फाल्गुन १२, २०८२ मंगलबार | ०४:३४:१६
फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो फागुन अन्तिम साता स्टार क्रिकेट आयोजना हुने संकटाविरुद्ध प्लानिङ ब्वाइजको सानदार जित साम्बाको समर्थनमा सहकर्मी रेखा पौडेलको भावुक स्ट्याटस: 'तपाईं थाक्न सक्नुहुन्छ, तर हार्नु हुँदैन ।' घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो
शनिबारको दिन राष्ट्रिय महिला भलिबल टिम

अरुणाको परिचय : स्वभाव शान्त, खेल आक्रामक

काठमाडौं । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्वभाव शान्त र धेरै नबोल्ने खालको छ । तर यो उनको कोर्टबाहिरको स्वभाव हो । जर्सी लगाएर कोर्टमा उत्रिएपछि शान्त स्वभावकी अरुणामा एकाएक ठूलो परिवर्तन आउँछ । सुशील स्वभावकी अरुणा कोर्टमा अत्यन्तै आक्रामक देखिन्छन् ।

नेपाली राष्ट्रिय टोलीमा लामो समयदेखि सेटरकी रूपमा योगदान गर्दै आएकी अरुणालाई सोध्यो भने आफैं भन्न सक्दिनन् । तर कोर्टमा प्रवेश गरेपछि व्यक्तित्वमै परिवर्तन आउने उनको स्वभाव भलिबलप्रतिको लगावका कारण हो भन्न अप्ठेरो मान्नु पर्दैन ।

दुई वर्षअघि बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप नेपाली महिला भलिबलको अहिलेसम्मकै स्मरणीय प्रतियोगिता हो । त्यही प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । अनि नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउने कप्तानको जस अरुणाले पाएकी थिइन् ।

लामो समयदेखि राष्ट्रिय टोलीको हिस्सा रहँदै आए पनि गण्डकी प्रदेशकी यी खेलाडीले त्यही प्रतियोगितामा पहिलो पटक कप्तानी जिम्मेवारी पाएकी थिइन् । म्याग्दीको राखु पिप्लेकी स्थायी बासिन्दा अरुणाको बाल्यकाल फुटबल, बास्केटबल र भलिबलमय थियो ।

रमाइलोका लागि साथीहरूको लहैलहैमा सबै खेल खेलिन् । तर, भलिबलप्रति उनको बेग्लै मोह जाग्यो । गाउँमा आफूभन्दा ठूली दिदीहरूलाई पछ्याउँदै भलिबलमा एकोहोरिन थालेकी अरुणा बाल्यकालका प्रेरणाहरूभन्दा अघि बढिन् । अर्थात उनका दिदीहरू स्थानीय स्तरबाटै बिदा भए । अरुणा चाहिँ महिला भलिबलको सबैभन्दा शीर्ष स्थानमा पुग्न सफल भइन् । राष्ट्रियस्तरमै चर्चा कमाइन् ।

स्थानीय मुक्तिधाम माविबाट भलिबल करियर सुरु गरेकी अरुणालाई राष्ट्रिय स्तरमा पुर्या‍उन तत्कालीन राजाको नाममा हुने स्कुलस्तरीय खेलकुद वीरेन्द्र सिल्डको ठूलो भूमिका छ । २०६२ सालमा स्कुलको टोलीबाट खेल्ने क्रममा गरेको उच्च प्रदर्शनका कारण अरुणा जिल्ला हुँदै पश्चिमाञ्चल विकास क्षेत्रको टोलीमा छानिइन् ।

त्यो समय नेपाली महिला भलिबलमा पश्चिमाञ्चलको दबदबा थियो । टोलीले वीरेन्द्र सिल्डको केन्द्रीय प्रतियोगितामा अपराजित रहेरै उपाधि उठायो । पश्चिमाञ्चलले उपाधि उचाल्दा त्यतिबेला ओपन स्पाइकरको भूमिकाबाट खेल्ने अरुणाले चाहिँ सर्वोत्कृष्ट खेलाडीको व्यक्तिगत पुरस्कार जितिन् ।

करियरको पहिलो प्रमुख प्रतियोगितामै सर्वोत्कृष्ट खेलाडी हुनु अरुणाका लागि ठूलो ऊर्जाको विषय थियो । सर्वोत्कृष्ट खेलाडी भएवापत पुरस्कारस्वरुप १५ सय रुपैयाँ थापेको उनले अहिलेसम्म बिर्सन सकेकी छैनन् । त्यसयता नेपाली भलिबलमा लामो यात्रा गरिसकेकी अरुणाले त्यही कारणले होला अहिलेसम्म पनि त्यो बेलाको ट्रफी जतनसाथ राखेकी छन् ।

अरुणाले त्यो ट्रफी र नगद पुरस्कार बिर्सन नसक्नुको अर्को कारण पनि छ । काठमाडौंबाट म्याग्दी फर्किनेबित्तिकै अरुणाले ट्रफी र पैसा आमाको हातमा राखिदिइन् । त्यसअघि पढाइमा ध्यान नदिएको भन्दै चिन्तित रहने आमाको मुहारमा त्यो दिन अरुणाले बेग्लै खुसी देखेकी थिइन् । छोरी सर्वोत्कृष्ट भएर पुरस्कृत भएको खबरले आमाको अनुहारमा बिरलै देखिने चमक आएको थियो ।

‘पहिलोपटक प्रतियोगिता खेल्न बाहिर गएको थिएँ । त्यसमै मैले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी र पैसा पाएकी थिएँ । खेलेर पनि पुरस्कार पाइँदोरहेछ भनेर आमा धेरै खुसी हुनुभएको थियो,’ अरुणाले त्यो क्षण सम्झिइन् ।

वीरेन्द्र सिल्ड खेलेर फर्किने बेलासम्म अरुणाले नेपाली महिला भलिबलमा आफ्नो नाम स्थापित गरिसकेकी थिइन् । प्रतियोगितामा उनले गरेको उच्च प्रदर्शनका कारण तत्कालीन समयमा भलिबलकै कारण चर्चित पोखरेली स्कुल ज्ञानुबाबाको नजरमा पर्न सफल भइन् । ज्ञानुबाबाकी प्रशिक्षक कौशिला खत्रीले अरुणालाई म्याग्दीबाट भलिबल खेल्नकै लागि पोखरा आउने प्रस्ताव राखिन् ।

भलिबलसँग गहिरो प्रेममा परिसकेकी अरुणाका लागि त्यो एउटा आकर्षक प्रस्ताव थियो । १५ वर्षको उमेरमा उनी कक्षा ८ अध्ययनरत थिइन् । ज्ञानुबाबामा अध्ययनका साथै व्यवस्थित रूपमा भलिबल पनि खेल्न पाउने आकर्षणले उनलाई पोखरा ल्याइपुर्या‍यो । महिला भलिबलमा बेग्लै परिचय बनाएको ज्ञानुबाबालाई अरुणाको उपस्थितिले थप उचाइ दियो । अरुणालाई पनि त्यसले भलिबलको मूलधारमा उभिने मौका जुराइदियो ।

अरुणाको करियर सुरु हुने समय नेपाली भलिबलका लागि अन्धकारको बेला थियो । झन्डै डेढ दशकसम्म नेपाल भलिबल संघ निद्रामा रहँदा महिलाका लागि व्यक्तिगत प्रयासमा मनवीर छन्त्यालले गर्ने ढोरपाटन महिला भलिबल प्रतियोगिता आकर्षणको केन्द्र थियो । जहाँ ज्ञानुबाबाबाटै अरुणाले पाँच संस्करणसम्म प्रतिस्पर्धा गरिन् । 

पोखरा लामाचौरमा हुने तीज भलिबल र ढोरपाटन महिला भलिबल त्यतिबेलाका मुख्य प्रतियोगिता थिए । अरुणाले ज्ञानुबाबाबाट दुवैतिर उपाधि जितिन् । ओपन स्पाइकरबाट अलराउन्डरको रूपमा परिचय फेरिसकेकी अरुणालाई तिथिमिति याद छैन, तर ढोरपाटनमा दुई पटक उत्कृष्ट खेलाडी घोषित हुँदै जितेका दुई स्कुटर भने उनले बिर्सेकी छैनन् ।

ज्ञानुबाबामा अरुणा पुग्नुअघि नै राष्ट्रिय टोलीका मञ्जु गुरुङ, एकिना गुरुङ र लक्ष्मी गुरुङहरू थिए । जसका कारण उनलाई पनि देशको प्रतिनिधित्व गर्ने इच्छा पलायो । ज्ञानुबाबा पुगेदेखि राष्ट्रिय टिममा परेर देशका लागि खेल्नका लागि अरुणाले देखेको सपना २०७१ सालमा पूरा भयो ।

नेपालमै भएको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताका लागि खुला छनोटबाट राष्ट्रिय टिममा स्थान सुरक्षित गर्न सफल अरुणाले माल्दिभ्ससँग खेल्दै नेपालको जर्सीमा ‘डेब्यु’ जनाइन् । प्रतियोगितामा नेपाल उपविजेता भएको थियो ।

‘खेल्न थालेको धेरै वर्षपछि राष्ट्रिय टिमबाट खेल्ने सपना पूरा भयो । वर्षौसम्म गरेको संघर्षको फल मिलेजस्तो लाग्यो । परिवारले त्यतिबेलासम्म राष्ट्रिय खेलाडी हुनुको अर्थ बुझेको थिएन, तर म चाहिँ त्यो बेला औधी खुसी थिएँ,’ त्यही प्रतियोगितामा श्रीलंकालाई पहिलो पटक हराउनुको खुसीसमेत थपिएको स्मरण गर्दै अरुणा भन्छिन्, ‘मेरो जिन्दगीको सबैभन्दा खुसीको क्षण त्यही हो ।’

एक पटक राष्ट्रिय टिममा परेपछि अरुणाले करियरमा पछाडि फर्किनुपरेको छैन । पछिल्लो समय न्यु डायमन्डको टिमबाट घरेलु भलिबल खेल्दै आएकी अरुणा त्यसयता लगातार राष्ट्रिय टिमको मुख्य खेलाडीका रूपमा रहँदै आएकी छन् ।

राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट अनुशासित र शान्त स्वभावकी अरुणालाई प्राविधिक रूपमा अब्बल खेलाडीको दर्जामा राख्छन् । उनी भन्छन्, ‘लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेकी अरुणा निकै अनुभवी र परिपक्व खेलाडी हो । उसको प्रतिभा, मिहिनेत र प्रतिबद्धता अरू खेलाडीका लागि उदाहरणीय छ ।’

नेपाली भलिबलको समग्र दुरावस्थाको सिकार हुनुबाहेक अरुणाको करियरमा निराशाभन्दा खुसीका क्षण धेरै छन् । घरेलु भलिबलमा पहिलो सहभागितामै उनले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाएकी थिइन् । अन्तर्राष्ट्रिय भलिबलमा डेब्यु गरेको प्रतियोगितामा श्रीलंकामाथि पहिलो जितको खुसी मनाएकी उनले कप्तानका रूपमा पहिलो प्रतियोगितामा देशलाई पहिलो उपाधि जिताइन् ।

दुई वर्षअघि नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) समर्थकका लागि सुखद रहे पनि अरुणाको करियरमा एउटा खेलाडी र कप्तानका रूपमा सधैं खड्किरहने मोड बन्यो । पहिलो पटक सागमा उपविजेता हुनुको खुसी एकातिर थियो । तर त्यसमा खुसी मनाउन उनको खेलाडी मन कहिल्यै तयार भएन । कारण थियो, फाइनलमा भारतविरुद्ध जितिसकेको खेलमा निराश हुँदै उपाधिबाट विमुख हुनु ।

‘त्यो हाम्रा लागि निकै खराब समय रह्यो । हातमा आइसकेको स्वर्ण पदक गुम्यो । हामीले भारतजस्तो विपक्षीमाथि पहिलो दुई सेट जितेका थियौं । तेस्रो सेटमा पनि हाम्रो अवस्था राम्रो थियो, तर पाँच सेटसम्म चलेको खेल हामीले जित्न सकेनौं । पहिलो पटक सागको स्वर्ण जित्ने अवसरबाट विमुख भयौं । सायद मेरो करियरको सबैभन्दा खराब समय त्यही हो,’ उनी भन्छिन्, ‘त्यो हारबाट पनि हामीले धेरै कुरा सिक्यौं । तर धेरै दुःख लागेको थियो ।

मिहिनेत र लगावकै कारण एउटा खेलाडी पुग्न सक्ने सबैभन्दा माथिल्लो स्थान (राष्ट्रिय टोलीको कप्तान) हासिल गरिसकेकी अरुणामा अब धेरै समय राष्ट्रिय टिमबाट खेल्ने आस छैन । उमेरले २७ पुगेकी उनी थुप्रै नयाँ प्रतिभा आएका कारण राष्ट्रिय टिममा प्रतिस्पर्धा चर्को हुँदै गएको बताउँछिन् ।

पोखराको गण्डकी युनिभर्सिटीमा ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट (बिएसएम) मा अध्ययनरत अरुणा हाल नेपालमा खेलाडीलाई आवश्यक सुविधा नभए पनि आउँदो दिनमा सुधार हुने अपेक्षा राख्छिन् ।

‘नेपालको राष्ट्रिय खेल भलिबल भएर पनि जति सुविधा हुनुपर्ने हो त्यो छैन । तैपनि मलाई भलिबल खेलेकामा कुनै गुनासो छैन । बरू यो खेलले त मलाई एउटा पहिचान र सम्मान दिएको छ,’ उनले सुनाइन्, ‘अब राष्ट्रिय टिममा पनि धेरै वर्ष खेल्न गाह्रो छ । राम्रा/राम्रा नयाँ बहिनीहरू आएका छन् । अर्को वर्ष चीनमा हुने एसियाली प्रतियोगिता खेल्ने एउटा इच्छा छ । त्यसपछि राष्ट्रिय टिमबाट खेल्ने विषयमा निर्णय लिन्छु ।’