आइसिसी ट्वान्टी २० विश्वकप

ट्वान्टी-२० विश्वकपः के इतिहास दोहोरिँदै छ ?

धेरैले यस्तै भन्छन्, इतिहास आफैं दोहोरिन्छ । अझ खेलकुदमा इतिहास दोहोरिएका धेरै घटना छन् । अहिले अस्ट्रेलियामा भइरहेको ट्वान्टी-२० विश्वकप क्रिकेट समाप्तिको संघारमा छ । मात्र फाइनल बाँकी छ । आइतबार हुँदै छ । प्रतिद्वन्द्वी छन् पाकिस्तान र इङ्ल्यान्ड । यही फाइनललाई लिएर फेरि भन्न सुरु भएको हो, के इतिहास दोहोरिँदै छ । के साँच्चै ?

इतिहासको कुरा गरिरहेका छौं भने इतिहासमै फर्कौं न । सन् १९९२ को एकदिवसीय विश्वकप । अस्ट्रेलिया र न्युजिल्यान्डले त्यसको संयुक्त आयोजना गरेका थिए । धेरै खेल अस्ट्रेलियामै भएका थिए । सहभागी टिमबीच सुरुमा राउन्ड रोबिन पद्दतिमा खेल भएको थियो । 

त्यसको सुरुमा सबैभन्दा खराब खेल्ने टिम थियो पाकिस्तान । झन्डै-झन्डै प्रतियोगिताबाट बाहिरिने स्थितिमा थियो, तर कसो-कसो सेमिफाइनल पुग्न सफल रह्यो । यसमा भाग्यको खेल केही थियो, पाकिस्तानी टिमकै प्रदर्शन केही । फाइनल मेलबर्नमा भएको थियो । पाकिस्तानको प्रतिद्वन्द्वी थियो इङ्ल्यान्ड नै ।

पाकिस्तान त्यसमा २२ रनले विजयी भयो । कप्तान थिए प्रसिद्ध इमरान खान । अहिलेको ट्वान्टी-२० विश्वकपमा पनि पाकिस्तानको छाँटकाँट यस्तै छ । सुरुमै भारतविरुद्धको खेल गुमाएको पाकिस्तान सुपर–१२ को ग्रुप-२ को खेलमा जिम्बावेसँग पनि पराजित भयो । त्यतिबेला सबैले भन्न थालेका थिए, यो पाकिस्तानी टिममा कुनै दम छैन । तर, यही पाकिस्तानी टिम सेमिफाइनल मात्र पुगेन, फाइनल नै पुगेको छ ।

ग्रुप-२ मा दक्षिण अफ्रिकालाई हराएपछि पाकिस्तानको भाग्य दाहिना हुन थालेको थियो । दक्षिण अफ्रिका आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि त झन के चाहियो, पाकिस्तानले पनि आफ्नो अन्तिम लिग खेलमा बंगलादेशलाई हरायो । नतिजा भयो टिम सेमिफाइनल पुग्ने । सेमिफाइनलमा पाकिस्तानले हराएको टिम थियो, ग्रुप-१ मा सबैभन्दा राम्रो खेलेको न्युजिल्यान्ड । संयोग शब्द त्यसै बनेको होइन, सन् १९९२ को एकदिवसीय विश्वकपमा पनि यस्तै भएको थियो ।

पाकिस्तानले त्यतिबेला सेमिफाइनलमा न्युजिल्यान्डलाई नै हराएको थियो । त्यसैले त हो, पाकिस्तानमा उत्साह छ, यो ट्वान्टी-२० विश्वकप पनि आफैंले जित्ने हो भनेर । त्यसमाथि कप्तान बाबर आजम हल्का लयमा फर्केका छन् । उनका ओपनिङ पार्टनर मोहम्मद रिजवान त आफैं मस्त लयमा छँदै छन् । साहिन साह अफ्रिदीको बलले पनि कमाल गरिरहेको छ । ठीक यही बेला पाकिस्तानको एउटा इच्छा भने पूरा भएन, फाइनलमा भारतविरुद्ध खेल्ने ।

भारत सेमिफाइनलमा इङ्ल्यान्डकै हातबाट रोकिएको हो । त्यो दोस्रो सेमिफाइनलमा भारतको हार साँच्चै लज्जास्पद नै रह्योभन्दा हुन्छ, नत्र के भन्ने त ? त्यो स्कुल क्रिकेट थिएन, तर भारत १० विकेटले पराजित भएको थियो । भारत ट्वान्टी-२० क्रिकेटमा नम्बर १ टिम थियो, इङ्ल्यान्ड नम्बर २ । तर, खेल हेर्दा लागिरहेको थियो, भारत त्यस्तो टिमै थिएन । यो नतिजाले देखाउँछ, इङ्ल्यान्ड आफैं कति धेरै बलियो छ भनेर अनि यसले के मात्र गर्न सक्छ भनेर ।

इङ्लिस टिम सेतो बलका विशेषज्ञ खेलाडीले भरिएको टिम हो । कप्तान जस बटलर आफ्नो खेलजीवनकै सबैभन्दा उत्कृष्ट लयमा छन् । एलेक्स हेल्सले भारतविरुद्ध जुन खेल प्रदर्शन गरे, त्यसको प्रशंसा नगरेर सुखै छैन । यस्तोमा इंग्ल्यान्डसामु साँच्चै जबरदस्त मौका छ, फेरि एकपल्ट ट्वान्टी-२० विश्वकप जित्ने । इङ्ल्यान्ड एकदिवसीय विश्वकप विजेता हो । अब के चाहियो र ? इंग्ल्यान्डसामु खासमै अवसर छ, यही सिद्ध गर्न । इतिहास बारम्बार दोहोरिन्न । इतिहास फरक ढंगले पनि लेखिन्छ ।