रंगशाला काण्ड

कसरी घटेको थियो फागुन २९ को रंगशाला काण्ड ?

विक्रम संवत् २०४४ साल फागुन २९ गते नेपाली खेलकुदका लागि सबैभन्दा दुःखद दिन । दशरथ रंगशालामा त्यस दिन त्रिभुवन च्यालेन्ज सिल्ड फुटबलको फाइनल हुँदै थियो । उपाधि भिडन्तका टोली थिए, बंगलादेशको मुक्तिजोद्धा क्लब र नेपालको जनकपुर चुरोट कारखाना । जनकपुर अर्को निकै बलियो टोली रोयल नेपाल एयरलाइन्स (आरएनएसी) लाई सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो ।

देशका विभिन्न ठाउँबाट मानिसहरू फुटबल हेर्न आएका थिए । अहिले दशरथ रंगशालाको क्षमता १५ हजार नपुग छ । तर, त्यो समय ३० हजार मानिस अटाउँथे । त्यो फाइनलमा पनि रंगशाला भरिभराउ नै भयो । भरिभराउ रंगशालाका कारण दुई टोलीबीचको प्रतिस्पर्धा गर्मागर्मी नै हुने आँकलन थियो । तर, मौसमको अवस्था भने चिसो थियो । आकाशमा बादल चलायमान देखिन्थ्यो । फाइनल खेल्न दुवै टोली दिउँसो २ बजे नै ‘वार्मअप’ गर्दै थिए ।

त्रिभुवन च्यालेन्ज सिल्डको संयोजक थिए, दीपकहर्ष वज्राचार्य । हाल उनी नेपाल जुडो संघका अध्यक्ष छन् ।

फुटबलका पूर्वखेलाडीसमेत रहेका दीपकहष त्यतिबेला नेपाल फुटबल संघका सहसचिव थिए । खेल व्यवस्थापन गर्न उनलाई निकै सकस भइरहेको थियो । किनकि रंगशालामा दर्शक थामिसक्नु थिएन । बाहिर पनि उत्तिकै मानिस थिए । दक्षिणपट्टिको ढोकाबाहेक उनले सबै ढोका बन्द गर्न सुरक्षा प्रमुख डोनस ग्रेन्डनलाई निर्देशन दिए । ‘हाम्रो रंगशालाको क्षमता थियो ३० हजार । क्षमताभन्दा धेरै दर्शक भइसकेका थिए,’ दीपकहर्ष त्यो क्षण सम्झन्छन्, ‘ग्रेन्डनले गेट लगाउने कि भनेर सोध्नुभयो । खेलाडीको सुरक्षामा नै खतरा हुनसक्ने महसुस गरेर उनलाई ढोका बन्द गर्न भनें । तर, दक्षिणपट्टि भने टिकट काटिसकेका दर्शकभित्र छिर्ने तयारीमा थिए ।’

यसबीच खेल सुरु भयो । दिनको ३ः५० बजिरहेको थियो । त्यतिबेला खेल सुरु भएको १८ मिनेट बितिसकेको थियो । साथै दर्शक प्रवेश हुनेक्रम जारी थियो । एक्कासि ठूलो हावाहुन्डरी आयो । उनले उत्तरतिरका रूखका ठूल्ठूला हाँगा भाँचिएका देखे । केही आकाशमा उडेर आफूतर्फ आइरहेको पनि उनको नजरमा प¥यो । क्षणभरमै मैदानमा हेलस्टोम (असिना) ले भरिए । खेल रोकियो । दीपकहर्ष प्यारापिटतर्फ थिए । उनीसहित तत्कालीन राजसभा स्थायी समितिका सभापति अनिरुद्धप्रसाद सिंह पश्चिमतिर भिभिआइपी प्यारापिटतर्फ थिए ।

त्यतातिर पनि ढोका बन्द थिए । सबैजना धैर्यपूर्वक बसे । रंगशाला भर्खरै बनेको थियो । ठूलो असिना आउने बितिक्कै सबै ओत लिन रंगशालाबाट भाग्न थाले । अन्य ढोका बन्द थिए, सबैजना दक्षिणपट्टिको ढोकातर्फ लागे । ‘तलबाट पनि टिकट लिएर प्रवेश गर्नेक्रम चलिरहेको थियो । तर, माथिको दबाब धेरै प¥यो,’ दीपकहर्षले सुनाए, ‘भ¥याङको बीचमा ठूलो ग्याप थियो । भीडले गर्दा मानिसहरूले त्यो देखेनन् । त्यसमा खुट्टा छि¥यो । सबै त्यही फस्न पुगे । जसका कारण ठूलो मानवीय क्षति भयो ।’

त्यो घटनामा दुई प्रहरीसहित ९३ जनाको ज्यान गएको तथ्यांक छ । दर्शकले धैर्यता अपनाएको भए सायदै त्यो घटना हुने उनको बुझाइ छ । त्यो घटनामा धेरैजसो हट्टाकट्टा मानिसको ज्यान गएको उनले बताए । केही बच्चाहरू पनि थिए । धेरैजसो मानिसहरू निसास्सिएर मरे । केहीको उठिरहेको अवस्थामा नै ज्यान गुम्यो । जुन ठाउँमा ढोका खोलिएको थियो, त्यही ठाउँमा मात्र त्यो घटना घट्यो । प्रकृति प्रकोपले भन्दा मानिसले धैर्यता गुमाउँदा त्यो अवस्था हुन पुगेको दीपकहर्षको बुझाइ छ ।

त्यतिबेलाका परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायको गाडीमा पनि तोडफोड भयो । ‘सबै एम्बुलेन्समा घाइते लाने काम भए । घाइते लाने साधनको अभाव हुन थाल्यो । त्यसैले उहाँको गाडी प्रयोग गर्न खोजिँदा उहाँ मान्नुभएन । त्यही हुलले उहाँको गाडीमाथि तोडफोड गरे,’ दीपकहर्षले भने । धेरैजसो घाइतेहरू वीर हस्पिटल लगिएको थियो । अक्सिजन सिलिन्डरको अभावका कारण पनि केहीको हस्पिटलमै पनि मृत्यु भएको उनी बताउँछन् । घाइतेहरूलाई टेकु अस्पताल, पाटन अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पतालमा लगिएका थिए ।

तर, वीरमा धेरै हुँदा अक्सिजन अभावका कारण अझ धेरैको ज्यान गयो । पब्लिकको ठूलो सहायताका कारण मानवीय क्षति अझै कम भयो । त्यो घटना हुँदा नेपाली खेलकुदका सरोकार व्यक्ति शिक्षामन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव शरदचन्द्र शाह र फुटबल संघका अध्यक्ष कमल थापा त्यहाँ थिएनन् । तर, त्यो घटनापछि प्रतियोगिता संयोजक दीपकहर्षसहित सबैले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले घटनाको छानबिन गर्न मध्यमाञ्चल क्षेत्रीय अदालतका न्यायाधीश भैरवप्रसाद लम्सालको एक सदस्यीय आयोग गठन गरेका थिए । तीन महिनापछि आयोगले रिपोर्ट पनि बुझायो । दशरथ रंगशालामा व्यवस्थापनको कमजोरी नभएको रिपोर्टमा उल्लेख थियो । नेपाल फुटबल संघले रोकिएको खेलपछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन । तीन दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो । यो दिनले खेल क्षेत्रका लागि मात्र होइन, सारा विश्वलाई नै स्तब्ध बनायो ।

त्रिपुरेश्वरका स्थानीयले मृत्यु भएका मानिसको स्मरणमा विभिन्न कार्यक्रम आयोजना गर्थे । लामो समयसम्म मानिस चिच्याएको आवाज आउने गरेको स्थानीयले बताएको उनी भन्छन् । ‘मृत्यु भएका मानिसको पीडा उनीहरूले देखेका थिए । त्यसैले उनीहरूको मस्तिष्कमा त्यो पीडा नराम्रोसँग परेको होला । उहाँहरूले लामो समय यहाँ पूजा पनि गर्नुहुन्थ्यो,’ दीपकहर्षले घटना सुनाए ।