त्यागीले अन्तिम ओभरमा दुई विकेट लिएपछि राजस्थानको रोमाञ्चक जित

दुबई, (खेलाडी)- म्यान अफ दी म्याच कार्तिक त्यागीले अन्तिम ओभरमा दुई विकेट लिएपछि राजस्थान रोयल्सले इन्डियन प्रिमयर लिग (आइपिएल)को खेलमा मंगलबार राति दुबईमा पञ्जाब किंग्समाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको छ ।

चार ओभर बलिङ गरेका त्यागीले अन्तिम ओभरमा एक रनमात्र खर्चेर दुई विकेट लिएपछि राजस्थान हारको मुखबाट पनि जित निकाल्न सफल भयो । 

एक सय ८६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबलाई अन्तिम ओभरमा जितका लागि चार रन आवश्यक थियो । क्रिजमा मज्जासँग जमेका दुई ब्याट्सम्यान एडेन मार्कराम र निकोलस पुरन थिए । 

तर त्यागीले अन्तिम ओभरको पहिलो बलमा कुनै रन दिएनन् । दोस्रो बलमा मार्करामले एक रन लिए । तेस्रो बलमा निकोलस पुरनलाई विकेटकिपर सन्जु सामसनको हातबाट क्याच गराएका त्यागीले चौथो बल पनि डट फाले । पाँचौं बलमा दीपक होडालाई सामसनकै हातबाट क्याच गराएपछि अन्तिम बल डट फालेर त्यागी राजस्थानका लागि नायक बने ।

कप्तान केएल राहुल र मायंक अग्रवालले पञ्जाबलाई सकारात्मक सुरुआत दिलाउने क्रममा पहिलो विकेटका लागि एक सय २० रनको साझेदारी गरेका थिए । टोलीका लागि सर्बाधिक ६७ रन बनाएका मायंकले ४३ बलमा सात चौका र दुई छक्का प्रहार गरे भने कप्तान राहुलले ३३ बलमा चार चौका र दुई छक्का हाने । 

निकोलस पुरनले अन्तिम ओभरमा आउट हुनुअघि २२ बलमा एक चौका र दुई छक्कासहित ३२ तथा मार्करामले २० बलमा अविजित २६ रनको योगदान गर्दै पञ्जाबलाई जितको नजिक पुर्याएका थिए । मार्करामले दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

राजस्थानका लागि त्यागीले दुई विकेट लिँदा चेतन साकारिया र लाहुल तेवातियाले एक/एक विकेट लिए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको पञ्जाबका लागि अश्रदिप सिंहले पाँच तथा मोहम्मद सामीले तीन विकेट लिएपछि राजस्थानको इनिङ पूरा २० ओभरमा एक् सय ८५ रनमा सीमित भएको थियो । 

अश्रदीपले चार ओभरमा ३२ रन खर्चेका थिए भने सामीले चार ओभरमा २१ रन खर्चेका थिए । यसैगरी इशान पोरेल र हरप्रित ब्रारले एक/एक विकेट लिए ।

इभिन लेविस र यशस्वी जैसवालले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेपछि राजस्थानले दमदार सुरुआत गरेको थियो । लेविसले २१ बलमा सात चौका र एक छक्कासहित ३६ रनको योगदान गर्दा जैसवालले राजस्थानको इनिङमा सर्वाधिक ४९ रन जोडे । जैसवालले ३६ बलमा ६ चौका र दुई चौका प्रहार गरेका थिए ।

लोमरोरले आक्रामक ब्याटिङ गर्दै १७ बलमा दुई चौका र चार छक्कासहित ४३ रन बनाउँदा लियाम लिभिङस्टोनले २५ रन बनाए । १७ बल खेलेका लिभिङस्टोनले दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

राजस्थानको इनिङमा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । 

जितपछि राजस्थान रोयल्स आठ खेलमा आठ अंक जोड्दै आइपिएल अंकतालिकाको पाँचौं स्थानमा उक्लिँदा नौं खेलमा ६ अंकमा सीमित पञ्जाब सातौं स्थानमा छ ।