पुस १५, २०८२ बुधबार | ०४:५०:५६
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन सहिद स्मारक लिग

बहुरूपी लिग : प्रयोग नै प्रयोग

कुनै समय त्यस्तो थियो, जतिबेला बिहानको भात खानु अगाडि नै सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल सकिसक्थे । ती सबै भाग्यमानी थिए, जसले बिहान बिहानै लिगका खेल हेरे । ती भाग्यमानी रहे, जसले लिगमा समूह विभाजन देखे अनि फाइनल हेरे । ती त झन् पो भाग्यमानी भए, जसले रेलिगेसनबिनाको लिग पनि हेरे । खासमा उनीहरू सबै अभाग्यशाली थिए । किनभने तिनले हेरेका लिग साँच्चैका लिग थिएनन्, किनभने लिग त लिगजस्तै पो हुनुपर्‍यो नि ।

नेपालमा सहिद स्मारक लिग खासमा बहुरूपी छ । यसमा यति धेरै प्रयोग भएको छ कि यसले कहिले पनि एकरूपता पाएन । नेपाली फुटबलको माथिल्लो डिभिजनले कहिले पनि एक खास स्वरूप लिन सकेन । न सहभागी टिमको संख्या नै समान रह्यो, न त प्रतियोगिता सुरु हुने मिति र समय । फेरि प्रतियोगिता कहिले डबल लिग रह्यो, कहिले सिंगल । कहिले सुपर एटको व्यवस्था गरियो भने कहिले सुपर सिक्स ।

सबैले खुबै स्वाद लिएर भन्ने गर्छन्, लिग नै कुनै पनि देशको मेरुदण्ड हो । हो नै । तर, यो ठीक ढंगको पनि हुनुपर्छ । अन्यथा लिगमात्र गर्दैमा केही हुन्न । अझ सके, लिगले समग्र फुटबललाई नै दूषित पार्न सक्छ । यस्तोमा एउटा महत्वपूर्ण प्रश्न, लिगमा एकरूपता ल्याउन बहस चाहिन्छ कि चाहिन्न ? चाहिन्छ । बहसमात्र होइन, गृहकार्य र शोध पनि उत्तिकै चाहिँदो हो । के अखिल नेपाल फुटबल संघ (एन्फा) यसका लागि तयार छ त ?

सबैभन्दा पहिले सहिद स्मारक लिग ‘ए’ डिभिजनका पुराना पाना पल्टाऔं र बुझौं, यो वास्तवमै कति धेरै एकपछि अर्को परिवर्तनबाट गुज्रिएको छ । सहिद स्मारक लिगको सबैभन्दा गर्विलो तथ्य के हो भने यो २०११ सालबाट सुरु भएको प्रतियोगिता हो । यस्तोमा यसलाई नेपाली खेलकुदकै सबैभन्दा पुरानो प्रतियोगिता त मान्न सकिन्छ । त्यसमाथि यसले कम्तीमा निरन्तरता पाएको छ । केही वर्ष हुन नसकेको अपवाद छाड्ने हो भने । प्रतिष्ठा त यसको छँदै छ ।

कुनै समय थियो, नेपाली फुटबलको सर्वोच्च निकाय नेपाल फुटबल संघ थियो । यसले २०११ सालदेखि २०३० सम्म यसको आयोजना गर्‍यो। त्यतिबेला प्रतियोगिता के कसरी भएको थियो, कसैलाई थाहा छैन । ती सबै कहिल्यै पनि थाहा पाउन नसक्ने गरेर बिलाइसके । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०३२ सालदेखि यही प्रतियोगितालाई निरन्तरता दियो । अब सुरु हुने सहिद स्मारक लिग ‘ए’ डिभिजन यसको ४३ औं संस्करण हुनेछ ।

एन्फाकै आयोजनामा भएका प्रतियोगितामा पनि हामीसँग २०४३ सालयताका तथ्यांकमात्र छन्, त्यसअगाडि के कस्तो भयो, त्यो पनि सधैंका लागि लोप भइसके । त्यसमध्ये २०४६ को लिग त्यस्तो पहिलो प्रतियोगिता थियो, जसमा सहभागी ११ टिमले एक आपसमा खेले । यो नै नेपालमा पक्कापक्की लिग सुरु भएको पहिलो संस्करण हो । प्रतियोगिता असारमा सुरु भएको थियो । त्यसपछि एकैपल्ट २०५२ सालमा लिग भयो । यो सबैभन्दा कलंकित लिग थियो ।

सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । पछि उपाधि र रेलिगेसनका लागि फरक खेल पनि भए । यो वर्ष पनि लिग असारमै सुरु भयो । तर २०५४ को लिग कात्तिकमा सुरु भयो । यसमा सहभागी टिम थिए १२ । २०५७ को लिगमा १२ टिम नै रहे, तर प्रतियोगिता भने वैशाखमा सुरु भएको थियो । ०६० को लिग पनि त्यस्तै रह्यो १२ टिमबीच । त्यतिबेला प्रतियोगिता जेठमा सुरु भयो । २०६१ देखि लिगमा थप प्रयोग सुरु भयो ।

त्यस संस्करणमा १२ टिम सहभागी थिए । त्यसमध्ये ६ टिमले सुपर सिक्स खेले । यो लिग वैशाखमा सुरु भयो । २०६२ को लिगमा पहिलोपल्ट डबल लिगको प्रयोग भयो, जसमा एक टिमले अर्को टिमसँग खेल्यो । सहभागी टिमको कुल संख्या १५ थियो अनि पहिलोपल्ट दुई टिम रेलिगेसनमा परेका थिए । त्यो प्रतियोगिता भने भदौमा सुरु भएको थियो । २०६३ को संस्करण पनि डबल लिग नै रह्यो । सहभागी संख्या भने घटेर १४ पुग्यो । प्रतियोगिता आफै भने कात्तिकमा सुरु भयो ।

अझै २०६६–०६७ को लिग १२ टिममै सीमित रह्यो । यो पनि डबल लिग नै रह्यो । प्रतियोगिता भने सुरु भएको थियो फागुनमा । यही लिग २०६८ मा हुँदा सहभागी संख्या बढेर १८ पुग्यो । यति धेरै टिमले खेलेको यो नै एकमात्र लिग रह्यो । तर प्रतियोगिता आफै डबल लिग रहेन । एकले अर्कोसँग एकैपल्ट मात्र खेल्यो । धेरै टिम भएपछि रेलिगेसन पर्ने टिम पनि धेरै थिए । चार टिम तल्लो डिभिजनमा झरे । प्रतियोगिता भने वैशाखबाट सुरु भएको थियो ।

२०६९ को लिगमा १६ टिम रहे भने २०७० मा १३ । यसमध्ये २०६९ को संस्करणमा सुपर एटको आयोजना गरिएको थियो । पछि २०७० मा आइपुग्दा सुपर सिक्सको नियम आयो । एकपल्ट तीन टिम रेलिगेसनमा परे । अर्कोपल्ट दुईमात्रै । २०६९ को लिग मंसिरदेखि सुरु भयो, २०७० को लिग पुसमा । २०७५ को लिगमा सहभागी संख्या १४ टिम थिए, यो फेरि सिंगल लिग भयो । असोजमा प्रतियोगिता सुरु भयो । यसमा थिएन  रेलिगेसनकै व्यवस्था । त्यसैले यो सबैभन्दा कलंकित लिग बन्यो ।

खालि अन्तिम स्थानमा रहेका दुई टिमको अंक भने अर्को संस्करणका लागि भनेर काटियो । २०७६ को लिग मंसिरदेखि सुरु भएको थियो । यसमा १४ टिम सहभागी थिए । एकै टिममात्र रेलिगेसनमा पर्‍यो अनि यो सिंगल लिग नै रह्यो । 

अब सुरु हुने लिग सिंगल हुनेछ । १४ टिमले प्रतिस्पर्धा गर्नेछन् अनि दुई टिम रेलिगेसनमा पर्नेछ । नेपाली लिग संरचनामा विविधता छैन र भन्या ? तर नेपाली फुटबललाई चाहिएको लिग त यस्तो होइन नै ।

यस्तोमा एन्फालाई खबरदारी गर्नैपर्छ । प्रश्न गर्नुपर्छ, के सहिद स्मारक लिग ‘ए’ डिभिजन प्रत्येक वर्ष एकै समय सुरु हुन सक्दैन ? सहभागी संख्या निश्चित गर्न सकिन्न  ? डबल लिग, सिंगल लिग, सुपर एट या सुपर सिक्स, कुन ठीक हो त, निर्णय गर्नुपर्दैन त ? रेलिगेसनमा पर्ने टिमको संख्या पनि निश्चित हुनुपर्ने होइन र ? प्रश्न त अझै धेरै छन् । मूल प्रश्न भने यही हो । के यी सबै प्रश्नको उत्तर दिन एन्फा तयार र जिम्मेवार छ ?