काठमाडौं । धावक दीपक अधिकारी आजकल जुनसुकै कार्यक्रममा जाँदा रित्तो हात फर्कंदैनन् । कार्यक्रमको समापनपछि उनमा मीठो मुस्कान देख्न सकिन्छ । तस्बिरमा उनको हात खाली देखिँदैन ।
विगतका तस्बिर र अहिलेका तस्बिरको महत्व फरक छ । मान्छे उही, हाँसो उही । फरक केही छ, त पछिल्ला तस्बिरहरूमा उनले अघिल्लो वर्ष हासिल गरेका उपलब्धि विभिन्न रूपमा देख्न सकिन्छ ।
गत वर्ष दीपकको पसिनाले प्राप्त गरेको सफलता अहिले पुरस्कार र बधाईका रूपमा निरन्तर प्राप्त भइरहेको छ । अहिले उनलाई बधाई पाउन मिहिनेत गर्नुपर्दैन । वश ! मिहिनेत त उनले अघिल्लो वर्ष नै गरिसकेका थिए । अहिले त्यसको ब्याज खान केही समय कुर्सीमा बसिदिए पुग्छ । फर्किंदा हातमा पुरस्कार, ट्रफी, उपहार अनि स्मरणमा बधाई र प्रशंसामा धेरैले खर्चेका शब्दहरू हुन्छन् ।
‘दुई ठूला प्रतिष्ठित अवार्ड जित्दा एकदमै खुसी लागेको छ । वर्ष २०७९ मेरो लागि सफल वर्ष रह्यो । यसरी सम्मान पाउँदाको भावना व्यक्त गर्न मसँग शब्द नै छैन,’ दीपकले खुसी लुकाउन सकेनन् ।
दुई महिनाको अन्तरालमा १० हजार मिटर दौडका राष्ट्रिय च्याम्पियन दीपकले दुई प्रतिष्ठित अवार्ड जितेका छन् । वर्ष २०७९ मा गरेको सानदार प्रदर्शनका आधारमा उनी नेपाली खेलकुदमा निकै प्रतिष्ठित र विश्वसनीय दुई फरक संस्थाबाट ठूलो अवार्ड प्राप्त गर्न सफल भए ।
पुस २९ गते नेपाली खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले होटल याक एन्ड यतिमा पल्सर स्पोर्टस अवार्डको २०औं संस्करण आयोजना गरेको थियो । त्यसमा दीपकले वर्ष पुरुष खेलाडीको अवार्ड प्राप्त गरे । उनले यो सफलता राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेखलाई पछि पार्दै हासिल गरेका थिए । उपाधिसँगै उनले जिते पल्सर मोटरसाइकल ।
यही साता दीपक फेरि सम्मानित भए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमबार यलः दरबार भेन्युमा आयोजना गरेको एनएनआइपिए स्पोर्ट्स अवार्डको १८औं संस्करणमा उनी वर्षको सर्वोत्कृष्ट खेलाडी चुनिए । अवार्डसहित उनले प्राप्त गरे एक लाख रुपैयाँ । त्यसअघि उनी एथलेटिक्सतर्फ वर्ष २०७९ को उत्कृष्ट खेलाडीसमेत भएका थिए ।
‘दुई ठूला प्रतिष्ठित अवार्ड जित्दा एकदमै खुसी लागेको छ । वर्ष २०७९ मेरो लागि सफल वर्ष रह्यो । यसरी सम्मान पाउँदाको भावना व्यक्त गर्न मसँग शब्द नै छैन,’ दीपकले खुसी लुकाउन सकेनन् ।
दीपकका लागि वर्ष २०७९ साँच्चै ‘ड्रिम वर्ष’ बन्न पुग्यो । असोजमा सम्पन्न नवौं बृहत राष्ट्रिय खेलकुदमा उनले आफ्नो पहिलो सहभागितामा नै राष्ट्रिय कीर्तिमान बनाएका थिए । १० किलोमिटर दौडमा उनले गोपीचन्द्र पार्कीको नाममा रहेको ९ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेका थिए ।
पोखरा रंगशाला ट्र्याकमा भएको फाइनलमा उनले गोपीलाई नै पछि पार्दै ३० मिनेट १०.३० सेकेन्डमा दौड पूरा गरेका थिए । यसअघि गोपीको नाममा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । जुन गोपीचन्द्रले सन् २०१४ इन्चोन एसियाली खेलकुदमा बनाएका थिए ।
एनएनआइपिएको अवार्डको दुई दिनअघि पनि उनी उपाधि जित्नमै व्यस्त थिए । ’राइट टु प्रोटिन’ हाफ म्याराथनको तेस्रो संस्करणमा उनी उपाधि रक्षा गर्न सफल भए ।
‘दौडिरहेका बेला मेरो लक्ष्य स्वर्ण पदक जित्नु मात्रै थियो । पछि दौड पूरा गरेपछि मात्र थाहा पाएँ, गोपी दाइको कीर्तिमान भंग भएको रहेछ । एकदमै गर्व लाग्यो,’ दीपकले त्यो दिन सम्झे, ‘खेलपछि गोपी दाइले मलाई मैले ९ वर्ष अगाडि बनाएको कीर्तिमान तोड्याैं, आगामी दिनमा तिमीले योभन्दा पनि राम्रो गर्न सक्छौ भनेर भन्नुभयो ।’
दीपकले आफूले बनाएको त्यो कीर्तिमानमा पनि सुधार गरिसकेका छन् । यसै वर्ष सम्पन्न हाङचाउ एसियाली खेलकुदमा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गरेका थिए ।
पोखरामा स्वर्ण पदक जितेका दीपकले माघ महिनामा सम्पन्न ’राइट टु प्रोटिन’ हाफ म्याराथनको दोस्रो संस्करणमा पनि पहिलो स्थानमा दौड टुंग्याएका थिए । त्यसको एक महिनापछि उनले नेपालमै भएको एसियाली क्रसकन्ट्री च्याम्पियनसिपको व्यक्तिगत १० किमि र टिम इभेन्टमा गरी ऐतिहासिक रूपमा दोहोरो स्वर्ण पदक जितेका थिए । उनले व्यक्तिगत प्रतिस्पर्धामा जापानका डाइची कामिनोलाई पछि पारे र वर्ष २०७९ को सुखद अन्त्य गरे । यसबीच उनले लुम्बिनी हाफ म्याराथन र आर्मी हाफ म्याराथन पनि जितेका थिए । जसले उनलाई दुई ठूला अवार्डको निर्विकल्प हकदार बनायो ।
धादिङको गंगाजमुना गाउँपालिका-६ बसेरीमा जन्मेका दीपकले १२ कक्षा पढ्दासम्म पनि आफू खेलाडी बन्छु भन्ने सोचेका थिएनन् । भन्छन्, ‘गाउँमा यसरी खेल्ने अवसर कमै पाउँथ्यौं । कहिल्यै खेलिन्न । प्लस टु सकेपछि २०७१ सालमा नेपाली सेनामा भर्ना भएँ । पछि त्रिभुवन आर्मी क्लबमा प्रवेश गरेपछि बल्ल खेल्न सुरु गरेको हुँ ।’
सेनामा भर्ती भएपछि गणकै विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका दीपक पछि आफ्नो प्रतिभाका कारण आर्मी क्लबमा आबद्ध भए । यो कुरा हो २०७५ सालको । यहींबाट उनको खेल करियरले सुखद टर्न लिएको थियो ।
एक वर्षपछि मंसिरमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा सहाभागिता जनाए । जहाँँ उनले १० हजार मिटर दौडमै कांस्य पदक जिते । देशमै भएको यति ठूलो प्रतियोगिता दीपकका लागि एउटा ठूलो अवसर थियो । जसको फाइदा उनले मज्जाले उठाए । भलै, उनले त्यतिबेला स्वर्ण जित्न सकेनन् । नेपाली एथलेटिक्सका लागि त्यो दिन नयाँ बिहानी थियो ।
एनएनआइपिएको अवार्डको दुई दिनअघि पनि उनी उपाधि जित्नमै व्यस्त थिए । ’राइट टु प्रोटिन’ हाफ म्याराथनको तेस्रो संस्करणमा उनी उपाधि रक्षा गर्न सफल भए ।
खेलाडीको काम नै हो पसिना चुहाउनु । महत्व बोके पनि कुर्सीमा आराम लिने कुरा खेलाडीको सन्दर्भमा क्षणिक हुन् । यो कुरा दीपकले राम्ररी बुझेका छन् । मिहिनेतको पसिना रुमालले पुछ्न मन छ दीपकलाई । उनी आफ्नो मिहिनेतलाई विश्व एथलेटिक्समा प्रतिनिधित्व गराउन चाहन्छन् । त्यसैले फुर्सदका दिनलाई पूर्णविराम लगाउँदै दीपक एउटा ठूलो प्रतियोगिताका लागि तयारी गर्दैछन् । भन्छन्, ‘ओलम्पिक तयारी गर्दै छु । पेरिस ओलम्पिकमा छनोट भएर देशका लागि खेल्ने चाहना छ ।’