काठमाडौं । यसपालिको फिफा महिला विश्वकप फुटबल विगतका संस्करणभन्दा दुई कारणले फरक हुँदै छ । ती हुन्, सहभागी टिमको संख्यामा बढोत्तरी र दुई फरक महादेशीय संघका सदस्य राष्ट्र आयोजक । एसियाको अस्ट्रेलिया र ओसियानाको न्युजिल्यान्डमा जुलाई २० देखि हुने विश्वकपमा कुल ३२ टिम सहभागी हुनेछन् ।
सन् २०२६ को पुरुष विश्वकप खेल्ने टिमको संख्या ३२ बाट ४८ पुर्याइएको छ । यही मेसोमा महिला विश्वकप खेल्ने टिमको संख्या पनि बढाइएको हो । सन् २०१९ मा २४ टिमले महिला विश्वकप फुटबल खेलेका थिए । सन् २०१६ मा ११ टिममात्र प्रतिस्पर्धी थिए ।
यस्तोमा के भन्न सकिन्छ भने यो महिला विश्वकप अहिलेसम्मकै बृहत् हुनेछ । यो विश्वकप विश्व महिला फुटबलमा महत्त्वपूर्ण विन्दु पनि हो । यसको कारण त अघि भनेजस्तै टिमको संख्यामा बढोत्तरी नै हो । विश्वकप खेल्ने टिमको संख्या ह्वात्तै बढ्नुको सन्देश हो, महिला फुटबलमा विश्वव्यापी चासो बढेको छ ।
फेरि महिला फुटबलमा गम्भीर हुने देशको संख्या पनि बढेको छ । पछिल्लो एक दशकमा विश्वकप दाबेदार टिमको संख्या बढ्नुले पनि यसको प्रस्ट संकेत गर्छ । अस्ट्रेलिया र न्युजिल्यान्डमा अमेरिकालाई मात्र दाबेदार मानिने छैन । यो त पक्का हो ।
आयोजक अस्ट्रेलिया आफैं पनि बलियो दाबेदार हो । यो टिमको केन्द्रमा साम केर हुनेछिन् । इङ्लिस क्लब चेल्सीबाट खेल्ने केर अस्ट्रेलियाकी उच्च गोलकर्ता हुन् । अमेरिकी लिगमा समेत सबैभन्दा बढी गोल गर्ने कीर्तिमान उनकै नाममा छ ।
उच्च गोल लयमा रहेकी केरलाई घरेलु समर्थकको साथ रहनेछ । यदि अस्ट्रेलिया अगस्ट २० मा हुने उपाधि भिडन्तमा पुग्ने हो भने यसको मुख्य कारण उनै केर हुनेछिन् ।
उसो त यो विश्वकपलाई सहभागी टिमको संख्याका आधारमा मात्र बृहत मानिन लागिएको होइन । यसको अर्को आधार हो पुरस्कारमा वृद्धि । कतिसम्म भने विश्वकपका लागि खेलाडी फुकुवा गर्ने क्लबहरूकै लागि १५ करोड अमेरिकी डलर क्षतिपूर्ति छुट्याइएको छ । जबकि चार वर्षअघि यो रकममात्र ५ करोड थियो । झन् सन् २०१५ मा त डेढ करोडमात्र थियो ।
क्लबहरूका लागि छुट्याइने रकममा यत्तिको वृद्धिको संकेत हो, विश्व महिला फुटबल अब आर्थिक रूपमा समृद्ध हुँदै छ । यो संकेत यस्तो बेला देखापरेको छ, जतिबेला महिला फुटबल हेर्ने दर्शकको संख्या पनि निरन्तर बढिरहेको छ । चाहे युरोपेली च्याम्पियन्स लिग होस् वा अन्तर्राष्ट्रिय खेल, रंगशाला पुग्ने दर्शक संख्या लोभलाग्दो छ ।
विश्व महिला फुटबलमा छुट्याइँदै गरेको रकम आकर्षक छ । तर, पुरुष फुटबलको तुलनामा यो अझ पनि असाध्यै थोरै हो । पुरुष विश्वकप सन् २०२२ मा करिब ४४ करोड अमेरिकी डलर पुरस्कारका लागि छुट्याइएको थियो ।
कमाइका हिसाबले पुरुष फुटबल महिलाभन्दा कयौं कोस पर छ । पुरुष विश्वकपको टेलिभिजन प्रसारण अधिकार खरिदमा हुने हानथाप यसको मुख्य कारण हो । महिला विश्वकपको प्रसारण अधिकार बिक्री त गत महिनामात्र टुंगो लागेको हो । महिला फुटबलको मुख्य बजार युरोपमा प्रशारण अधिकार बिक्रीलाई लिएर फिफा र टेलिभिजन कम्पनीहरू कयौं महिनासम्म भिडिरहे ।
जर्मनी, बेलायत, फ्रान्स, इटाली र स्पेन महिला फुटबलका लागि मुख्य बजार हुन् । यी देशमा विश्वकप कसले, कति रकम तिरेर देखाउने भन्ने टुंगो ढिलोगरी मात्र लागेको हो ।
त्यसअघि यी ५ देशमा विश्वकप प्रसारण नगर्ने चेतावनी प्रसारकहरूले दिएका थिए । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले प्रसारण अधिकार खरिदमा असाध्यै थोरै रकम प्रस्ताव गरेको भन्दै आलोचना गरेपछि प्रसारकहरु आक्रोशित बनेका थिए ।
‘फिफा वाचामात्र गर्दैन, वाचाअनुसार कदम पनि चाल्छ । तर, महिला फुटबल विकासमा फिफा जस्तो प्रतिबद्ध अरू छैनन् । प्रसारक, प्रायोजकहरू पनि फिफा जत्तिकै प्रतिबद्ध हुन जरुरी छ,’ गत मार्चमा इन्फान्टिनोले भनेका थिए । पुरुष विश्वकप प्रसारण र प्रायोजनका लागि प्रस्ताव गरिने रकमको एक प्रतिशत जतिमात्र महिला विश्वकपका लागि प्रस्ताव आउने गरेको उनको भनाइ थियो ।
युरोपेली प्रसारकहरु महिला विश्वकप प्रसारण अधिकार खरिदका लागि अपेक्षाकृत रकम किन प्रस्ताव गरिरहेका छैनन् ? उनीहरूको तर्क छ खेल हुने समय अमिल्दो भएकाले । उदाहरणका लागि सिड्नी र लन्डन वा पेरिसबीच ८ वा ९ घण्टाको फरक छ ।
समय मिल्दो नभए पनि यसपालिको महिला विश्ववकप छुटाउन नहुने बताउँछिन् अमेरिकी मेगान रापिनो । ‘सिंगो महिला खेलकुदका लागि यो जत्तिको ठूलो प्रतियोगिता अर्को छैन । यो विश्वकप हेर्न छुटाउनु भनेको महत्त्वपूर्ण सामाजिक परिवर्तनको हिस्सा नहुनु हो,’ अमेरिकी टिमकी भेट्रान स्टार रापिनोले भनेकी छन् ।
चिन्ता चोटको
महिला फुटबलमा ठूला नाममध्ये एक हुन्, रापिनो । मैदानभित्रको प्रदर्शनले मात्र होइन, बाहिरको सक्रियताले पनि उनलाई लोकप्रिय बनाएको हो । उनीसहितको अमेरिकी महिला खेलाडी समूहले अमेरिकामा पुरुष खेलाडी जत्ति नै तलब पाउनुपर्ने अभियान चलाएको थियो । फलतः अमेरिकी फुटबल संघले विश्वकप खेलेवापत प्राप्त हुने पुरस्कार रकम पुरुष र महिला खेलाडीमा बराबर बाँड्ने घोषणा गरेको थियो ।
विश्वकपको संघारमा क्यानडेली महिला फुटबल पनि विवादमा फस्यो । त्यहाँका खेलाडीले तलब, सुविधा र सम्झौतालाई लिएर आन्दोलन गर्ने धम्की दिए । उता फ्रान्समा राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा कम सुविधा पाएको भन्दै विरोध भयो । प्रशिक्षक परिवर्तन उनीहरूको अर्को माग थियो ।
फलतः फ्रान्सका केही मुख्य खेलाडी विश्वकपमा हुने छैनन् । उसो त महिला फुटबलका अरू कयौं ठूला स्टार पनि अस्ट्रेलिया र न्युजिल्यान्ड पुग्ने छैनन् । यसको कारण हो चोट ।
इङ्ल्यान्डकी कप्तान ली विलियम्सन र मुख्य स्ट्राइकर बेथ मिड इङ्लिस टिममा परेका छैनन् । दुवै घाइते छन् । नेदरल्यान्ड्सकी फरवार्ड भिभियान मिडेमा, फ्रान्सकी डेल्फिन कास्कारिनो तथा मारी एन्टोइनेट काटोटो, अमेरिकाका काटारिनो माकारियो र मालोरी स्वान्सन पनि यस विश्वकपमा देखिने छैनन् ।
यस्तोमा विश्वकपमा सबैभन्दा ठूलो स्टार स्पेनकी एलेक्सिया पुटेलास हुनेछिन् । बालोन डी’अर विजेता पुटेलास ९ महिनापछि मैदान फर्कन लागेकी हुन् ।
मुख्य दाबेदार इङ्ल्यान्ड
एलेक्सिया पुटेलासले गत सिजन बार्सिलोनाका लागि जम्मा ५ खेलमात्र खेलिन् । घुँडाको चोटका कारण लामो समय मैदानबाहिर रहेकी उनी अझ स्वाभाविक लयमा आउनै बाँकी छ । स्पेनका प्रशिक्षक जोर्ज भिल्डा टिमका बाँकी खेलाडीलाई पुटेलासले स्वाभाविक स्तरको खेलका लागि प्रेरित गर्ने बताउँछन् ।
जेहोस्, स्पेन विश्वकप दाबेदार हो । त्यस्तै दाबेदार युरोपेली च्याम्पियन इङ्ल्यान्ड, जर्मनी, ओलिम्पिकमा रजत जितेको स्विडेन र सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सलाई पनि मानिएको छ ।
‘हो हामी आशावादी छौं । हामीलाई समर्थकले भरोसा गरेका छन् । विश्वकप जित्ने सपना बोकेरै हामी अस्ट्रेलिया र न्युजिल्यान्ड पुग्दैछौं,’ इङ्ल्यान्डकी प्रशिक्षक सरिना विगमनले भनेकी छन् ।
इङ्ल्यान्डले समूह चरणको आफ्नो पहिलो खेलमा हाइटीको सामना गर्नेछ । पहिलो पटक विश्वकप खेल्न लागेको हाइटीसँग इङ्ल्यान्डको भेट जुलाई २२ मा ब्रिसबेनमा हुने तालिका छ । त्यही दिन अमेरिका एसियाली टिम भियतनामसँग भिड्नेछ ।
विश्वकपको उद्घाटन खेल भने जुलाई २० मा सहआयोजक न्युजिल्यान्ड र स्विडेनबीच हुनेछ । अस्ट्रेलिया भने आफ्नो पहिलो खेलमा आयरल्यान्डविरुद्ध मैदान उत्रनेछ ।