काठमाडौं । रंगशाला पुगेका समर्थकलाई धन्यवाद दिँदै गर्दा रोहन कार्कीले आफू प्रतियोगिताको उदीयमान खेलाडी घोषित भएको थाहा पाए । सुरुमा रोहनलाई विश्वास नै लागेन । पछि दोस्रो पटक आफ्नो नाम लिइएपछि रोहन ‘पुरस्कार वितरण समारोह’मा पुगे । प्रतियोगिताका अध्यक्ष आश्रयता कार्की चौधरीबाट पुरस्कार ग्रहण गरे, सँगै नगद एक लाखको चेक पनि ।
‘समर्थकसँग भेट्दै थियौं । एक्कासि नाम आउँदा सुरुमा अलिकति अचम्म लाग्यो । नर्भस थिएँ, समारोहमा विशिष्ट व्यक्तित्वबीच पुरस्कार ग्रहण गर्न जाँदा होइन जस्तो पनि लागेको थियो,’ रोहन सम्झन्छन्, ‘मैले यो पुरस्कार पाउँछु भनेर सोचेको थिइनँ । एक हिसाबले मेरा लागि यो एक सरप्राइज नै थियो । जेहोस् खुसी लाग्यो ।’
नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणअन्तर्गत उदीयमान खेलाडीको पुरस्कार ग्रहण गरिरहँदा रोहन साँच्चै नर्भस देखिन्थे । कृत्रिम हाँसोबीच रोहनमा फाइनल जित्न नसकेको पीडा लुकेको थियो । रोहनको टोली धनगढी एफसीले ललितपुर सिटी एफसीविरुद्ध फाइनलमा ३-२ को हार बेहोरेको थियो । त्यसैले व्यक्तिगत पुरस्कारले उनलाई त्यति धेरै खुसी दिन सकेन सायद ।
रक्षात्मक मिडफिल्डमा उनको प्रदर्शन प्रशंसायोग्य थियो । लाग्थ्यो खेलाडीमा अनुभवको कुनै पनि कमी थिएन । रोहनले त्यसपछि थप चार खेलमा सुरुआती रोजाइमा स्थान बनाए । यसबीच रोहनलाई रक्षात्मक र आक्रामक दुवैमा प्रयोग गरियो । दुवै पोजिसनमा रोहन उत्तिकै छाए ।
लिग चरणमा धनगढी प्रतिस्पर्धामा रहेका नाै टोलीमध्ये सबैभन्दा बलियो रह्यो । तीन जित, चार बराबरी र एक हारको नतिजामा धनगढीले तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफको यात्रा गरेको थियो । पहिलो क्वालिफायरमा शीर्षस्थानको पोखरा थन्डर्सलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै धनगढीले लगातार दोस्रो संस्करणको फाइनलमा स्थान बनाएको थियो । तर, पहिलो संस्करणको उपविजेता धनगढी यसपालि पनि फाइनलमा चुक्यो । चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको ललितपुरले धनगढीलाई उपाधि जित्न दिएन ।
शीर्ष डिभिजनको अनुभव नभएका २१ वर्षीय रोहन धनगढीको सबै खेलमा मैदानमा देखिए । वीरगन्जविरुद्धको पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रोहनलाई मुख्य प्रशिक्षक युगलकिशोर राईले बुटवलविरुद्धको दोस्रो खेलमा पहिलो रोजाइमै मौका दिए ।
बुटवलविरुद्ध प्राप्त १–० को जितमा रोहनले खेलकौशलबाट सबैको ध्यान आफूतिर तानेका थिए । रक्षात्मक मिडफिल्डमा उनको प्रदर्शन प्रशंसायोग्य थियो । लाग्थ्यो खेलाडीमा अनुभवको कुनै पनि कमी थिएन । रोहनले त्यसपछि थप चार खेलमा सुरुआती रोजाइमा स्थान बनाए । यसबीच रोहनलाई रक्षात्मक र आक्रामक दुवैमा प्रयोग गरियो । दुवै पोजिसनमा रोहन उत्तिकै छाए । चितवनविरुद्ध उनले एक एसिस्ट पनि गरे ।
एनएसएलमा गरेको प्रदर्शनले रोहनलाई छुट्टै पहिचान दिएको छ । रोहनलाई नेपाली फुटबलको भविष्यको रूपमा हेर्न थालिएको छ । नेपाली फुटबललाई नजिकबाट बुझ्नेहरू भन्छन् तेज तामाङ र पुजन उपरकोटीको अभाव अब रोहन कार्कीले पूरा गर्न सक्छन् ।
उनकै प्रशिक्षक राईले बुटवलविरुद्धको खेलपछि भनेका थिए, ‘रोहनसँग राष्ट्रिय टोलीमा खेल्न सक्ने क्षमता छ । रोहन दिमागले खेल्ने खेलाडी हो । उसको नेतृत्व कौशल अरू खेलाडीभन्दा एकदमै माथि छ । यत्तिको फुटबल बुझेको खेलाडी कमै भेटिन्छन् । चाहिएको बेला तल रक्षात्मक लाइनमा झर्न सक्ने र आक्रमण शैली अपनाउँदा माथि जान सक्ने खुबी भएको खेलाडी हो रोहन ।’
फुटबलको उर्वरभूमि झापाको कन्काई नगरपालिका वडा नम्बर ३ सुरुङ्गा रोहनको जन्मथलो हो । बिर्तामोडस्थित लिटल फ्लावर विद्यालयमा स्कुले जीवन बिताएका रोहनले होस्टलमा रहँदै फुटबल खेल्न सुरु गरे । विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू खेलेका रोहनले त्यसपछि स्थानीय क्लब कन्काई स्पोर्टिङ क्लबबाट खेल्न थाले ।
कन्काईबाट खेल्दै गर्दा रोहनले काठमाडौंको सरस्वती क्लबबाट ललित स्मृति यु-१८ प्रतियोगिता खेल्ने अवसर पाए । सरस्वतीपछि रोहनले गृहजिल्ला झापाको प्रमुख क्लब झापा ११ को उमेर समूहबाट पनि केही समय खेले ।
रोहनले २०७६ साल असारमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा झापा फुटबल क्लबको प्रतिनिधित्व गरे । ३८ टोली सहभागी उक्त प्रतियोगितामा झापासँगै वीरगन्ज युनाइटेड र चर्च ब्वाइज युनाइटेड ‘सी’ डिभिजनमा बढुवा भएका थिए । अहिले चर्च ब्वाइजले चार वर्षको अन्तरालमा ‘ए’ डिभिजनको उपाधि जितिसकेको छ । वीरगन्ज र झापा दुवै ‘बी’ डिभिजनमा छन् ।
एउटा रमाइलो कुरा झापा सँग जोडिएको के पनि छ भने चार वर्षअघि ‘सी’ डिभिजनमा छनोट हुँदा टोलीका कप्तान थिए सन्जित राई । सन्जित एनएसएलमा ललितपुर सिटीका लागि प्रमुख खेलाडी रहे । ललितपुरको फाइनलसम्मको यात्रा अनि रोहनको धनगढीलाई हराउनुमा रक्षक सन्जितको पनि ठूलो भूमिका रह्यो ।
छलाङ खेलाडीले मात्र लगाएका होइनन् । त्यतिबेला झापा सम्हालेका प्रशिक्षकद्वय युगलकिशोर राई र प्रवेश कटवालले पनि आफ्नो करिअरमा ठूलै फड्को मारिसकेका छन् । राईले गत वर्ष पाकिस्तानसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा राष्ट्रिय टोलीको सहायक प्रशिक्षक भएर काम गर्ने अवसर पाएका थिए ।
एनएसएलको पहिलो संस्करणमा पनि राई धनगढीको मुख्य प्रशिक्षकमा थिए । राई ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको पनि नेतृत्व सम्हाल्छन् । कटवाल पछिल्लो समयका सफल प्रशिक्षक हुन् । मछिन्द्रलाई लगातार दुई पटक लिग उपाधि जिताउँदा कटवाल मुख्य प्रशिक्षक थिए । हाल उनी राष्ट्रिय टोली सहायक प्रशिक्षकको भूमिकामा छन् ।
२०७८ सालमा भएको ‘सी’ डिभिजन लिग छनोटमा रोहनले सुर्खेतको आरसी ३२ बाट खेले । आरसी ३२, हाल राष्ट्रिय टोलीको रक्षापंक्ति सम्हालिरहेका रोहित चन्दको नाममा स्थापित क्लब हो । ‘आर’ भन्नाले रोहित अनि ‘सी’ भन्नाले चन्द । अनि ३२ रोहितले लगाउने जर्सी नम्बर हो ।
आरसी ३२ बाट खेल्न रोहनलाई मोरङ गृहजिल्ला रहेका चिनेका दाइ रुपेश तामाङले सुझाएका थिए । रुपेश कुनै समय नेपाली फुटबलका परिचित नाम थिए । नेपाली फुटबलकै गोल्डेन पुस्ता मानिने विमल घर्तीमगर, अनन्त तामाङ, हेमन्त थापासम्मिलित एन्फा एकेडेमी ब्याचका खेलाडी हुन् रुपेश । पछि खुट्टामा गम्भीर चोट लागेपछि रक्षक रुपेश नेपाली फुटबलबाट टाढिएका थिए । त्यतिबेला आरसी ३२ मा रुपेशले प्रबन्धकको जिम्मेवारी सम्हालेका थिए ।
‘प्रिन्स दाइ र रुपेश दाइले मलाई आरसी ३२ क्लबबाट खेल्न प्रस्ताव गर्नुभएको थियो । तर, उहाँहरूको प्रस्तावले भन्दा पनि रोहित दाइलाई आइडल मान्ने भएकाले म क्लबमा आबद्ध भएको हुँ । सुरुमा फ्यानका रूपमा क्लबमा पुगेको थिएँ,’ रोहनले सुनाए ।
‘सी’ डिभिजन लिगको अनुभवपछि रोहनले सोझै धनगढीबाट अवसर पाएका हुन् । रोहनको प्रतिभा बुझेका प्रशिक्षक राईले एनएसएल जस्तो ठूलो प्रतियोगितामा अवसर दिन कत्ति पनि ढिला गरेनन् । जुन फलदायी बन्न पुग्यो ।
नेतृत्व कौशलकै कारण रोहनले टोलीको कप्तानी जिम्मेवारी सम्हाल्ने मौका पाए । उनकै प्रेरणादायी प्रदर्शनमा क्लब दोस्रो प्रयासमा ‘सी’ डिभिजनमा बढुवा भयो । फाइनलमा झापाको समाजसेवी क्लबलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै निशान श्रेष्ठको नेतृत्वमा रहेको आरसी ३२ छनोट हुन सफल भएको थियो । प्रतियोगितामा रोहनले दुई गोलसमेत गरे ।
एक वर्षपछि सम्पन्न ‘सी’ डिभिजन लिगमा २ अंकले पछि पर्दा आरसी ३२ दोस्रो डिभिजनमा बढुवा हुनबाट वञ्चित भयो । आरसी ३२ लाई पछि पार्दै झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले दोस्रो डिभिजनमा स्थान बनाएको थियो । उक्त प्रतियोगितामा रोहनले एक गोल गर्दा ६ एसिस्ट गरे । उनको एकमात्र गोल सेट पिसबाट आएको थियो । करिब ३० यार्डबाट रोहनले स्वयम्भू क्लबविरुद्ध उत्कृष्ट गोल गरेका थिए ।
‘सी’ डिभिजन लिगको अनुभवपछि रोहनले सोझै धनगढीबाट अवसर पाएका हुन् । रोहनको प्रतिभा बुझेका प्रशिक्षक राईले एनएसएल जस्तो ठूलो प्रतियोगितामा अवसर दिन कत्ति पनि ढिला गरेनन् । जुन फलदायी बन्न पुग्यो । धनगढी अनि राष्ट्रको लागि पनि ।
रोहनको प्रतिभाले राष्ट्रिय टोलीको ढोका ढक्ढकाइसकेको छ । एक न एकदिन अन्तर्राष्ट्रिय फुटबलमा देशको प्रतिनिधित्व गर्नेछन् नै । अहिले उनी ठूलो प्रतीक्षामा छन् । ठूलो प्रतीक्षा यो अर्थमा की उनी आफ्नो आइडल रोहित चन्दसँगै खेल्न चाहन्छन् ।
रोहन भन्छन्, ‘राष्ट्रिय टोलीको जर्सी लगाउनु सबै खेलाडीको चाहना हुन्छ । यसकै लागि मिहिनेत गरिरहेको छु । म रोहित दाइको डाइहार्ड फ्यान हुँ । रोहित दाइसँग अन्तर्राष्ट्रिय फुटबलमा सँगै खेल्ने मेरो सपना हो ।’