मंसिर २७, २०८१ बिहीबार | १७:३८:४२
मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं मैत्रीपूर्ण खेलमा बालेनको गोल युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं
शनिबारको दिन नेपाली क्रिकेट

नेपालमा फ्रेन्चाइज खेल्न आएका ५ देशका ५ चर्चित खेलाडी

काठमाडौं । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को चर्चाले नछोएका सायदै कोही नेपाली क्रिकेट समर्थक छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यस प्रतियोगिताको तयारी हेर्दा सहजै भन्न सकिन्छ, यो पक्का नेपाली खेलकुदकै सबैभन्दा बृहत घरेलु प्रतियोगिता बन्नेछ ।

आठ फ्रेन्चाइज टिमबीचको यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण बहुचर्चित भारतीय टेलिभिजन स्टार स्पोर्ट्समा हुने भएपछि नेपालमा यसले झनै क्रिकेटमय माहोल बनाएको छ ।

प्रतियोगिताका निम्ति आठ टिमले भित्र्याएका केही चर्चित विदेशी अनुहार पनि यो चर्चाको अर्को प्रमुख आयाम हो । पूर्वभारतीय ब्याटर शिखर धवन, न्युजिल्यान्डका जिम्मी निसम, मार्टिन गुप्टिल, वेस्ट इन्डिजका चान्डविक वाल्टन चर्चित विदेशी नाममा पर्छन् । तर, यी अनुहारमात्रै नेपाली घरेलु क्रिकेट प्रतियोगिताले पाएको ठूला विदेशी नाममा पर्दैनन् । यसअघि निजी कम्पनी जोरा स्पोर्टस म्यानेजमेन्टको आयोजनामा भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पनि केही चर्चित विदेशी खेलाडीले खेलेका थिए ।

शिखर धवन (भारत), एनपिएल-२०२४ (कर्णाली याक्स)

शिखर धवन,तस्विरः सरोज सापकोटा/खेलाडी । 

भारतीय टिमका पूर्व ओपनर ब्याटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्नेछन् । उनी नेपालको फ्रेन्चाइज क्रिकेट खेल्न लागेका भारतीय टिमबाट खेलिसकेका पहिलो क्रिकेटर समेत हुन् । यसअघि भारतीय राज्य स्तरका खेलाडीले नेपालको फ्रेन्चाइज प्रतियोगितामा सहभागिता जनाए पनि त्यसमध्ये कसैले पनि राष्ट्रिय टिमबाट खेलेका थिएनन् ।

धवन उमेरले ३९ वर्ष पुग्दैछन् । बायाँहाते ब्याटर धवनले भारतीय टिमबाट सन् २०१० मा डेब्यू गरेका थिए । उनले १४ वर्षे लामो अन्तर्राष्ट्रिय करियर यसै वर्ष टुंग्याउने निर्णय गर्नुअघि भारतीय टिमबाट ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यसक्रममा उनले टेस्टमा २ हजार ३१५, एकदिवसीयमा ६ हजार ७ सय ९३ र टी-२० मा १ हजार ७५९ रन बनाएका छन् ।

उनीसँग डेक्कन चार्जर्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स र पन्जाब किंग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ ।

मार्टिन गुप्टिल (न्युजिल्यान्ड), एनपिएल-२०२४ (विराटनगर किंग्स)

मार्टिन गप्टिल (बायाँबाट दोस्रो) । 

धवनकै स्तरका अर्को चर्चित खेलाडी हुन्, न्युजिल्यान्डका पूर्व ओपनर ब्याटर मार्टिन गुप्टिल । गुप्टिललाई एनपीएलको पहिलो संस्करणका निम्ति विराटनगर किंग्सले अनुबन्ध गरेको छ । 

सन् २०१४ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतकसहित अविजित २३७ रन बनाएपछि गुप्टिल चर्चाको शिखरमा आएका थिए ।

गुप्टिलले  न्युजिल्यान्डबाट ४७ टेस्ट, १९८ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियका १२२ खेल खेलेका छन् । यसक्रममा उनले टेस्टमा २ हजार ५८६, एकदिवसीयमा ७ हजार ३४६ र टी–२० मा ३ हजार ५३१ रन बनाएका छन् । गुप्टिलले न्युजिल्यान्डबाट सन् २००३ मा डेब्यू गर्दा २०२३ मा संन्यास लिएका थिए ।

३८ वर्ष पुगिसकेका गुप्टिलसँग भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) जस्ता विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिगको अनुभव छ ।

शाहिद अफ्रिदी (पाकिस्तान), एभरेस्ट प्रिमियर लिग-२०२१ (काठमाडौं किंग्स इलाभेन)

शाहिद अफ्रिदी ।

नेपालको फ्रेन्चाइज क्रिकेट खेल्न आउने सबैभन्दा ठूलो नाममध्ये पर्छन्, पाकिस्तानका शाहिद अफ्रिदी । सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा अफ्रिदीलाई काठमाडौं किंग्स इलाभेनले अनुबन्ध गरेको थियो । छोटो समयका निम्ति नेपाल आएका अफ्रिदीले प्रतियोगितामा दुई खेलमात्र खेलेका थिए ।

सन् १९९६ देखि २०१८ सम्म पाकिस्तानका लागि खेलेका अफ्रिदीले कयौं पटक कप्तानी जिम्मेवारी पनि सम्हालेका थिए । उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा नै शतक पूरा गरेर तत्कालीन समयमा सबैभन्दा छिटो शतक बनाउने विश्‍व कीर्तिमान बनाएका थिए । 

उनले पाकिस्तानबाट २७ टेस्टमा १ हजार ७१६ रन र ४८ विकेट, ३९८ एकदिवसीयमा ८ हजार ६४ रन र ३९५ विकेट तथा ट्‍वान्टी-२० अन्तर्राष्ट्रियका ९९ खेलमा १ हजार ४१६ रन र ९८ विकेट लिएका छन् ।

उनले डेक्कन चार्जर्सबाट आइपिएलसमेत खेलेका थिए । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र बिगबास लिगसमेत गरी विश्वभरका चर्चित फ्रेन्चाइज लिग खेलेका छन् ।

तमिम इकवाल (बंगलादेश), इपिएल-२०२१ (भैरहवा ग्लाडियटर्स)

तमिम इकवाल । 

बंगलादेशका ओपनर ब्याटर  तमिम इकवालले पनि सन् २०२१ मा भएको एभरेस्ट प्रिमियर लिग खेलेका थिए । उनले इपिएलको उक्त संस्करणमा भैरहवा ग्लाडियटर्सबाट खेलेका थिए । 

३५ वर्षीय तमिम नेपालमा फ्रेन्चाइज क्रिकेट खेल्ने निकै कम बंगलादेशी क्रिकेटरमध्ये पर्छन् । तमिमले इपिएलमा भैरहवाबाट ५ खेल खेल्दा कुल ७५ रन बनाएका थिए । उनले इपिएलसँगै आइपिएल र क्यारेबियन प्रिमियर लिगसमेत खेलिसकेका छन् ।

बंगलादेशबाट सन् २००७ मा डेब्यू गरेका तमिमले पछिल्लो पटक सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले बंगलादेशबाट ७० टेस्ट, २४३ एकदिवसीय र  टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका ७८ खेल खेलेका छन् । त्यसमा तमिमले टेस्टमा ५ हजार १३४, एकदिवसीयमा ८ हजार ३५७ र टी-२० मा १ हजार ७५८ रन बनाएका छन् ।

उपुल थरंगा (श्रीलंका), इपिएल-२०२१ (भैरहवा ग्लाडियटर्स)

उपुल थरंगा ।

श्रीलंकाका अनुभवी पूर्व विकेटकिपर ब्याटर उपुल थरंगाले पनि नेपालको फ्रेन्चाइज क्रिकेटको अनुभव लिएका छन् । उनले सन् २०२१ मै भएको इपिएलमा भैहरवाबाट नै नेपालमा खेलेका थिए । प्रतियोगिताको उक्त संस्करणमा उपुल सबैभन्दा धेरै रन बनाउने तेस्रो ब्याटरसमेत बने । उनले भैरहवाबाट ६ खेल खेल्दा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।

थरंगाले सन् २००५ मा श्रीलंकाको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्नुअघि उनले श्रीलंकाबाट ३१ टेस्ट, २३५ एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका २६ खेल खेलेका थिए । यसक्रममा उनले टेस्ट क्रिकेटमा १ हजार ७५७, एकदिवसीयमा ६ हजार ९५१ र टी-२० मा ४०७ रन बनाएका छन् ।

उनले इपिएलसँगै विश्वका अन्य फ्रेन्चाइज क्रिकेट लिग पनि खेलेका छन् ।