काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०५८ सालमा शासन पूर्ण रूपमा आफ्नो हातमा लिएपछि नेपाल क्रिकेट संघले असारमा एउटा क्रिकेट प्रतियोगिता गरेको थियो ।
सर्वशक्तिमान राजाको चाकरीका लागि उनकै जन्मोत्सवको अवसरमा असारमा क्रिकेट प्रतियोगिता गरिएको थियो । तर राजाभन्दा शक्तिशाली प्रकृति बन्यो । बेमौसममा प्रतियोगिता गरिएको कुरा चित्तबुझ्दो थिएन । टुँडिखेलमा हुने भनिएको प्रतियोगिताका सबै खेल वर्षाका कारण रद्द भए । पूरा प्रतियोगिता ‘वासआउट’ भयो ।
देश संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणालीमा गइसकेको छ । गणतान्त्रिक संविधानले पाँच वर्षे कार्यकालका लागि दोस्रो पटक स्थानीय चुनाव गराइसकेको छ । आमनिर्वाचनबाट निर्वाचित प्रदेश तथा संघका सांसदले पनि पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन् । मंसिर ४ गते दोस्रो कार्यकालका लागि निर्वाचन हुँदै छ ।
तर, नेपाली खेलकुदले राजतन्त्रको धङधङ्गी बिर्सन सकेको छैन । त्यही भएर भदौरे मध्य झरीमा गणतान्त्रिक नेपालको राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्रिकेट प्रतियोगिता गर्ने दुस्साहस गर्यो । राजाको कालमा जस्तै मौसमलाई च्यालेन्ज गर्न गणतन्त्रको कालमा पनि आँट पलायो । नतिजा, अहिले पनि प्रकृतिभन्दा बलियो गणतन्त्रका ‘छोटे राजा’हरू भएनन् । पूरा जसो प्रतियोगिता वासआउट भएको छ । मौसम पूर्वानुमान नगरी प्रतियोगिता गरिनु आयोजकको कमजोरी छर्लंङ भएको मात्र होइन, हास्यास्पद नै छ । जबकि मौसम पूर्वानुमान महासंघले साताभरको मौसमको खाका नै बताउने गर्छ ।
शुक्रबार बिहान कांस्य पदकका लागि खेल हुनुपर्ने थियो । अपेक्षा गरिएजस्तै वर्षाका कारण खेल सम्भव भएन । बृहत राष्ट्रिय खेलकुदको आफ्नै ‘कार्यविधि’ छ, पदकको निर्णय हुनैपर्छ । साँच्चै खेल गराउने मामलामा चाहिँ बजेट र समयको पाबन्दी पनि छ । त्यसैले टस गराइयो । टसमा एनआरएनए एकेडेमीलाई हराउँदै सुदूरपश्चिम प्रदेश कांस्य पदकको लायक भयो । असोज २८ बाट कात्तिक ३ सम्म पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा हुने भनिएको नवौं बृहत राष्ट्रिय खेलकुदमा पहिलो पदक जित्न सुदूरपश्चिम प्रदेश सफल भयो ।
शुक्रबारै तय भएको नेपाल पुलिस र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टोलीबीचको फाइनललाई पनि वर्षाले प्रभावित पार्यो । वर्षाका कारण निर्धारित २० ओभरको खेल हुन नसक्ने भएपछि आठ ओभरमा घटाइयो । जसमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पदक जित्यो । आर्मीले दिएको एक सय चार रनको लक्ष्य पुलिसले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
उद्घाटनभन्दा एक महिनाभन्दा चाँडो गरी सुरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो दिन भदौ २३ देखि सुरु भएको वर्षाका कारण प्रतियोगिताका कुल २९ खेलमध्ये ११ खेलमात्र हुन पाए । त्यो पनि सबैको पूरा खेल हुन सकेन । अर्थात बाँकी ११ खेलहरू त्यसै रद्द भए ।
झन्डै दुईतिहाइ खेल रद्द हुँदा पूरै प्रतियोगिता खल्लो बन्यो । सँगै राष्ट्रियस्तरमा भइरहेको प्रतियोगितामा आफूलाई प्रमाणित गर्छु भन्ने खेलाडीहरूको सपना पनि वर्षाले बगायो ।
विवादास्पद रूपमा राष्ट्रिय टिमबाट हटाएर पुनः सानदार पुनरागमन गरेका राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको वाग्मती प्रदेशले प्रतियोगितामा एउटै खेल खेल्न पाएन । एउटै खेल नखेलिकन वाग्मती प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो ।
‘खेलेर हार्न पाएको भए स्वीकार्य हुन्थ्यो । तर एउटै खेल नखेली हामी पराजित हुनुपर्यो । खेल्दै नखेल्दा हार्नुपर्ने यो कस्तो प्रतियोगिता ?,’ राष्ट्रिय टोलीमा सनसनीपूर्ण पुनरागमन जनाएका ज्ञानेन्द्रले भन्छन् ।
राष्ट्रिय टोलीबाट अपमानजनक तरिकाले हटाइएको पीडामा मलम लगाउन सायद उनलाई यो प्रतियोगिता आवश्यक थियो । यसैगरी ज्ञानेन्द्रजस्ता उच्चस्तरीय खेलाडीसँगै वा विपक्षमा खेलेर धेरै कुरा सिक्ने तथा प्रेरित हुने अवसरबाट पनि स्थानीय स्तरका सयौं युवा खेलाडीहरू वञ्चित भए ।
खेल्नै नपाई प्रतियोगिताबाट बाहिरिने एपीएफका अर्का एक युवा खेलाडी मूलपानी मैदानमा भन्दै थिए, ‘सिनियर खेलाडीहरूसँग खेलेर सेलेक्टर (छनोटकर्ता) हरूलाई प्रभावित गर्छु भन्ने थियो । तर यस्तो वर्षाको मौसममा क्रिकेट गराएपछि कसरी खेल्नु ? उसै त प्रतियोगिता नै हुँदैन । भएको पनि यसरी वर्षामा झारो टार्ने पारामा गरेपछि कसरी होला ?’
प्रतियोगिताअन्तर्गत समूह चरणका कुल २५ खेलमध्ये १६ खेल रद्द भए । यसमा सबैभन्दा अभागी टिम थियो वाग्मती प्रदेश । वाग्मतीले एक खेल पनि खेल्न नपाई प्रतियोगिताबाट बाहिरिएको हो ।
अझ रोचक कुरा के भने मूलपानीमा हुने तय भएका सबै (११ वटै) खेल टससमेत नभई रद्द भए । यस्तै, त्रिवि क्रिकेट मैदानमा हुने तय भएका सात खेल पनि नतिजाविहीन बन्यो ।
यसैकारण सहभागी ९ टिमले राखेपलाई पत्र लेख्दै यसबारे सदस्य-सचिवको ध्यानाकर्षण समेत गराएका थिए । जसमा एनआरएनए र आर्मीले मात्र हस्ताक्षर गरेका थिएनन् ।
कुन टिमले कति खेल खेले ?
समूह ‘ए’ मा आर्मीले ५ खेलमध्ये सर्वाधिक तीन खेल खेल्यो । तालिकाको दोस्रो स्थानमा रहेको पुलिस र तेस्रो स्थानको कर्णालीले समान दुई खेल खेले । यस्तै, चौथो स्थानको गण्डकीले एक खेलमात्र खेल्न पाउँदा पाँचौं र छैटौं स्थानका मधेस र लुम्बिनी प्रदेशले दुई-दुई खेल मात्र खेल्न पाए ।
समूह ‘बी’ को शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको एनआरएनएले चार खेलमध्ये एक खेलमात्र खेल्न पायो । यस्तै, दोस्रो स्थानको सुदूरपश्चिमले पनि एक खेलमात्र खेल्यो । तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेका एपिएफ क्लब र वाग्मती प्रदेशले एकै खेल खेल्न पाएनन् । तालिकाको पाँचौं स्थानमा सीमित बनेको प्रदेश १ ले पनि एक खेलमात्र खेल्न पायो ।
दुई खेलमात्र खेल्न पाएको लुम्बिनी प्रदेशका एक खेलाडीले आयोजक राष्ट्रिय खेलकुद परिषदलाई व्यंग्य गरे, ‘राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गरौं । पदक जितौं भन्ने सबै खेलाडीलाई हुन्छ । सबै टिमले पनि यसलाई विशेष महत्व दिएका हुन्छन् । तर आयोजक राष्ट्रिय खेवलकुद परिषदले नै यसलाई महत्व नदिएको बारम्बार प्रमाणित भइरहेको छ । आयोजकको यस्तो रवैयाले राष्ट्रिय खेलकुदको गरिमा निकै तल खस्काउँछ ।’
क्रिकेट किन चाँडो ?
नेपाल सरकारबाट ६० करोड रुपैयाँको बजेट निश्चित गरेपछि नेपाली खेलकुदको मुख्य कार्यकारी निकाय राष्ट्रिय खेकलुद परिषदले गण्डकी प्रदेशमा हुने तय भइसकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणका लागि असोज २८ देखि कात्तिक ३ सम्मको मिति तोकेको थियो ।
तर, त्यसो भए पनि ट्वान्टी-२० स्वरुपमा हुने क्रिकेटअन्तर्गत पुरुषको प्रतिस्पर्धा भने एक महिनाभन्दा चाँडो गरी भदौ २३ देखि काठमाडौंमा सुरु गरियो । जसरी पनि राष्ट्रिय खेलकुद सम्पन्न भएको घोषणा गर्न हतारिएको राष्ट्रिय खेलकुद परिषदले पुरुष क्रिकेट सार्नुको मुख्य कारण चाहिँ त्यो हतारोमात्र होइन ।
नेपाल क्रिकेट संघ (क्यान) को विशेष अनुरोधमा विवादास्पद फ्रेन्चाइज लिग नेपाल टी-२० लाई समय उपलब्ध गराउन देशकै सबैभन्दा ठूलो खेल महोत्सवको तालिका परिवर्तन गरिएको हो । विना प्रतिस्पर्धा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार बेचेको कारण विवादित क्यानले परिषदलाई प्रभावित गर्दै राष्ट्रिय खेलकुद अघि सार्न सफल भए पनि फ्रेन्चाइज लिग भने तोकिएको समयमा नगर्ने भएको छ ।
नेपाल टी-२० लिगको विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा गृह मन्त्रालयको एक पत्रलाई बहाना बनाएर क्यानले असोज ८ देखि कात्तिक ५ गतेसम्म गर्ने भनिएको प्रतियोगिता आमनिर्वाचनपछि गर्ने भन्दै स्थगित गरिसकेको छ ।