काठमाडौं । २०७६ साल पुस महिनाको कुरा हो । कोरोना भाइरस महामारीले पूरा विश्व नै अस्तव्यस्त बनाउने समाचारहरू बजारमा छ्यापछ्याप्ती थिए । नेपाल पनि यसको प्रत्यक्ष सिकार बन्दै थियो । नेपालीले कोरोनालाई यति ठूलो समस्याको रूपमा भने लिइसकेका थिएनन् । ठीक त्यही बेला नेपाली फुटबलको उर्बरभूमि धरानमा २० औं गोधूलि फुटबल रनिङ कप प्रतियोगिता चलिरहेको थियो ।
नेपालकै सबैभन्दा पुरानो स्थानीय प्रतियोगितामध्ये एक गोधूलि कपको क्रेज बेग्लै थियो । धरान रंगशालाको प्यारापिटमा भरिभराउ दर्शक थिए । धरान उपमहानगरपालिकाका सबै २० वडाले सहभागिता जनाउने प्रतियोगिताको महत्व धरानमा धेरै थियो । छ ।
खेलाडीहरूले यहीं गरेको प्रदर्शनलाई आधार मानेर बुढासुब्बा गोल्डकपका लागि धरान फुटबल क्लबले टिम बनाउने गर्दछ । त्यसैले आफ्ना वडाका केटाहरूलाई समर्थन गर्न, हौसला प्रदान गर्न स्थानीयवासी मैदानमा ओइरिन्छन् ।
प्रतियोगिताको क्रेज देखेपछि भर्खरै सिंगापुर प्रहरीमा २५ वर्ष सेवा गरेर घर फर्केका श्यामकुमार लिम्बुमा आफ्ना छोरालाई पनि मैदानमा उतार्ने कौतूहल जाग्यो ।
क्वाटरफाइनल समीकरण पूरा भइसेकेको थियो । त्यसैले श्यामकुमारले कत्ति पनि ढिला नगरी धरान १६ टिममा आफूले चिनेका साथीसँग छोरालाई पनि सहभागी गराउन आग्रह गरे । उनको आग्रह स्वीकार्दै प्रशिक्षक र वडाका अधिकारीहरूले श्यामकुमारका छोरालाई मैदानमा उतारे ।
श्यामकुमारका छोरा थिए वर्तमान नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सदस्य लाकेन लिम्बु । यही आउँदो असार ६ देखि भारतको बेङ्लोरमा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको १४ औं संस्करणका लागि नेपालको २२ सदस्यीय टोलीमा पहिलोपल्ट स्थान बनाएका लाकेनले त्यस दिन अर्थात् पौष २७ गते नेपाली भूमिमा पहिलो पटक फुटबल खेल्दै थिए । विपक्षी थियो धरान ६ ।
लाकेनले पहिलो खेलमै दर्शकको मन लोभ्याए । धरान १६ ले धरान ६ लाई २-१ को नतिजामा पराजित गरेको थियो । मिडफिल्डर लाकेन पहिलो खेलमै म्यान अफ द म्याच चुनिए । प्रतियोगितामा लाकेन र अर्का मिडफिल्डर मनिष बस्नेतको प्रदर्शनप्रेरित धरान १६ ले फाइनलसम्मको यात्रा गरेको थियो ।
सेमिफाइनलमा धरान ११ माथि २-० को सहज जित हासिल गरेको धरान १६ ले फाइनलमा भने धरान १७ को चुनौती पन्छाउन सकेन । टोली टाइब्रेकरमा ५-४ ले हार्न पुग्यो । टाइब्रेकरअघि निर्धारित समयसम्म १-१ को बराबरीमा खेल सकिएको थियो ।
उपाधि नजिते पनि घरेलु भूमिमा खेलेको पहिलो प्रतियोगिता लाकेनका लागि यादगार रह्यो । गोधूलि कपमा लाकेनले गरेको प्रदर्शन बेवास्ता गर्न नमिल्ने खालको थियो । १७ वर्षीय लाकेन स्वयं पनि आफूले गरेको प्रदर्शनबारे जानकार थिए । अन्ततः यही प्रदर्शनले गर्दा नेपाली फुटबलमा लाकेनका लागि ढोका खोलिदिने काम गरिदियो ।
बाल्यकाल
लाकेनको परिवार धरान सर्नुअघि पहिले धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकास्थित डाँडाबजारमा बस्थ्यो । लाकेन सिंगापुरमै जन्मेहुर्केका हुन् । २५ वर्ष अगाडि बुवा श्यामकुमार लाहुरेमा भर्ती भएर सिंगापुर लागेका थिए ।
लाकेन श्यामकुमारका कान्छा छोरा हुन् । लाकेनका एक दाइ र एक बहिनी छन् । लाकेन बाल्यावस्थादेखि नै फुटबल खेल्थे । उनी बस्ने समुदायका सबै साथीभाइ फुटबल खेल्थे । यही वातावरणले गर्दा लाकेनको मन पनि फुटबलतिर तानिएको हो । विस्तारै विद्यालयतिर पनि खेल्न थाले । सुरुमा सिदार प्रिमियर स्कुलमा पढेका लाकेनले पछि सेरांगून गार्डेन सेकेन्डरी स्कुलमा आफ्नो स्कुलेजीवन बिताए । त्यसपछि उनी नेपाल फर्केका हुन् ।
‘स्कुलमा हुँदै अधिकांश समय फुटबललाई नै दिएँ । एकेडेमीमा पनि आबद्ध भएँ । एकेडेमीबाट प्रतियोगिताहरू खेल्ने विभिन्न देशको अनुभव पनि पाएँ । बुवा रिटायर्ड भएपछि परिवारसँगै नेपाल फर्केको हुँ,’ लाकेनले भने ।
उदीयमान खेलाडी र राष्ट्रिय टोलीसम्मको यात्रा
गोधूलिमा लाकेनको प्रदर्शनले त्यहाँका स्थानीय प्रशिक्षकहरूको ध्यान तानेको थियो । कोरोना महामारीबीच नै नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा देशकै पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदै थियो । यसबीच लाकेनको खेल कौशलताको कुरा एनएसएलमा सहभागी हुने क्लबमध्येको एक ललितपुर सिटी एफसीसम्म पुग्यो ।
लाकेनले ललितपुरमा प्रशिक्षणको मौका पाएका थिए । तर, अन्तिम टोलीमा छनोट भने हुन सकेनन् । एनएसएल खेल्न वञ्चित लाकेनले त्यसपछि केही गोल्डकपहरू खेले । त्यसपछि सोही वर्ष हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ का लागि थ्री स्टार क्लबमा ट्रायलका लागि गए । उक्त ट्रायलमा पास भएपछि उनी घरेलु फुटबलको महारथी थ्री स्टार क्लबसँग आबद्ध भए ।
‘बिहान लगनखेलको बुद्धिविकास खेल मैदानमा थ्री स्टारको ट्रायल थियो । आफूले सक्ने राम्रो प्रदर्शन दिएँ । मनमा छनोट हुन्छु कि हुँदिनँ भन्ने दुविधा थियो । तर, दिउँसो नै मलाई क्लबबाट फोन आयो । प्रशिक्षक उर्जन (श्रेष्ठ) दाइलाई मेरो खेल मनपरेछ । अनि त्यही दिन मैले सम्झौतापत्रमा हस्ताक्षर गरें,’ लाकेन विगत सम्झन्छन् ।
शीर्ष श्रेणीको पहिलो अनुभवमा लाकेन अधिकांश समय बेन्चमै रहे । १३ मध्ये ६ खेलमा उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । लाकेनले दुईपटक भने पहिलो रोजाइबाटै खेल्न पाए ।
क्लबमा प्रशिक्षक मेघराज केसीको आगमनपछि भने लाकेनले हकलाग्दो मौका पाए । भर्खरै सम्पन्न सहिद स्मारक लिगमा लाकेनले २६ मध्ये २५ खेल खेले । त्यो पनि सबै पहिलो रोजाइबाट । उनले तीन गोल गर्नुका साथै चार गोलका लागि अवसर पनि मिलाइदिए ।
बक्स टु बक्स मिडफिल्डमा जमेका लाकेनले आफ्नो खेल कौशलका कारण सबैलाई प्रभावित पारे । प्रभावित पर्ने मध्ये एक थिए, नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस । एनेसले अनुभवी खेलाडीलाई छाडेर भारत जाने नेपालको २२ सदस्यीय टोलीमा लाकेनलाई समावेश गरे । राष्ट्रिय टिमबाट पहिलो भ्रमणमै उनले ‘डेब्यु’को मौका पाइसकेका छन् । फिलिपिन्ससँग बिहीबार १-० को हार भोगेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लाकेन पहिलो रोजाईबाटै मैदान उत्रिएर पूरा समय मैदानमा बिताए ।
थ्री स्टारका लागि यो सिजन एकदमै कठिन रह्यो । तर, लाकेनको प्रदर्शन हेर्नलायकको थियो । यही प्रदर्शनका कारण उनी लिगको उदीयमान खेलाडी पनि घोषित भए ।
‘पछिल्लो सिजन लिगको मध्यचरणमा विक्रम (लामा) दाइले चोट बोक्दा उहाँको स्थानमा खेल्ने मौका पाएको थिएँ । प्रायःजसो बेन्चमै बसें । बेन्चमा बस्दा बस्दा फ्रस्ट्रेड पनि भएँ । त्यसले मलाई झन् उत्प्रेरित गर्यो । मलाई यो भन्दा धेरै गर्न सक्छु जस्तो लाग्थ्यो । त्यसैले मिहिनेत गरें । प्रमाणित गर्न चाहन्थें,’ लाकेन बोले, ‘म एकदिन राष्ट्रिय टोलीका लागि खेल्छु भन्ने आत्मविश्वास चाहिँ थियो । बुवालाई पनि विश्वास थियो, एकदिन छोराले राष्ट्रिय टोलीबाट खेल्छ भन्ने । तर, यति चाँडो टोलीमा स्थान बनाउँछु भनेर चाहिँ सोचेकै थिइनँ ।’
गत साता थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० ले पराजित गर्दै शीर्ष श्रेणीको हैसियत जोगाएको थियो । त्यो खेल लिगको अन्तिम खेल थियो । उदीयमान खेलाडीको ट्रफी जितेपछि दशरथ रंगशालामा रहेका लाकेनले काठमाडौंमै रहेका आमा भद्र याख्खालाई मेसेज गरे, त्यसपछि फोटोहरू पठाए । त्यसपछि धरानमा रहेका बुवा श्यामकुमारलाई फोन गरे ।
‘आमाले फुटबल बुझ्नुहुन्न । तर, सपोर्ट चाहिँ गर्नुहुन्छ । जेहोस् खुसी हुनुभयो आमाबुवा,’ लाकेनले सुनाए, ‘बाबाको चाहिँ दाइ र म एकचोचि सँगै खेलेको हेर्ने सपना थियो । तर, दाइ अहिले अर्कै करियरतिर लाग्नुभयो ।’
अहिले साफको तयारीमा रहेका लाकेनले बेङ्लोरमा पूरा खेल्ने समय पाउँछन् या पाउँदैनन्, त्यो प्रशिक्षकको निर्णयमा भर पर्छ । तर, राष्ट्रिय स्तरमा लाकेनको आगमनले नेपाली फुटबल समर्थकमा खुसी ल्याएको छ । उनीहरूलाई एउटै डर छ, कतै लाकेन पनि अरू खेलाडीझैं विदेशीने त होइनन् ? दाइ जस्तै अवसरको खोजीमा परदेश जाने त होइनन् ?
लाकेनसँग अहिले तयारी जवाफ छ, ‘पलायन हुँदिनँ । तर, इन्डोनेसिया मलेसियातिरको शीर्ष डिभिजन खेल्ने रहर छ । त्यसका लागि मिहिनेत गर्नेछु ।’
लाकेन अहिले २० वर्षका मात्र छन् । साउनमा २१ लाग्दैछन् । व्यावसायिक फुटबल करियरमा यो उनको भर्खर सुरुआत हो । उनले अहिले भनेका कुराहरू परिवर्तन हुन्छन् वा हुँदैनन्, त्यो भर पर्नेछ आउने दिनमा हुने फुटबल गतिविधिबाट । लाकेन जस्तो प्रतिभावान खेलाडीलाई विदेशिन नदिन अब अखिल नेपाल फुटबल संघ (एन्फा) तयार रहनुपर्छ । व्यवस्थित क्यालेन्डर बनाउनुपर्नेछ । यस्तो नगरे लाकेन जस्ता अरू प्रतिभाले अन्य विकल्प रोज्नेछन् । जसको प्रत्यक्ष असर नेपाली फुटबलमाथि नै पर्नेछ ।
लाकेनका क्लब प्रशिक्षक केसी भन्छन्, ‘लाकेन एकदमै अनुशासित र नेपालका लागि सम्भावना बोकेका खेलाडी हुन् । शीर्ष श्रेणीको दोस्रो अनुभवमै राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । लाकेनजस्ता खेलाडीलाई हामीले संरक्षण गर्न सक्यौं भने नेपाली फुटबलमा पछिसम्म पनि राम्रो खेलाडीको कमी हुनेछैन । लाकेनको सन्दर्भमा एउटै मात्र प्रश्न खडा हुन्छ, त्यो हो हामीले उसलाई कतिसम्म बचाएर राख्न सक्छौं ?’
यति भनिरहँदा लाकेनले राष्ट्रिय टोलीका लागि डेब्यु गरिसकेका छन् । बिहीबार मनिलामा फिलिपिन्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लाकेनलाई प्रशिक्षक एनिसले डेब्यु गराएका छन् । उक्त खेल नेपालले १-० ले गुमाएको थियो ।