खेल सुधार्न राडुकानु उत्सुक

न्युयोर्क, (खेलाडी)- युएस ओपनकी विजेता इमा राडुकानुले आफ्नो खेललाई सुधार गर्न उत्सुक भएको बताएकी छिन् । 

गत महिना युएस ओपनको फाइनलमा राडुकानुले क्यानाडाकी लेला फर्नान्डेजलाई सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी थिइन् । 

राडुकानु छनोट खेलाडीका रुपमा सहभागिता जनाएर ग्रान्ड स्लामको उपाधि जित्ने ४४ वर्षमा पहिलो बेलायती महिला खेलाडी बनेकी थिइन् । 

भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनै पनि महिला खेलाडीले ग्रान्ड स्लाम जित्न सकेका थिएनन् । 

उनले सोमबार युएस टक शोमा अभ्यासमा फर्किन उत्सुक भएको बताएकी थिइन् । 

‘आरामको लागि केही दिन बसेको थिएँ । तर अब अभ्यासमा फर्किनको लागि उत्सुक र त्योभन्दा अझ् राम्रो गर्न भोकाएकी छु,’ उनले थपिन्, ‘साथै अझ् बढी प्रतियोगिता खेल्न तयार छु ।’