टोली किन स्वभाविक प्रदर्शनबाट चुक्यो, थाहा छैनः टचेल

लन्डन, (खेलाडी)-  युभेन्टसलाई नतिजा सुम्पिएपछि चेल्सीका प्रशिक्षक थोमस टचेलले आफूलाई टोली किन स्वभाविक प्रदर्शनबाट चुक्यो भन्ने थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिगमा बुधबार समूह 'एच 'मा चेल्सी युभेन्टससँग १-० ले पराजित भयो ।

४६औं मिनेटमा फेडरिको केइसाले गरेको गोल युभेन्टसलाई स्पष्ट तीन अंक जोड्न पर्याप्त बन्यो ।

चेल्सीले पछिल्लो पाँच दिनमा बेहोरेको यो लगातार दोस्रो हार हो । यसअघि गत शनिबार इङलिस प्रिमियर लिगमा चेल्सीले म्यानचेस्टर सिटीलाई १-० को नतिजा सुम्पिएको थियो । 

'सम्भवत आज हामी मानसिक रुपमा थकित देखियौं, गतिलो रणनीति बुन्न सकेनौं । त्यसैले म टोलीले स्वभाविक प्रदर्शन नगर्नुको मुख्य कारण यहीँ हो भनेर भन्न सक्दिन',टचेलले भने, 'प्रशिक्षणमा हामी राम्रो थियौं । तर त्यही अनुरुपको प्रदर्शन भने भएन । हामीले खुलेर खेल्न सकेनौं ।'

समूह 'एच 'मा युभेन्टस दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ भने चेल्सी समान खेलमा तीन अंकका साथ दोस्रो स्थानमा छ । 

समूह 'एच 'अन्तर्गत बुधबार भएको अर्को खेलमा जेनिट सेन्ट पिट्सबर्गले माल्मो एफफलाई ४ -० ले हरायो ।

यता समूह 'जी' मा एफसी साल्जबर्गले लिलेलाई २-१ ले पराजित गर्दा सेभिया उल्फसबर्गसँग १-१ को बराबरीमा रोकियो ।