कार्तिक ८, २०८२ शनिबार | ०८:३०:१२
सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत आक्रामक बन्दै महिला क्रिकेट लिग त घरमै खेल्ने प्रशिक्षक आउँछन्, जान्छन् ‘पाकिस्तानी क्रिकेटमा समस्या ब्याटिङकै हो’ स्कट कुगेलेइन पुनः सुदुरपश्चिममै अनुबन्ध नेपाललाई हराउँदै इरान त्रिदेशीय प्रतियोगिताको च्याम्पियन काभा कप भलिबलः नेपालको पहिलो जित नेपाल र इरानबीचको पहिलो हाफ गोलरहित पोखरा रंगशालाको प्यारापिट फेरिदै
शनिबारको दिन एएफसी कप

मछिन्द्रलाई एएफसी कपको भोक

काठमाडौं । नेपाली फुटबलले शीर्ष डिभिजन लिगको इतिहासमा पछिल्लो तीन वर्षमा कुनै क्लबले अपत्यारिलो आरोह अवरोह बेहोरेको छ भने त्यो मछिन्द्र फुटबल क्लबले हो ।

२०७५ सालको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रले १३औं स्थानमा बस्दै सिजन अन्त्य गरेको थियो । लिगको अनिवार्य पक्ष रेलिगेसनको प्रावधान कायम रहेको भए मछिन्द्रले त्यही सिजन न्युरोड टिम (एनआरटी) सँगै शीर्ष डिभिजनको हैसियत गुमाइसकेको हुन्थ्यो ।

कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ (एन्फा) मा नेतृत्व लिएपछि पहिलो पटक गरिएको त्यो लिगमा रेलिगेसनको प्रावधान स्थगन गरिएको थियो । अन्तिम दुई स्थानमा सीमित हुने टोलीको खाताबाट अर्को सिजनमा लागू हुने गरी १ र २ अंक खोस्ने प्रावधान राखेर गरिएको त्यो लिगमा मछिन्द्र प्रस्ट रेलिगेसनको हकदार थियो ।

मछिन्द्रले टोली निर्माणमा ध्यान नदिँदा खराब नतिजा बेहोर्नुपरेको आरोप खेप्यो । सोही लिगबाट पाठ सिकेको मछिन्द्रले २०७६ को लिगका लागि थ्री स्टार र मनाङ मरस्र्याङदी क्लबका अधिकांश खेलाडी भित्र्याउँदै बलियो टोली निर्माण गर्यो ।

अघिल्लो सिजन (२०७५) मा १३औं भएवापत सजायस्वरुप पाएको १ अंक तिरेर पनि मछिन्द्रले २०७६ सालमा लिग उपाधि जित्यो ।

लिग विजेता बनेसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने निश्चित थियो । तर एएफसीले प्रतियोगिताका लागि एएफसी क्लब लाइसेन्स अनिवार्य गरेपछि मछिन्द्र निराश बन्नुपर्यो ।

‘हामीले फागुनमा लिग जित्यौं । एएफसी कप छनोटको तयारी तत्काल सुरु गर्ने योजना थियो,’ मछिन्द्रका म्यानेजर अनिल श्रेष्ठले त्यतिबेलाको क्षण सम्झँदै भने, ‘तर कोभिड–१९ महामारीका कारण लकडाउन सुरु भयो । त्यसपछि सबै घरमै बस्यौं । प्रशिक्षण पनि भएन । अचानक प्रतियोगिताका लागि एएफसीले क्लब लाइसेन्स अनिवार्य गरेको खबर आयो ।’

उनले थपे, ‘त्रिभुवन आर्मी क्लबले लाइसेन्स प्राप्त गरेको र एएफसी कप छनोट खेल्ने पक्का भएको भन्ने सुनियो । हामीलाई एन्फाले समयमा खबर नदिँदा लिग विजेता भए पनि हामीे एएफसी कप छनोट खेल्नबाट वञ्चित भयौं ।’

गत सिजन कोभिड–१९ महामारीकै कारण ‘ए’ डिभिजन लिग भएन । यस सिजनको लिग जारी छ । 

यस सिजन एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँगै सशस्त्र प्रहरी बलको एपिएफ, मनाङ र मछिन्द्र पनि थपिइसकेका थिए ।

त्यसैले मछिन्द्रसामु यस सिजन दुई मुख्य चुनौती थियो । पहिलो लिग उपाधि रक्षा गर्ने अनि दोस्रो एएफसी कप छनोट खेल्ने । दुईमध्ये मछिन्द्रको एउटा लक्ष्य पूरा भइसकेको छ । लिग च्याम्पियनले खेल्ने प्रतियोगिताका लागि मध्य सिजनको च्याम्पियनको हैसियतमा मछिन्द्रले आइतबार एएफसी कप छनोटको टिकट पक्का गरेको थियो ।

‘हाम्रो मुख्य चुनौती भनेको उपाधि रक्षा गर्नु नै थियो । तर एन्फाले सातौं चरणको समाप्तिमा शीर्षस्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्ने जनाइसकेकाले हामीमाथि अर्कोे दबाब थपियो,’ म्यानेजर श्रेष्ठ भन्छन्, ‘अघिल्लो सिजन हामीसँग क्लब लाइसेन्स थिएन र हामीले प्रतियोगिता गुमायौं । यसपालि हामीले क्लब लाइसेन्स प्राप्त गरिसकेकाले एएफसी कप छनोट खेल्छौं भन्ने लक्ष्य लिएका थियौं । त्यो पूरा भएको छ ।’

त्यसो त मछिन्द्रका लागि सातौं चरण पार गर्दै शीर्षस्थान हात पार्न सहज भने थिएन । सातौं चरणसम्म आइपुग्दा मछिन्द्रले उपाधिका मुख्य दाबेदार मानिएका मनाङ, संकटा र आर्मीसँग खेलिसकेको छ । नेपाल पुलिसविरुद्धको जितसँगै शीर्षस्थान पक्का गरेको मछिन्द्रलाई लिगका अब बाँकी रहेका ६ खेल त्यति कठिन नबन्न सक्छ ।

तर, मछिन्द्रको फुटबल उर्जामा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाले निरन्तर बाधा हालिरहेको क्लबका पदाधिकारीहरूको बुझाइ छ । सातौं चरणको खेलमा पनि पूर्वनिर्धारित तालिकामा हेरफेर गर्न खोजिएको मछिन्द्रका व्यवस्थापक श्रेष्ठ गुनासो गर्छन् ।‘गत शनिबार मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लब र आइतबार दशरथ रंगशालामा हामीले पुलिससँग खेल्ने तालिका एन्फाले सार्वजनिक गरिसकेको थियो । तर, एन्फाले हामीलाई अघिल्लो दिन मनाङ र ब्रिगेड ब्वाइजसँग खेलेकै समयमा खेल्न प्रस्ताव गर्यो,’ श्रेष्ठले थपे, ‘हामीमाथि दबाब बढाउन खोजियो । हामीले खेल्न अस्वीकार गर्यौं । पहिले नै सार्वजनिक भएको तालिका परिवर्तन गर्नुपर्ने कारण के थियो, हामीलाई थाहा भएन । टोलीमाथि निरन्तर दबाब दिने काम भयो ।’

चौथो चरणमा संकटासँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानमा झरेको मछिन्द्रले पाँचौं चरणमा सानदार पुनरागमन जनायो । सुनील बलले इन्ज्युरी समयमा प्राप्त फ्रिकिकलाई गोलमा परिणत गरेपछि मछिन्द्र शीर्षस्थानको मनाङलाई १–० ले स्तब्ध पार्दै एएफसी कप छनोटको संघारमा पुगिसकेको थियो । आइतबार पुलिसमाथि १–० को जितले मध्य सिजन च्याम्पियन बन्ने मछिन्द्रको पहिलो लक्ष्य पूरा भएको हो ।

७ खेलमा १७ अंकसहित शीर्षस्थान पक्का गरे पनि कागजमा निकै बलियो देखिएको मछिन्द्रले अनुमानअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन । ७  खेलको नतिजातिर फर्किंदा जावलाखेल युथ क्लबमाथि ३–० को जित हासिल गर्दाबाहेक सबै खेलमा मछिन्द्रले अंक बटुल्न संघर्ष गर्नुपरिरहेको छ ।

घरेलु लिगमै अपेक्षित नतिजाबाट चुकिरहेको टोलीले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्दा गौरव गर्न लायक नतिजा हासिल गर्ने आशा झिनो बन्दै गएको छ । जुन व्यवस्थापक श्रेष्ठ पनि स्वीकार्छन् ।

‘हाम्रो टोली बलियो छ । टिममा नेपालका नाम चलेका खेलाडीको बाहुल्य छ । तर हामीले त्यसअनुसार प्रदर्शन गर्न सकेका छैनौ,’ उनले स्वीकारे, टोलीले सबै खेलमा जितका लागि संघर्ष गर्नुपरेको छ । यस्तै प्रदर्शनले हामीले लिग त जेनतेन जितौंला । तर एएफसी कप छनोटमा भने समूह चरण प्रवेश नै गर्न सक्दैनौं,’ श्रेष्ठ निराशा पोख्छन् ।

पछिल्लो समय नेपाली फुटबलमा ठूलो महत्वाकांक्षा राखेर अघि बढ्दै गरेको मछिन्द्रले एएफसी कप छनोटमा कम्तीमा प्रारम्भिक चरण पार गर्ने लक्ष्य बनाएको छ । त्यसका लागि केही विदेशी खेलाडी थपेर टिम बलियो बनाउने योजना रहेको श्रेष्ठले सुनाए ।

जारी लिगमा अन्य क्लबबाट खेलिरहेका खेलाडी एएफसी कप छनोटका लागि मछिन्द्रले अनुबन्ध गर्न पाउने प्रावधान छ । त्यही प्रावधानको प्रयोग गर्दै दुई वा तीन विदेशी खेलाडी थप्ने योजनामा क्लबका मुख्य प्रशिक्षक प्रवेश कटुवाल पनि छन् ।

पुलिसमाथि जित हासिल गर्दै एएफसी कप छनोटलाई स्थान पक्का गर्नेबित्तिकै उत्साहित प्रशिक्षक कटुवाल र कप्तान सुजल श्रेष्ठले पनि टिम बलियो बनाउन थप खेलाडी अनुबन्ध गर्ने बताएका थिए ।

‘अघिल्लो पटक हामी लिग च्याम्पियन भए पनि दशरथ रंगशालाको प्यारापिटबाट नेपाली लिग उपविजेता (आर्मी) ले च्याम्पियनको हैसियतमा खेलेको एएफपी कप छनोटको पहिलो खेल हेरिरहेका थियौं,’ कप्तान सुजलले एएफसी कप छनोटको टिकट काटेपछि भनेका थिए, ‘त्यो हाम्रा लागि निकै पीडादायी क्षण थियो । तर, यसपालि हामीले क्लब लाइसेन्स पाइसकेका छौं र शीर्षस्थान पनि पक्का गरिसकेका छौं । अब प्रतियोगितामा आफ्नो दरिलो उपस्थिति जनाउँदै समूह चरण पार गर्ने नै हाम्रो लक्ष्य हो । सायद भगवानको पनि यसपालि हामीलाई साथ रह्यो ।’

प्रशिक्षक प्रवेश कटुवाल टोलीले दबाब चिर्दै एएफसी कप छनोट खेल्ने सपना साकार पारेको बताउँछन् ।

‘खेलाडीको चोट र निलम्बनका कारण हामीमाथि दबाब थियो । हामी त्यो दबाब चिर्न सफल भएका छांै । हामीले शीर्षस्थानमा बस्दै च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने पक्का भइसकेको छ,’ उनले भने, ‘हाम्रो अबको चुनौती भनेको एएफसी कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु हो । हामी त्यसका लागि अझ सुधारिएको प्रदर्शन गर्नेमा केन्द्रित हुन्छौं । टोलीमा केही विदेशी खेलाडी भित्र्याउँछौं ।’