सिड्नी । नेपाली घरेलु फुटबलका स्टार गोलकिपर विशाल श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्, ‘जम्मा ५ सय दिन त भएछ ।’ उनको यो स्ट्याटस सहिद स्मारक ‘ए’ डिभिजन लिग नभएको ५ सय दिन कटेकोबारे सटिक व्यंग्य थियो ।
विशेषगरी सामाजिक सन्जालमा नेपाली फुटबलबारे सामग्री सिर्जना गर्ने ‘भकुण्डो नेपाल’को एउटा ग्राफिक यतिबेला चर्चामा छ । दशरथ रंगशालाको घाँस उप्किएको मैदानमा विमल घर्तीमगर र अञ्जन विष्ट देखिन्छन् । ग्राफिकमा अंग्रेजीमा लेखिएको छ, ‘ए’ डिभिजन लिगविनाको ५०० दिन ।
एन्फा एकेडेमीले हुर्काएको र आक्कलझुक्कल हुने लिगले भन्दा पनि ‘फेडेरेसन फुटबल’ (फुटबल संघको प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमहरूबीचको अन्तर्राष्ट्रिय फुटबल)ले स्टार बनाएका यी दुई खेलाडी पीडामा देखिन्छन् । ग्राफिकले सम्भवतः दिन खोजेको सन्देश यही नै हो, फुटबल खेल्न नपाएपछि दुई युवा खेलाडी पीडामा छन् ।
अंग्रेजीमा एउटा शब्द छ, ‘आइरोनी ।’ नेपालीमा यसको नजिकको अनुवाद सायद विडम्बना हो । यहाँ प्रयोग आइरोनीकै । आइरोनी किनभन्दा, भकुण्डोको ग्राफिक ‘सेयर’ गर्ने, त्यसमा कमेन्ट गर्ने र ‘च्याटमा’ यसलाई ठेल्नेहरू त्यस्ता व्यक्तिहरू पनि छन्, जो लिग नहुनुको पछाडि जिम्मेवार छन् । कति जिम्मेवार छन्, हिसाबकिताब गरे उनीहरूले पाउने अंक निस्किएला ।
पछिल्लो समय युरोपेली फुटबलमा भइरहेको एउटा महत्त्वपूर्ण बहस हो, खेलाडीमाथि खेलको भार बढ्नु । ठूला पाँच लिगमध्ये इङ्लिस प्रिमियर लिगमा यो बहस अलि धेरै तातो छ । यसो हुनुको एक कारण हो, प्रिमियर लिगको सिजनको बीचमा विश्राम नहुनु । जबकि अरू लिगमा अत्यधिक जाडोको कारण देखाउँदै खेलाडीलाई बिदा दिइन्छ ।
यसबाहेक भारको अरू कारण हुन्, युरोपेली सिजनकै बीचमा हुने नेसन्स लिग र नयाँ ढाँचाको च्याम्पियन्स लिग । अर्को वर्षदेखि मोटाउने क्लब विश्वकपले पनि वजन वृद्धि गर्नेछ । युरोपेली फुटबल क्यालेन्डरबारे म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनाले गत सेप्टेम्बरमा कडा टिप्पणी गरेका थिए । ‘फिफा र युइएफएलाई खेलाडीको भन्दा आम्दानीको मतलब छ । तब त उनीहरूले खेल थपेको थप्यै गर्छन्,’ बेल्जियमका डी ब्रुएनाको भनाइ थियो ।
डी ब्रुएनाका साथी रोड्रीले पनि यसबारे चिन्ता जाहेर गरेका छन् । ‘अब त हामीले एक सिजनमा ७० खेलसम्म खेल्नुपर्ने स्थिति आउँदै छ । कसरी सकिन्छ ?’ गत सिजन सिटीका लागि मात्र ५० खेल खेलेका रोड्रीको प्रश्न छ ।
अब नेपाल फर्कौं । युरोपमा खेलाडीहरूले बढी खेल खेल्नुपरिरहेको गुनासो गरिरहँदा नेपाली खेलाडीमा भने खेल्न नपाएकै कारण पीडा छ । यो नेपाली फुटबलले दिएको कोसेली हो, जसलाई आइरोनीभन्दा हुन्छ ।
विशालहरूले फुटबल खेल्न नपाएको गुनासो गरिरहँदा काठमाडौंमा महिला साफ च्याम्पियनसिप जारी छ । लगातार तेस्रो पटक आफैंले आयोजना गरिरहेको यो प्रतियोगिताका ६ संस्करणमध्ये पाँच पटक फाइनल पुगेको टिम हो नेपाल । गत संस्करणमा बंगलादेश च्याम्पियन बन्दा ३–१ ले उपाधि भिडन्त गुमाएको नेपालले यसपालि पहिलो खेलमा भुटानसँग बराबरी नतिजामा चित्त बुझायो । यसअघि महिला फुटबलमा नेपालले भुटानसँग बराबरी खेल्नुपरेको थिएन ।
मोटरसाइकल चलाउनेहरूलाई थाहा भएकै कुरा हो, पेट्रोल सकिनै लाग्दा मोटरसाइकल ‘रिजर्भ’मा चल्न थाल्छ । नेपाली फुटबल यतिबेला रिजर्भमा चलिरहेको छ । रिजर्भमा कति तेल रहन्छ ? यो मोटरसाइकलको मोडलमा भरपर्छ । कुनैमा २ लिटर, कुनैमा डेढ वा त्यस्तै धेरथोर । अनि त्यसले कति किलोमिटरको यात्रा तय गर्छ भन्ने पनि मोटरसाइकलमै निर्भर हुन्छ । मोटरसाइकलको क्षमता र बाटोको अवस्था अनि त्यसले बोक्नुपर्ने भारले त्यसको निर्धारण गर्छ ।
महिला फुटबलमै केन्द्रित हुने हो भने त एन्फासँग डेढ लिटर तेल पनि छैन । महिला फुटबल त बाटोमा भेटिएका अर्का मोटरसाइकल चालकसँग फुच्चे कोकको बोतलमा मागिएको तेलको भरमा चलिरहेको छ । व्यवस्थित ढाँचा नै नभएको नेपाली महिला फुटबलले भारत र भरभराउँदो बंगलादेशसँग कसरी प्रतिस्पर्धा गर्ला भनेर एन्फाले सोच्न सक्ला ? एन्फाको सोचाइबारे सोच्न थाले नेपाली फुटबल समर्थकलाई रिङ्गटा लाग्न सक्छ ।
यतिबेला १७ वर्षमुनिको नेपाली टिम महादेशीय प्रतियोगिताको छनोट खेल्न कतारमा छ । यही उमेर समूहको साफ च्याम्पियनसिपमा सेमिफाइनलबाट बाहिरिएको नेपालका लागि एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’ होइन । बरू आफ्नो विपन्नता प्रदर्शन गर्ने मञ्च मात्र हुनसक्छ ।
दक्षिण एसियाली फुटबल पछ्याउने जो कोहीले पनि महसुस गरेको हुनुपर्छ, पछिल्लो समय भुटान साफका हरेक प्रतियोगिता खेल्दा फरक जोसमा हुन्छ । यसको कारण हो, त्यहाँको फुटबलमा आएको गाम्भीर्यता । घरेलु फुटबल र युवा परियोजनामा मिहिनेत गरिरहेका कारण भुटान साफको प्रतियोगितामा आफूलाई जाँच्न लालयित हुन्छ । साफका प्रतियोगिता भुटानका लागि रियालिटी चेक हो । दक्षिण एसियाली फुटबलमा अघि बढ्न चाहेको सन्देश दिने मौका हो । कुनै समय नेपालका लागि उमेर समूहका एसियाली छनोट प्रतियोगिता ‘रियालिटी चेक’का मञ्च हुने गर्थे । अचेल भने यी मञ्च, नेपाली फुटबलका लागि आफ्नो विपन्नता र दरिद्रता प्रदर्शन गर्ने थलो बनेको छ ।
पुरुषतर्फको अन्तर्राष्ट्रिय खेल खेलाउनुपरे दशरथ रंगशालाको स्तरबारे खुबै कुरा उठ्छ । तर महिला फुटबल खेलाउन लाग्दा यो बहस उत्कर्षमा पुग्दैन । जुनसुकै अन्तर्राष्ट्रिय खेल वा प्रतियोगिताका लागि भए पनि दशरथ रंगशालाको मैदान गतिलो छैन । यस कारण समय यस्तो पनि आउन सक्छ, जब अहिलेको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल नै हुन बन्देज लगाइने छ । त्यसपछि एन्फाका लागि ‘न रहेगा बाँस न बजेगा बाँसुरी’को स्थिति सिर्जना हुनेछ । मैदान नै नभएपछि के को फुटबल ? के को राष्ट्रिय टिम ? फिफा ब्रेकमा किन राष्ट्रिय टिमलाई खेलाउने ? अनि त फुटबल कागजमा मात्र । ‘फुटबल अन पेपर’ ।