट्रिय टिमको उथलपुथलले खेलाडीलाई विकल्प खोज्न बाध्य बनाउने फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा बताउँछन् ।
‘फुटबल खेलेरै मेरो भविष्य छ भनेर ढुक्क हुन सकिँदैन,’ अध्यक्ष लामाले भने, ‘जम्मा तीन÷चार महिना लिग हुन्छ, तलब पनि त्यति समयकै पाइन्छ । त्यसले कसरी बाँच्ने ? कसरी परिवार चलाउने ? त्यसैले अवसरको खोजीमा जानुलाई नकारात्मक रूपमा लिन सकिँदैन ।’
भविष्यको जोखिम मोलेर राष्ट्रिय टिमको सपना देखेका खेलाडीहरू पनि पछिल्लो ‘खेलाडी–प्रशिक्षक विवाद’ले झस्किएको लामाले बताए ।
‘सुमनको हकमा पछिल्लो समय राष्ट्रिय टिमको नियमित सदस्य थियो, तर आधारभूत आवश्यक माग गर्दा दुर्नियत ढंगबाट राष्ट्रिय टिमबाट गलहत्याइन्छ भने के सोचेर फुटबल भनी बस्ने ?’ लामा भन्छन्, ‘१० जनाभन्दा धेरै खेलाडी निकालिए, तर उत्कृष्ट फर्ममा भएका आशिषलाई थपिएका १४ जनामा पनि राखिएन । यस्तै हो भने फुटबल किन खेलिरहने भन्ने उसलाई पनि लागेको हुनसक्छ ।’
बन्द प्रशिक्षणबाट मुख्य खेलाडीहरू बाहिरिएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ नयाँ खेलाडीलाई बोलाए । ‘बी’ डिभिजन लिगसम्मका खेलाडीहरूलाई समावेश गरेका अब्दुल्लाहले आशिषलाई भने बोलाएका थिएनन् ।
नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा भने खेलाडी पलायन हुने विषयमा उदासीन देखिन्छ । थाहा भएर पनि नभएजस्तो गरिरहेको छ एन्फा ।
‘राष्ट्रिय टिमबाट खेलेको हो भनेर पत्र बनाउन आएका थिए र त्यसबेला हामीले सोध्दा अस्ट्रेलिया जान लागेको भनेका थिए... त्यसो हुँदा थाहै भएन चाहिँ भन्न मिलेन,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘तर जाने बेला जान लागेको, केका लागि जान लागेको भन्नेबारे एन्फालाई जानकारी छैन ।’
अर्धव्यावसायिक फुटबल संरचना र अनिश्चित भविष्यको बादलमा रूमलिएको नेपाली फुटबल मूकदर्शक बनिदिँदा खेलाडीहरू पलायन हुने क्रम रोकिनेभन्दा अझै बढ्दै जाने निश्चित छ ।