नेपालले साफ च्याम्पियनसिपमा गोर्खा स्पिरिटमा खेल्यो : खेलकुद मन्त्री

काठमाडौं, (खेलाडी)- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिपमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । 

राष्ट्रिय टोलीले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि नजिते पनि आफू निराश नभएको बताए । 

‘म राष्ट्रिय फुटबल खेलाडीहरुको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री गहतराजले भने, ‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्छ ।’ 

फाइनलअघि प्रशिक्षक तथा टिम व्यवस्थापकसँग आफूले फोनमा कुरा गरेर गोर्खा स्पिरिट सम्झेर खेल्न प्रेरित गरेको र त्यहीअनुरुप टिमले मालेमा प्रदर्शन गरेको मन्त्री गहतराजको भनाई थियो । उनले नेपालको प्रदर्शनको समिक्षा हुने र खेल स्तर सुधार्न आवस्यक कदम चालिने बताए ।

युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताउँदै मन्त्री गहतराजले आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको दाबी गरे । 

‘म काममा विश्वास गर्ने व्यक्ति हुँ । गफ र भाषणमा मलाई विश्वास छैन । देशभित्र चरम निराशा पैदा भएको छ । खेलकुदको माध्यमबाट हामीले आशा जगाउनुपर्नेछ,’ उनले भने ।